ईसाई धर्म
पछाडि

यशैया 14

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहले याकोबमाथि दया देखाउनुहुनेछ; फेरि एकपल्ट उहाँले इस्राएललाई चुन्‍नुहुनेछ; अनि तिनीहरूलाई तिनीहरूका आफ्नै देशमा बसाल्नुहुनेछ। परदेशीहरू तिनीहरूसित मिल्नेछन् र याकोबका घरानासित तिनीहरू मिलेर बस्‍नेछन्।

2राष्ट्रहरूले तिनीहरूलाई लगेर तिनीहरूको आफ्नै ठाउँमा ल्याइदिनेछन्। अनि इस्राएलले जातिहरूलाई याहवेहको देशमा आफ्ना दास-दासीहरू बनाउनेछ। तिनीहरूलाई पक्रनेहरूलाई तिनीहरूले आफ्ना कैदी बनाउनेछन्; अनि तिनीहरूमाथि थिचोमिचो गर्नेहरूमाथि शासन गर्नेछन्।

3याहवेहले तिमीहरूलाई कष्‍ट, चिन्ता र कठिन परिश्रमबाट मुक्त गर्नुभएको दिन,

4तिमीहरूले बेबिलोनको राजाको विरुद्धमा यसरी खिसी गर्नेछौ: अत्याचारी कसरी नाश भयो! त्यसको अत्याचार कसरी समाप्‍त भयो!

5याहवेहले दुष्‍टको लहुरो, शासकहरूको राजदण्ड भाँचिदिनुभएको छ।

6जसले रिसमा मानिसहरूलाई लगातार मुक्‍का लगाइरहन्थ्यो; अनि रिसमा राष्ट्रहरूलाई लगातार आक्रमणद्वारा अधीनमा राखेको थियो।

7सारा देश विश्राम र शान्तिमा छ; तिनीहरू गीत गाइउठ्छन्।

8सल्‍लाका रूखहरू र लेबनानका देवदारुसमेत तिमीहरूको अवस्था देखेर रमाउँछन् र भन्छन्, “अब तँ ढलिगएको कारणले काठको काम गर्ने कोही पनि आएर हामीलाई ढाल्दैनन्।”

9तेरो आगमनको प्रतीक्षामा पाताल पनि उत्प्रेरित भएको छ; त्यसले तँलाई अभिवादन गर्न मरेका आत्माहरूलाई जगाउँछ— संसारका अगुवा भएर रहेका थिए; यसले एकपल्ट जातिहरूमाथि राजा भएकाहरूलाई तिनीहरूका सिंहासनबाट उठाउँछ।

10तिनीहरू सबैले जवाफ दिएर तँलाई यसो भन्‍नेछन्, “तँ अब हामीजस्तै कमजोर भएको छस्; तँ हामीजस्तै भइस्।”

11तेरा सबै रवाफ, र तेरा वीणाहरूको सोरसितै पातालमा खसालिएको छ; तेरो ओछ्यानमा औँसाहरू छरिएका छन्; अनि किराहरूले तँलाई ढाकेका छन्।

12हे बिहानको तारा, प्रभातको पुत्र, तँ कसरी स्वर्गबाट खसेको छस्! जातिहरूलाई होच्याउने, तँ पृथ्वीमा फ्याँकिएको छस्!

13तैँले आफ्नो हृदयमा भनिस्, “म स्वर्गमा उक्लनेछु; म आफ्नो सिंहासनलाई परमेश्‍वरका ताराहरूभन्दा माथि उचाल्नेछु; म सभाको पर्वतमाथि सिंहासनमा, शाफोन पर्वतको सर्वोच्‍च स्थानमा विराजमान हुनेछु।

14म बादलहरूभन्दा माथि उक्लनेछु; म आफैँलाई सर्वोच्‍च परमेश्‍वर बराबर बनाउनेछु।”

15तर तँलाई चिहानसम्म, खाडलको गहिराइसम्मै होच्याइयो।

16तँलाई देख्नेहरूले तँलाई नियालेर हेर्नेछन्, तेरो दशामा तिनीहरूले विचार गर्नेछन्: “के यो त्यही मानिस हो, जसले पृथ्वीलाई हल्‍लायो; अनि राज्यहरूलाई थर्कमान बनायो।

17त्यो मानिस, जसले संसारलाई मरुभूमि बनायो, जसले सहरहरूलाई हरायो; र आफ्ना कैदीहरूलाई घरमा जान दिएन?”

18सबै राष्ट्रहरूका राजाहरू आ-आफ्नो चिहानमा पस्रिरहन्छन्।

19तर तँ एउटा त्यागिएको हाँगाझैँ आफ्नो चिहानमा फालिएको छस्; तँ तरवारले रोपिएकाहरूसँग, खाडलका ढुङ्गाहरूमा खसेकाहरूसँग मारिएकाहरूले ढाकिएको छस्। तँ खुट्टाले कुल्चिएर पैतालामुनि परेको लासझैँ भएको छस्।

20तँ तिनीहरूसित गाडिनेछैनस्; किनकि तैँले आफ्नो देशलाई नाश गरेको छस्; अनि तेरा मानिसहरूलाई मारेको छस्। दुष्‍टका सन्तानहरूको उल्‍लेख अब कहिल्यै गरिनेछैन।

21तिनीहरूका पुर्खाहरूका पापको कारण त्यसका छोराहरूलाई मार्ने ठाउँ तयार गर्; देशमाथि अधिकार गर्न र पृथ्वीका सहरहरू ढाक्न तिनीहरू उठ्न पाउनेछैनन्।

22सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ: “म तिनीहरूको विरुद्ध उठ्नेछु। म बेबिलोनबाट बाँचेकाहरू, त्यसका सन्तान र त्यसको नाम मेटिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

23“म त्यसलाई उल्‍लुको स्थानमा, र सिमसार धापमा परिणत गर्नेछु; म त्यसलाई विनाशको कुचोले बढार्नेछु,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।

24सेनाहरूका याहवेहले शपथ खानुभएको छ, “मैले जे योजना बनाएको छु, त्यो निश्‍चय पूरा हुनेछ; अनि मैले जे इच्छा गरेको छु, त्यो अटल रहनेछ।

25म आफ्नो देशमा अश्शूरलाई धुलोपिठो पार्नेछु; म आफ्ना पर्वतहरूमा त्यसलाई कुल्चनेछु। मेरा मानिसहरूबाट त्यसको जुवा निकालिनेछ; अनि तिनीहरूका काँधबाट त्यसको भारी हटाइनेछ।”

26सारा संसारका निम्ति तोकिएको योजना यही हो; सारा जातिहरूमाथि फैलाइएको हात यही हो।

27सेनाहरूका याहवेहले नै यो विचार गर्नुभएको हो, कसले उहाँलाई विफल बनाउन सक्ला र? उहाँले हात फैलाउनुभएको छ, कसले त्यसलाई फर्काउन सक्ला र?

28आहाज राजा मरेको वर्षमा यो भविष्यवाणी आयो:

29हे सबै पलिश्ती हो, तिमीहरूलाई प्रहार गर्ने लहुरो भाँचियो भनेर नरमाओ; त्यस सर्पको वंशबाट अति विषालु सर्प निस्कनेछ, र प्रहार गर्ने विषालु सर्प त्यसको फल हुनेछ।

30गरिबहरूभन्दा गरिबले खर्क पाउनेछ, र खाँचोमा परेकाहरू सुरक्षामा रहनेछन्। तर तेरो वंशलाई म अनिकालले नाश पार्नेछु, त्यसले तेरा बाँचेकाहरूलाई मार्नेछ।

31हे मूलढोका, विलाप गर्! हे सहर, चीत्कार गर्! हे सबै पलिश्ती हो, पग्लेर जाओ! उत्तर दिशाबाट धुवाँको बादल आउँछ; अनि त्यसको सेनामा बरालिने कोही छैन।

32त्यस जातिका राजदूतहरूलाई कस्तो जवाफ दिइनेछ? “याहवेहले सियोनलाई स्थापित गर्नुभएको छ; अनि कष्‍ट पाएका जातिले त्यसमा आश्रय पाउनेछन्।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath