उत्पत्ति 50
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1योसेफ आफ्ना पितालाई अँगालो हालेर धेरै बेर रोए, र उनलाई म्वाइँ खाए।
2तब योसेफले आफ्ना सेवामा खटाइएका वैद्यहरूलाई आफ्ना पिता इस्राएलको शरीरमा सुगन्धित लेप लगाउन आदेश दिए। यसकारण ती वैद्यहरूले
3चालीस दिन लगाएर सुगन्धित लेप लगाए; किनकि लेप लगाउन त्यति नै समय लाग्थ्यो। अनि इजिप्टियनहरूले उनका निम्ति सत्तरी दिनसम्म शोक मनाए।
4शोकका दिनहरू बितेपछि योसेफले फारोका भारदारहरूलाई भने, “यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने फारोसित मेरा लागि बोलिदिनुहोस्। उहाँलाई भन्नुहोस्,
5‘मेरा पिताले मलाई शपथ खान लाउनुभयो, र भन्नुभयो, “मेरो मृत्यु हुन लागेको छ; मलाई कनान देशमा मैले आफूले बनाएको चिहानमा गाड्नू।” अब मलाई आफ्ना पितालाई गाड्न जान दिनुहोस्; त्यसपछि म फर्कनेछु।’ ”
6फारोले भने, “जाऊ, र तिम्रा पिताले तिमीलाई शपथ खान लगाएझैँ तिनलाई गाड।”
7यसकारण योसेफ आफ्ना पितालाई गाड्न गए। फारोका सबै राजकर्मचारीहरू—अर्थात् सभाका प्रधानहरू र इजिप्टका सबै सम्मानित व्यक्तिहरू तिनीसित गए।
8यसबाहेक योसेफका घरानाका सबै सदस्यहरू, तिनका दाजुभाइहरू र तिनका पिताका सबै घराना पनि गए। गोशेनमा बालबच्चाहरू, बगालहरू र बथानहरू मात्र छोडिए।
9रथहरू र घोडसवारहरू पनि तिनीसित गए। त्यो एउटा ठूलो समूह थियो।
10जब तिनीहरू यर्दनको छेउमा भएको आतादको खलोमा पुगे, तब तिनीहरूले धेरै बेरसम्म भारी विलाप गरे; अनि त्यहाँ योसेफले आफ्ना पिताको निम्ति सात दिनसम्म शोक गरे।
11जब त्यहाँ बस्ने कनानीहरूले आतादको खलोमा गरिएको शोक देखे, तिनीहरूले भने, “इजिप्टियनहरूले ठूलो शोक मनाइरहेका छन्।” त्यसैकारण यर्दनको नजिकको त्यस ठाउँलाई हाबिल-मिश्रइम भनिन्छ।
12यसरी याकोबका छोराहरूले उनले आज्ञा दिएबमोजिम गरे:
13तिनीहरूले उनलाई कनानमा पुर्याए र मम्रेको छेउमा मक्पेलाको खेतमा भएको ओडारमा गाडे, जुन अब्राहामले हित्ती एप्रोनबाट चिहान घारीको रूपमा खेतसितै किनेका थिए।
14आफ्ना पितालाई गाडेपछि योसेफ तिनका दाजुभाइहरू र तिनका पितालाई गाड्न गएका अरू सबैसित इजिप्टमा फर्किए।
15उनीहरूका पिताको मृत्यु भएको देखेर योसेफका दाजुभाइहरूले भने, “यदि योसेफले हामीले त्यसप्रति गरेका सबै खराबीको साटो मनमा इबी राखेर हामीसँग बदला लियो भने?”
16यसकारण उनीहरूले योसेफकहाँ यसो भनेर खबर पठाए, “तपाईंका पिताले आफ्नो मृत्यु हुनुभन्दा अगि यस्तो आदेश दिनुभएको छ:
17‘तिमीहरूले योसेफलाई यसो भन्नू: तेरा दाजुभाइहरूले विगतमा तँलाई खराब व्यवहार गरेर तँप्रति गरेका पापहरू र खराबीहरूलाई क्षमा गरिदे भनी म भन्दछु।’ अब दया गरी तपाईंका पिताका परमेश्वरका सेवकहरूका पापहरू क्षमा गरिदिनुहोस्।” त्यो खबर तिनीकहाँ पुगेपछि योसेफ रोए।
18तब तिनका दाजुभाइहरू तिनीकहाँ आएर तिनको अगि घोप्टो परेर भने, “हामी तपाईंका दासहरू हौँ।”
19तर योसेफले उनीहरूलाई भने, “नडराओ; के म परमेश्वरको स्थानमा छु र?
20तिमीहरूले मलाई हानि गर्ने विचार गर्यौ; तर अहिले धेरैको प्राण बाँच्ने जुन काम भइरहेको छ, त्यो काम परमेश्वरले भलाइका निम्ति गर्नुभयो।
21यसकारण अब नडराओ; म तिमीहरू र तिमीहरूका बालबच्चाहरूको पालनपोषण गर्नेछु।” अनि तिनले उनीहरूलाई फेरि आश्वासन दिए, र उनीहरूसित दयालु भएर कुराकानी गरे।
22योसेफ आफ्ना पिताका सम्पूर्ण परिवारसित इजिप्टमा बसे। तिनी एक सय दश वर्षसम्म बाँचे।
23तिनले एफ्राइमका छोराछोरीहरूका तेस्रो पुस्तासम्मलाई देखे। मनश्शेका छोरा माकीरका छोराछोरीहरूलाई पनि तिनले काखमा लिए, जसलाई तिनले आफ्नै ठान्दथे।
24तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो मृत्यु हुन लागेको छ; तर परमेश्वर निश्चय तिमीहरूलाई सहायता दिन आउनुहुनेछ; र तिमीहरूलाई यस देशबाट उहाँले अब्राहाम, इसहाक र याकोबलाई शपथद्वारा प्रतिज्ञा गर्नुभएको देशमा लैजानुहुनेछ।”
25अनि योसेफले इस्राएलका छोराहरूलाई शपथ खान लगाएर भने, “परमेश्वर निश्चय तिमीहरूको सहायताका लागि आउनुहुनेछ, र तिमीहरूले मेरा हड्डीहरू यस ठाउँबाट माथि लैजानू।”
26यसरी योसेफको एक सय दश वर्ष उमेर पुगेर मृत्यु भयो। अनि उनीहरूले तिनलाई सुगन्धित लेप लगाएपछि बाकसमा हालेर इजिप्टमा नै राखे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath