ईसाई धर्म
पछाडि

यशैया 34

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे जाति-जातिका मानिसहरू हो, नजिक आएर सुन; हे मानिसहरू हो, ध्यान देओ! पृथ्वी र यसमा भएका सबैले, संसार र यसबाट निस्किआउने सबैले सुनून्!

2याहवेह सबै जातिहरूसित रिसाउनुभएको छ; उहाँको क्रोध तिनीहरूका सबै सेनाहरूमाथि छ। उहाँले तिनीहरूलाई सम्पूर्ण रूपले नाश गर्नुहुनेछ; उहाँले तिनीहरूलाई मारिनलाई दिनुहुनेछ।

3तिनीहरूका मारिएकाहरू फालिनेछन्, र तिनीहरूका मृत शरीरहरूले दुर्गन्ध फैलाउनेछन्; पहाडहरू तिनीहरूका रगतले भिज्नेछन्।

4आकाशका सबै ताराहरू विलीन हुनेछन्, र आकाशचाहिँ चर्मपत्रझैँ बेरिनेछ; सम्पूर्ण तारामण्डल अङ्‌गुरको बोटबाट ओइलिएका पातहरू झरेजस्तै, र नेभाराको बोटबाट चाउरी परेका नेभाराहरूझैँ खस्‍नेछन्।

5मेरो तरवार आकाशमण्डलमा पिएर तृप्‍त भएको छ; हेर, न्यायका लागि एदोममाथि त्यसले प्रहार गर्नेछ; त्यस जातिमाथि, जसलाई मैले नाशका निम्ति अलग गरेको छु।

6याहवेहको तरवार रगतमा चोपिएको छ; त्यो बोसोले पुष्‍ट भएको छ— थुमा र बाख्राहरूका रगत, भेडाहरूका मिर्गौलाको बोसोले लतपतिएको छ। किनकि बोज्रामा याहवेहको एउटा बलिदान छ; अनि एदोममा ठूलो संहार भएको छ।

7तिनीहरूसित जङ्गली साँढेहरू, बाछाहरू र ठूला साँढेहरू लड्नेछन्। तिनीहरूको देश रगतले निथ्रुक्‍क भिज्नेछ; अनि धुलो बोसोसित मिसिनेछ।

8किनकि याहवेहको बदला लिने एउटा दिन छ, सियोनको मुद्दा अटल राख्नलाई दण्ड दिने वर्ष छ।

9एदोमका खोलाहरू अलकत्रामा परिवर्तन हुनेछन्; त्यसका धुलो बल्दैगरेको गन्धकमा परिवर्तन हुनेछ; त्यसको देश बल्दैगरेको अलकत्रा हुनेछ!

10त्यो रात वा दिन, कहिल्यै निभ्नेछैन; त्यसको धुवाँ निरन्तर उँभो उठिरहनेछ। पुस्ता-पुस्तासम्म त्यो उजाड भएर रहनेछ; त्यसबाट भएर फेरि कोही जानेछैन।

11त्यसलाई मरुभूमिको उल्‍लु र दुम्सीले अधिकार गर्नेछन्; ठूलो उल्‍लु र कागहरूले त्यसमा गुँड बनाउनेछन्। परमेश्‍वरले एदोममाथि गोलमालको नापडोरी र उजाडको साहुल तेर्साइदिनुहुनेछ।

12त्यसका कुलीन मानिसहरूका निम्ति राज्य भन्‍न लायक त्यहाँ केही पनि हुनेछैन; त्यसका सबै राजकुमारहरू बेपत्ता हुनेछन्।

13त्यसका किल्‍लाका बुर्जाहरूमा काँडा, र त्यसका किल्‍लाहरूमा सिस्‍नु र सिउँडीहरू उम्रनेछन्। त्यो स्यालहरू र उल्‍लुहरूका वासस्थान हुनेछ।

14मरुभूमिका जन्तुहरू हुँडारहरूसित भेट गर्नेछन्; अनि जङ्गली बाख्राहरू आपसमा म्याँ-म्याँ गर्नेछन्; त्यहाँ रातका पशुहरू पनि ढल्किनेछन्; अनि आफ्नै निम्ति विश्रामस्थल भेट्टाउनेछन्।

15उल्‍लुले त्यहाँ गुँड बनाएर अण्डा पार्नेछे, त्यसले बचेरा काढेर त्यसलाई आफ्ना पखेटाको छहारीमा हुर्काउँछे; त्यहाँ बाजहरू पनि आ-आफ्ना जोडीसित भेट गर्नेछन्।

16याहवेहको चर्मपत्रमा हेर र पढ: तीमध्ये एउटै पनि हराउनेछैन, कसैलाई आफ्नो जोडीको अभाव हुनेछैन। किनकि यो हुकुम उहाँको मुखले दिएको हो; अनि उहाँका आत्माले ती एकसाथ बटुल्नुहुनेछ।

17उहाँले तिनीहरूका भाग छुट्ट्याइदिनुहुनेछ; उहाँको हातले नाप्‍ने डोरी तानेर बाँडिदिनुभएको छ। तिनीहरूले त्यसलाई सदाको निम्ति आफ्नो बनाउनेछन् र पुस्तादेखि पुस्तासम्मै त्यहाँ बस्‍नेछन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath