ईसाई धर्म
पछाडि

होशे 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“आफ्ना दाजुभाइहरूलाई ‘अम्मी’ र दिदीबहिनीहरूलाई ‘रूहामा’ भन्।

2“आफ्नी आमालाई हप्काओ, त्यसलाई हप्काओ; किनकि त्यो मेरी पत्नी होइनँ, र म पनि त्यसको पति होइनँ। त्यसले आफ्नो अनुहारबाट व्यभिचारको रूप र आफ्नो स्तनको बीचबाट विश्‍वासघातलाई हटाओस्।

3नत्रता म त्यसलाई वस्त्रहीन पार्नेछु, र त्यसलाई जन्मेको दिनमा जस्तै नाङ्गै पार्नेछु; म त्यसलाई मरुभूमिजस्तै बनाइदिनेछु; त्यसलाई सुक्खा भूमिमा परिणत गरिदिनेछु, र त्यसलाई तिर्खाले मार्नेछु।

4म त्यसका कुनै छोराछोरीहरूलाई दया देखाउनेछैनँ; किनकि तिनीहरू व्यभिचारबाट जन्मिएका सन्तान हुन्।

5तिनीहरूकी आमाले विश्‍वासघात गरेकी छे, र तिनीहरूलाई कलङ्कित अवस्थामा गर्भधारण गरेकी छे। त्यसले भनी, ‘म मेरा प्रेमीहरूको पछि जानेछु, जसले मलाई मेरो भोजन, पानी, ऊन, सुती कपडा, तेल र दाखरस दिन्छन्।’

6यसकारण म त्यसको बाटो काँडाघारीले बन्द गरिदिनेछु; त्यसले कुनै पनि बाटो नपाओस् भनेर म त्यसलाई पर्खालले बन्द गरिदिनेछु।

7त्यो आफ्ना प्रेमीहरूलाई पछ्याउँदै जानेछे, तर त्यसले तिनीहरूलाई भेट्टाउन सक्दिन; त्यसले प्रेमीहरूलाई खोज्नेछे, तर तिनीहरूलाई भेट्टाउनेछैन। तब त्यसले भन्‍नेछे, “म पहिलेझैँ मेरो पतिकहाँ फर्केर जानेछु; किनकि अहिलेभन्दा त पहिलाको अवस्था नै राम्रो थियो।”

8त्यसले बुझेकै छैन, त्यसलाई अन्‍न, नयाँ दाखरस र जैतुन तेल दिने म नै हुँ; मैले त्यसलाई प्रशस्त सुन र चाँदी दिएँ, तर त्यसले त्यो बाल-देवताको निम्ति प्रयोग गरी।

9“यसकारण जब मेरो अन्‍न पाक्छ, र मेरो नयाँ दाखरस तयार हुन्छ, तब म लैजानेछु। त्यसको नग्नता ढाक्नलाई तयार गरिएको मेरो ऊन र मेरो सुती कपडा म खोसेर लैजानेछु।

10यसकारण अब म त्यसका प्रेमीहरूका आँखाको सामु त्यसलाई नाङ्गो पारिदिनेछु; कसैले त्यसलाई मेरो हातबाट छुटाउन सक्नेछैन।

11म त्यसका सबै उत्सवहरू: त्यसका वार्षिक चाडहरू, त्यसका औँसीहरू, त्यसका शब्बाथ दिनहरू; अनि त्यसका सबै तोकिएका चाडहरूको अन्त गर्नेछु।

12म त्यसका दाखहरू र नेभाराका बोटहरू नष्‍ट गरिदिनेछु, जुन त्यसले आफ्ना प्रेमीहरूको सेवा गरेर मैले ज्याला पाएकी हुँ भनेकी छे; म तिनीहरूलाई बाक्लो झाडी बनाइदिनेछु, र जङ्गली जनावरहरूले ती खानेछन्।

13बाल-देवताहरूका निम्ति धूप बालेका हुनाले म त्यसलाई दण्ड दिनेछु; त्यसले आफूलाई गरगहनाहरूले सिँगारी, र आफ्ना प्रेमीहरूको पछि लागी, तर त्यसले मलाई बिर्सी, याहवेह घोषणा गर्नुहुन्छ।

14“यसकारण अब म त्यसलाई लोभ्याउन लागेको छु; म त्यसलाई उजाडस्थानमा डोर्‍याउनेछु, र त्यससँग मायालु कुरा गर्नेछु।

15त्यहाँ म त्यसलाई त्यसका दाखबारीहरू फर्काइदिनेछु, र आकोरको बेँसीलाई एउटा आशाको ढोका बनाइदिनेछु। त्यहाँ त्यसले आफ्नो जवानीको दिनमा झैँ, इजिप्टबाट निस्किआएको दिनमा झैँ गाउनेछे।”

16याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन तैँले मलाई ‘मेरो मालिक’; भन्‍न छोडेर ‘मेरा पति’ भन्‍नेछस्।

17म त्यसको मुखबाट बाल-देवताहरूका नाम हटाइदिनेछु; तिनीहरूका नामको उच्‍चारण फेरि कहिल्यै पनि हुनेछैन।

18त्यस दिन म तिनीहरूका निम्ति जङ्गलका जनावरहरू, आकाशका चराचुरुङ्गीहरू र जमिनमा हलचल गर्ने पशुप्राणीहरूसँग करार बाँध्नेछु। म देशबाट धनु, तरवार र युद्ध हटाइदिनेछु, ताकि सबै जना सुरक्षित भएर विश्राम लिन सकून्।

19म तँलाई सदाका निम्ति पत्नी तुल्याउनेछु; म तँलाई धार्मिकतामा र न्यायमा, प्रेममा र दयामा दुलही बनाउनेछु।

20म तँलाई विश्‍वासयोग्यतामा दुलही बनाउनेछु; अनि तैँले याहवेहलाई चिन्‍नेछस्।”

21याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन म जवाफ दिनेछु, म आकाशलाई जवाफ दिनेछु, र आकाशले पृथ्वीलाई जवाफ दिनेछ;

22अनि पृथ्वीले अन्‍नलाई; नयाँ दाखरस र जैतुन तेललाई जवाफ दिनेछ, र तिनीहरूले यिजरेललाई जवाफ दिनेछन्।

23म त्यसलाई आफ्नै निम्ति त्यस देशमा रोप्नेछु; मैले जसलाई ‘मेरो प्रिय होइनँ’ भनेको थिएँ, त्यसलाई प्रेम देखाउनेछु। मैले जसलाई ‘मेरो जाति होइनँ,’ भनेको थिएँ, त्यसलाई ‘तिमीहरू मेरा जाति हौ,’ भन्‍नेछु; अनि तिनीहरूले भन्‍नेछन्, ‘तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ।’ ”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath