ईसाई धर्म
पछाडि

यशैया 26

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1त्यस दिन यहूदा देशमा यो गीत गाइनेछ: हाम्रो एउटा बलियो सहर छ; परमप्रभुले हाम्रो सुरक्षाको लागि त्यसको भित्री र बाहिरी पर्खालहरू बनाउनुभएको छ।

2मूलढोकाहरू खोल, र धार्मिक जाति, विश्‍वास राख्ने जाति भित्र पसोस्।

3जसको मन तपाईंमा अडिएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ; किनकि त्यसले तपाईंमाथि भरोसा राख्छ।

4सदासर्वदा याहवेहमा भरोसा राख; किनकि याहवेह, याहवेह नै अनन्तका चट्टान हुनुहुन्छ।

5उहाँले उच्‍चमा बस्‍नेहरूलाई नम्र तुल्याउनुहुन्छ, उहाँले विशाल सहरलाई तल खसाल्नुहुन्छ; उहाँले त्यसलाई जमिनमा मिलाइदिनुहुन्छ, र धुलोमा फालिदिनुहुन्छ।

6खुट्टाले त्यसलाई कुल्चिन्छ, थिचोमिचोमा परेकाहरूका खुट्टाले र गरिबका पाइलाले कुल्चीमिल्ची पार्नेछन्।

7धर्मी जनको मार्ग समतल हुन्छ; हे धर्मी प्रभु, तपाईंले नै धर्मी जनको मार्ग समतल तुल्याउनुहुन्छ।

8हो, हे याहवेह, तपाईंका व्यवस्थाको मार्गमा हिँड्दै, हामी तपाईंको प्रतीक्षा गर्छौँ; तपाईंको नाम र ख्याति नै हाम्रा हृदयका इच्छा हुन्।

9राति मेरो प्राणले तपाईंको चाहना गर्दछ; बिहान मेरो आत्माले तपाईंको चाहना गर्छ। तपाईंका न्याय पृथ्वीमा आउँदा, संसारका मानिसहरूले धार्मिकता सिक्छन्।

10दुष्‍टहरूलाई अनुग्रह देखाइए तापनि तिनीहरूले धार्मिकता सिक्दैनन्। सोझाहरूको देशमा पनि तिनीहरू दुष्‍टता गरिनै रहन्छन्, र याहवेहको महानताको कदर गर्दैनन्।

11हे याहवेह, तपाईंको हात माथि उचालिएको छ, तर तिनीहरूले त्यो देख्दैनन्। तिनीहरूले तपाईंका मानिसहरूप्रति तपाईंको जोश देखून्, र शर्ममा परून्; तपाईंका शत्रुहरूका निम्ति साँचिएको आगोले तिनीहरूलाई भस्म पारोस्।

12याहवेह, तपाईंले हाम्रा निम्ति शान्ति स्थापित गर्नुहुन्छ; हामीले पाएका सबै उपलब्धीहरू, ती सबै तपाईंले हाम्रै निम्ति गर्नुभएको हो।

13हे याहवेह, हाम्रा परमेश्‍वर, तपाईंबाहेक अरू प्रभुहरूले हामीमाथि शासन गरे, तर तपाईंको नामलाई मात्र हामी आदर गर्छौँ।

14तिनीहरू अब मरेर गएका छन्, तिनीहरू फेरि बाँच्नेछैनन्; ती गइसकेका आत्माहरू उठ्दैनन्। तपाईंले तिनीहरूलाई दण्ड दिनुभयो र तिनीहरूलाई सर्वनाश पार्नुभयो; तपाईंले तिनीहरूको सबै सम्झना मेटिदिनुभयो।

15हे याहवेह, तपाईंले हाम्रो जातिलाई वृद्धि गर्नुभएको छ; तपाईंले हाम्रो जातिलाई वृद्धि गर्नुभएको छ। तपाईंले आफ्नै महिमा लिनुभएको छ; तपाईंले देशका सबै सिमानाहरू फराकिलो पार्नुभएको छ।

16हे याहवेह, सङ्कष्‍टमा तिनीहरू तपाईंकहाँ आए; तपाईंले तिनीहरूलाई ताडना दिनुहुँदा तिनीहरूले मुस्किलले प्रार्थना गर्न सके।

17बालक जन्माउन आँटेकी स्त्री छटपटाउँदै कष्‍टमा कराएझैँ, हामी पनि हे याहवेह, तपाईंको उपस्थितिमा त्यस्तै भएका थियौँ।

18हामीले गर्भधारण गर्‍यौँ, हामी कष्‍टमा छटपटायौँ, तर हामीले त बतास मात्र जन्मायौँ। हामीले पृथ्वीमा मुक्ति ल्याएका छैनौँ, न त हामीले संसारका मानिसहरूलाई नै जन्मायौँ।

19तर तपाईंका मरेकाहरू जिउनेछन्; तिनीहरूका शरीरहरू उठ्नेछन्। तिमीहरू धुलोमा बस्‍नेहरू, जाग र आनन्दले कराऊ; तपाईंका शीत बिहानका शीतझैँ छन्; पृथ्वीले आफ्नो मृतकहरूलाई जन्म दिनेछ।

20हे मेरा मानिस हो, जाओ, आफ्ना कोठाभित्र पस, र पछिल्तिरबाट ढोका बन्द गर; उहाँको क्रोध शान्त नहोउन्जेल केही समयका निम्ति लुकिबस।

21हेर, पृथ्वीका मानिसहरूलाई तिनीहरूका पापका निम्ति दण्ड दिनलाई, याहवेह आफ्ना वासस्थानबाट बाहिर निस्की आउनुहुँदैछ। पृथ्वीले त्यसमाथि बगाएको रगत देखाइदिनेछ; त्यसले अब आफ्ना मृतकहरूलाई अझै लुकाइराख्नेछैन।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath