यशैया 28
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1एफ्राइमका मतवालाहरूको घमण्डका शिरको मुकुटलाई, र त्यसको महिमित शोभाको ओइलाउने फूललाई धिक्कार, जो मलिलो उपत्यकाको सिरानमा राखिएको छ; त्यो सहर, जसको घमण्डलाई दाखमद्यले होच्याइएको छ!
2हेर, प्रभुको एक जना शक्तिशाली र बलवान् जन छन्। तिनले असिना र नाश गर्ने हुरीजस्तै, मुसलधार वर्षाको उर्लंदो पानीको बाढीजस्तै, त्यसलाई जबरजस्ती भुइँमा फाल्नेछन्।
3एफ्राइमका मतवालाहरूको घमण्डका शिरको मुकुट, खुट्टामुनि कुल्चीमिल्ची पारिनेछ।
4त्यो ओइलाउँदै गरेको फूल, मलिलो बेँसीको शिरमाथि लगाएको त्यसको महिमा, कटनीको अगि नै पाकेको नेभाराझैँ हुनेछ; मानिसहरूले यसलाई देख्नेबित्तिकै हातमा लिन्छन्, र तिनीहरूले यसलाई निलिहाल्छन्।
5त्यस दिन सेनाहरूका याहवेह एउटा महिमित मुकुट, र आफ्ना बाँकी रहेका मानिसहरूका निम्ति एउटा सुन्दर माला बन्नुहुनेछ।
6न्याय गर्न बस्नेका निम्ति उहाँ न्यायको आत्मा, र लडाइँ मूलढोकातिर नै फर्काइदिनेहरूका निम्ति उहाँ सामर्थका स्रोत हुनुहुनेछ।
7तिनीहरू पनि मद्यले लरबरिन्छन्, र मदिरा पिएर भड्किएका छन्: पुजारी र अगमवक्ताहरू मताउने पेय पदार्थ पिएर धरमरिन्छन्, र मद्यले उन्मत्त हुन्छन्; तिनीहरू मद्यले धरमराएका छन्, दर्शन देख्दा तिनीहरू धरमरिएका छन्; तिनीहरू निर्णय दिँदा भड्किन्छन्।
8सबै टेबुलहरू बान्ताले भरिएका छन्; अनि फोहोर नभएको ठाउँ एउटै पनि छैन।
9“त्यसले कसलाई सिकाउन चाहेको छ? आफ्नो सन्देश कसलाई बयान गरिरहेको छ? भर्खर दूध छोडेका बच्चाहरू, भर्खर स्तनबाट अलग गरिएकाहरूलाई?
10किनकि त्यो यस्तो हो: यो गर, त्यो गर; यसमाथि नियम, त्यसमाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ।”
11त्यसो हो भने परमेश्वरले यस जातिसित परदेशीका ओठ र अनौठो भाषाद्वारा बोल्नुहुनेछ;
12जसलाई उहाँले भन्नुभयो, “विश्रामस्थल यही हो; थाकेकाहरूले यहीँ नै विश्राम गरून्;” अनि “थकाइ मार्ने स्थान यही हो,” तर तिनीहरूले सुन्न इन्कार गरे।
13यसकारण याहवेहको वचन तिनीहरूलाई यस्तो हुनेछ: यो गर, त्यो गर, यसमाथि नियम, त्यसमाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ, यसरी तिनीहरू अगि बढ्दा पछिल्तिर लोटून्; घाइते होऊन् र पासोमा परेर पक्राउ परून्।
14यसकारण हे गिल्ला गर्नेहरू हो, याहवेहको वचन सुन, जसले यी मानिसहरूमाथि यरूशलेममा शासन गर्छौ।
15तिमीहरू घमण्ड गर्छौ, “हामीले मृत्युसित करार बाँधेका छौँ; चिहानसित हामीले सम्झौता गरेका छौँ। कुनै भयानक विपत्ति छेउमा आइपर्दा, त्यसले हामीलाई छुन सक्दैन; किनकि हामीले झूटलाई आफ्नो शरणस्थान र असत्यलाई आफ्नो लुक्ने स्थान बनाएका छौँ।”
16यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: “हेर, मैले सियोनमा एउटा ढुङ्गा बसालेको छु, एउटा जाँचिएको ढुङ्गा, एउटा दृढ जगको बहुमूल्य कुनेढुङ्गा, त्यसमा भरोसा गर्ने कहिल्यै निराश हुनेछैन।
17म न्यायलाई नाप्ने डोरी, र धार्मिकतालाई साहुल बनाउनेछु; तिमीहरूको झूटको शरणस्थान असिनाले सोहोरेर लानेछ; अनि पानीले तिमीहरूको लुक्ने ठाउँलाई बगाइदिनेछ।
18मृत्युसितको तिमीहरूको करार नष्ट पारिनेछ; चिहानसितको तिमीहरूको सम्झौता स्थिर रहनेछैन। जब विपत्तिको बाढी यताबाट जानेछ, त्यसले तिमीहरूलाई डुबाउनेछ।
19जतिपल्ट त्यो आउँछ, त्यसले तिमीहरूलाई बगाएर लैजानेछ; हरेक बिहान, दिन र रातमा त्यो बगिरहनेछ।” यस सन्देशको बुझाइले आतङ्क मात्र ल्याउनेछ।
20लम्पसार पर्नलाई पलङ साह्रै छोटो छ, र तिमीहरूलाई ढाक्न कम्बल साह्रै सानो छ।
21पराजीम पर्वतमा उठ्नुभएझैँ याहवेह उठ्नुहुनेछ, गिबोनको बेँसीमा उहाँ जाग्नुभएझैँ जाग्नुहुनेछ— आफ्नो काम, आफ्नो अनौठो काम गर्न र आफ्नो कार्य, आफ्नो अद्भुत कार्य पूरा गर्न।
22अब तिमीहरूको ठट्टा रोक, नत्रता तिमीहरूका साङ्लाहरू अझ गह्रौँ हुनेछन्; प्रभु, सेनाहरूका याहवेहले मलाई सारा देशको विरुद्ध उर्दी जारी गर्नुभएको छ।
23ध्यान दिएर सुन, र मेरो सोर सुन; ध्यान देऊ, र म के भन्छु, सो सुन।
24जब किसानले केही रोप्न जमिन जोत्छ, के उसले निरन्तर जोतिरहन्छ? के त्यसले निरन्तर माटो खनेर डल्लाहरू फुटाउँदै रहन्छ?
25उसले माटो सम्म पारेपछि के उसले सुँप र जीरा छर्दैन र? के उसले त्यसकै ठाउँमा गहुँ, जौ त्यसकै ठाउँमा र कठियालाई त्यसकै ठाउँमा छर्दैन र?
26उसका परमेश्वरले उसलाई अह्राउनुहुन्छ; अनि उसलाई ठिक तरिका सिकाउनुहुन्छ।
27किनकि कुनै तीखो हतियारले सुँप झाँटिदैन, न त जीरालाई गाडाको चक्काले दाइँ गरिन्छ; तर लहुरोले सुँप चुटिन्छ, र जीराचाहिँ लठ्ठीले चुटिन्छ।
28रोटी बनाउने अन्न पिसिनुपर्छ; यसकारण कसैले त्यसलाई सधैँ झाँटिरहँदैन। न त उसले त्यसमाथि गाडाको चक्का गुडाएर उसका घोडाहरूले त्यसलाई पिँध्छ।
29यी सबै सेनाहरूका याहवेहबाट नै आउँदछ, जसको योजना अचम्मका र बुद्धि महान् छ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath