यशैया 30
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1“धिक्कार! ती हठी सन्तानलाई,” याहवेह घोषणा गर्नुहुन्छ, “जसले योजनाहरू चलाउँछन्, जुन मेरा होइनन्; जसले मित्रता गाँस्छन्, तर मेरो आत्माद्वारा होइन; पापमाथि पाप थुपार्छन्;
2मसित सल्लाह नलिएर, जो इजिप्टमा जान्छन्; जसले फारोदेखि सुरक्षाको आशा गर्छन्; शरणका निम्ति इजिप्टको छहारी खोज्छन्।
3तर फारोको सुरक्षा तिमीहरूका निम्ति लज्जास्पद हुनेछ; इजिप्टको छहारीले तिमीहरूमा अपमान ल्याउनेछ।
4तिनीहरूसित सोअनमा अधिकृतहरू भए तापनि र तिनीहरूका दूतहरू हानेसमा आइपुगे तापनि
5तिनीहरूका निम्ति काम नलाग्ने जातिहरूको कारण, जसले, न त सहायता ल्याउँछन्, न त लाभ नै दिन्छन्; तर खाली शर्म र अपमान मात्र ल्याउँछन्; तिनीहरूको कारण हरेक शर्ममा पर्नेछन्।”
6दक्षिणी भागका जन्तुहरूको विरुद्ध भविष्यवाणी: दुःख र वेदनाको देशबाट भएर, जहाँबाट सिंह र सिंहनी, विषालु सर्प र उड्ने सर्पहरू निस्कन्छन्; राजदूतहरूले आफ्ना धनसम्पत्ति गधाहरूका पिठिउँमा र आफ्ना बहुमूल्य भण्डारहरू ऊँटहरूका जुरोमा लदाएर त्यस जातिकहाँ लैजान्छन्, जसले तिनीहरूलाई केही लाभ दिँदैनन्।
7किनभने इजिप्टमा जसको सहायता एकदमै व्यर्थको छ, यसकारण मैले त्यसलाई केही नगर्ने राहाब भनेको छु।
8अब जा, आउँदा दिनहरूका निम्ति यो सधैँ साक्षी होस् भनेर, तिनीहरूको सामु यो एउटा पाटीमा लेख; यसलाई एउटा किताबमा लेखिराख।
9यिनीहरू बागी मानिसहरू हुन्, छली सन्तान, याहवेहको आज्ञा नसुन्ने सन्तान हुन्।
10यिनीहरू दर्शीहरूलाई भन्छन्, “अब उसो दर्शन नदेख!” अनि अगमवक्ताहरूलाई भन्छन्, “अबदेखि ठिक कुराहरूको दर्शन हामीलाई नदेओ! हामीलाई चाखलाग्दा कुराहरू भनिदेओ, छलका अगमवाणी भनिदेओ।
11यस मार्गलाई त्यागिदेओ, यस मार्गबाट हटिदेओ; अनि हामीलाई इस्राएलका पवित्र परमेश्वरसित आमने-सामने गराउन छोडिदेओ!”
12यसकारण इस्राएलका पवित्र परमेश्वर भन्नुहुन्छ: “तिमीहरूले यस समाचारलाई इन्कार गरेका हुनाले, र अत्याचारमा भरोसा गरेका हुनाले, र छलमा भर परेका हुनाले,
13यो पाप तिमीहरूका निम्ति अग्लो पर्खाल चर्किएर ढल्न लागेजस्तै हुनेछ, जुन अचानक एकै क्षणमा भत्किएर जानेछ।
14यो माटाका भाँडाझैँ टुक्रा-टुक्रा भएर जताततै छरपस्ट हुनेछ, जसले गर्दा चुलोबाट कोइला झिक्नलाई, अथवा इनारबाट पानी उघाउनलाई एउटा सानो टुक्राधरि पाइनेछैन।”
15प्रभु याहवेह, इस्राएलका पवित्र परमेश्वर यही भन्नुहुन्छ: “पश्चात्ताप र विश्राममा तिमीहरूको मुक्ति छ। मौनता र भरोसामा तिमीहरूको सामर्थ्य छ, तर तिमीहरूले यी कुनै पनि कुरा चाहँदैनौ।
16तिमीहरूले भन्यौ, ‘होइन, हामी घोडामा चढेर भाग्नेछौँ।’ यसकारण तिमीहरू भाग्नेछौ! तिमीहरूले भन्यौ, ‘हामी चाँडो दगुर्ने घोडामा सवार हुनेछौँ।’ यसकारण तिमीहरूलाई खेद्नेहरू फूर्तिला हुनेछन्!
17एक जनाले धम्काउँदा एक हजार भाग्नेछन्; पाँच जनाले धम्काउँदा तिमीहरू सबै भागेर जानेछौ; जबसम्म तिमीहरू पर्वतको टाकुरामा रहेको झण्डाको डण्डाजस्तै, डाँडामा भएको एउटा झण्डाझैँ रहँदैनौ।”
18तरै पनि याहवेह तिमीहरूप्रति अनुग्रहकारी हुने इच्छा राख्नुहुन्छ; उहाँ तिमीहरूलाई दया देखाउन खडा हुनुहुनेछ। किनकि याहवेह न्यायको परमेश्वर हुनुहुन्छ। उहाँको बाटो हेर्नेहरू सबै धन्यका हुन्!
19हे यरूशलेममा बस्ने सियोनका मानिसहरू हो, तिमीहरू फेरि रुनेछैनौ। तिमीहरू सहायताको लागि रुँदा उहाँ अति अनुग्रहकारी हुनुहुनेछ! उहाँले सुन्नेबित्तिकै तिमीहरूलाई जवाफ दिनुहुनेछ।
20प्रभुले तिमीहरूलाई विपत्तिको रोटी र कष्टको पानी दिनुभए तापनि तिमीहरूका शिक्षकहरू फेरि लुकाइनेछैनन्; तिमीहरूका आफ्नै आँखाले तिनीहरूलाई देख्नेछौ।
21तिमीहरू दाहिने अथवा देब्रेतिर फर्के तापनि तिमीहरूका कानले आफ्ना पछिल्तिरबाट, “बाटो यही हो, यसमा हिँड” भन्ने सोर सुन्नेछन्।
22तब आफूले चाँदीले मोहोरेका मूर्तिहरू र सुनले ढालेका प्रतिमाहरूलाई तिमीहरूले अपवित्र तुल्याउनेछौ। तिमीहरूले त्यसलाई रजस्वलाको लुगाझैँ फ्याँकेर त्यसलाई, “पर जा!” भन्नेछौ।
23तिमीहरूले जमिनमा छरेका बिउ उमार्नका निम्ति उहाँले वर्षा पनि पठाइदिनुहुनेछ; अनि जमिनबाट आएको भोजन उत्तम र प्रशस्त हुनेछ। त्यस दिन तिमीहरूका गाईबस्तु ठूला मैदानहरूमा चर्नेछन्।
24खेतमा जोत्ने गोरुहरू र गधाहरूले काँटा र बेल्चाले मिसाएको घाँस र दाना खानेछन्।
25त्यस भयानक संहारको दिनमा धरहराहरू ढल्दा प्रत्येक अग्लो पर्वत र हरेक ठूलो डाँडामा पानीका खोलाहरू बग्नेछन्।
26याहवेहले आफ्ना मानिसहरूका घाउहरूमा पट्टी बाँध्नुहुँदा र उहाँले दिनुभएका चोटहरू निको पार्नुहुँदा, त्यस दिन चन्द्रमा सूर्यजस्तै लाग्नेछ; अनि सूर्य सधैँभन्दा सात गुणा बढी चम्किलो, सात दिनको उज्यालो एकै दिनमा चम्केजस्तो हुनेछ।
27हेर, याहवेहको नाम टाढाबाट बल्दो रिस र धुवाँको बाक्लो बादलसित आउँछ; उहाँका ओठहरू क्रोधले पूर्ण छन्; उहाँको जिब्रो भस्म पार्ने आगोजस्तो छ।
28उहाँको सास गर्दनसम्म उठ्ने मुसलधारे पानीजस्तो छ। उहाँले राष्ट्रहरूलाई नाश गर्ने नाङ्लोले निफन्नुहुन्छ; र उहाँले मानिसहरूका बङ्गारामा फलामको लगाम लगाइदिनुहुनेछ, जसले तिनीहरूलाई दिशाहीन बनाइदिनेछ।
29तिमीहरूले पवित्र चाड मनाएको रातमा झैँ गीत गाउनेछौ; मानिसहरू बाँसुरी लिएर याहवेहको पर्वतमा, इस्राएलका चट्टानकहाँ जाँदा, तिमीहरूका हृदय आनन्दित हुनेछ।
30रिसको झोँक, भस्म गर्ने आगोको ज्वाला, गड्याङ-गुडुङ, आँधीबेहरी र असिनासहित याहवेहले मानिसहरूलाई आफ्नो प्रतापको वाणी सुन्न र आफ्नो बाहुबलको शक्ति हेर्न लगाउनुहुनेछ।
31याहवेहको सोरले अश्शूरलाई चकनाचुर पार्नेछ; आफ्नो राजदण्डले उहाँले तिनीहरूलाई प्रहार गर्नुहुनेछ।
32याहवेहले आफ्नो पाखुराले तिनीहरूको विरुद्धमा युद्धमा लड्नुहुँदा, उहाँले आफ्नो दण्डको लहुरोले प्रत्येक चोटि तिनीहरूलाई सजायको रूपमा प्रहार गर्नुहुँदा, चोट खैँजडी र वीणाको सङ्गीतको तालमा हुनेछ।
33तोपेत तयार भइसकेको छ; राजाका निम्ति त्यो तयार पारिएको छ। त्यसको अग्निकुण्ड प्रशस्त आगो र दाउरासित; गहिरो र चौडा तयार पारिएको छ; बल्दैगरेको गन्धकको खोलाझैँ याहवेहको सासले त्यसलाई दन्काइदिनेछ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath