उत्पत्ति 48
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1केही समयपछि “तपाईंका पिता बिरामी हुनुहुन्छ” भनेर योसेफले खबर पाए। यसकारण तिनले आफ्ना दुई छोराहरू मनश्शे र एफ्राइमलाई आफैँसित लिएर गए।
2जब याकोबले “तपाईंको छोरा योसेफ आएका छन्” भनी खबर पाए, तब उनी आफैँ बल गरेर खाटमा बसे।
3याकोबले योसेफलाई भने, “सर्वशक्तिमान् परमेश्वर कनान देशको लूजमा मसित देखा पर्नुभयो, र मलाई आशिष् दिनुभयो।
4अनि उहाँले मलाई भन्नुभयो, ‘म तँलाई फलदायक बनाएर तेरो संख्यामा वृद्धि गराउनेछु। म तँलाई जातिहरूको समुदाय बनाउनेछु। अनि म यस देशलाई तँपछि तेरा सन्तानहरूलाई सदाका निम्ति सम्पत्तिको रूपमा दिनेछु।’
5“अब म यहाँ आउनुभन्दा पहिले इजिप्टमा जन्मेका तेरा दुई छोराहरू मेरै कहलाइनेछन्। रूबेन र शिमियोन मेरा भएझैँ एफ्राइम र मनश्शे पनि मेरै भनिनेछन्।
6तिनीहरूभन्दा पछि जन्मेका तेरा छोराहरू तेरै हुनेछन्। उनीहरूले पैतृक अधिकारस्वरूप पाएको प्रदेशमा यिनीहरू आफ्ना दाजुभाइहरूकै नामले चिनिनेछन्।
7म पद्दनबाट कनान देशमा फर्कंदै गर्दा हामी एप्राताबाट अलि पर हुँदा नै राहेलको मृत्यु भयो। यसकारण मैले ठूलो शोकसहित तिनलाई त्यहाँ एप्रात (अर्थात् बेथलेहेम) जाने बाटोमा गाडे।”
8जब इस्राएलले योसेफका छोराहरूलाई देखे, उनले “यिनीहरू को हुन्?” भनी सोधे।
9योसेफले आफ्ना पितालाई भने, “यिनीहरू परमेश्वरले मलाई यस देशमा दिनुभएको छोराहरू हुन्।” तब इस्राएलले भने, “तिनीहरूलाई मकहाँ ले, र म तिनीहरूलाई आशिष् दिनेछु।”
10इस्राएलका आँखा वृद्धावस्थाको कारण धमिलिएका थिए। अनि उनले राम्ररी देख्न सक्दैनथे। यसकारण योसेफले आफ्ना छोराहरूलाई तिनका नजिक ल्याए; अनि तिनका पिताले तिनीहरूलाई चुम्बन गरे, र अँगालो हाले।
11इस्राएलले योसेफलाई भने, “मैले तेरो अनुहार फेरि देख्न पाउँछु भनेर चिताएको पनि थिइनँ; अब परमेश्वरले मलाई तेरा सन्तानहरूहरू पनि हेर्न दिनुभयो।”
12तब योसेफले तिनीहरूलाई इस्राएलका काखबाट हटाए, र आफ्नो अनुहार भुइँतिर पारेर दण्डवत् गरे।
13अनि योसेफले ती दुवैलाई लिए, एफ्राइमलाई आफ्नो दाहिने हातले समातेर इस्राएलको देब्रेपट्टि, र मनश्शेलाई आफ्नो देब्रे हातले समातेर इस्राएलको दाहिनेपट्टि पारेर तिनका नजिक ल्याए।
14तर इस्राएलले आफ्नो दाहिने हात बढाएर कान्छा छोरा एफ्राइमको शिरमाथि राखे। अनि आफ्नो देब्रे हात घुमाएर जेठो छोरा मनश्शेको शिरमाथि राखे।
15तब उनले योसेफलाई आशिष् दिएर भने, “जुन परमेश्वरको सामु मेरा पिता अब्राहाम र इसहाक विश्वासयोग्य भएर हिँडे, जुन परमेश्वर मेरो जीवनभरि आजसम्म मेरो गोठालो भएर रहनुभएको छ,
16ती स्वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशिष् देऊन्। तिनीहरूद्वारा नै मेरो नाम, र मेरा पिता अब्राहाम र इसहाकको नाम अमर होऊन्; अनि पृथ्वीमा यिनीहरूको संख्या अनगन्ती होस्।”
17जब योसेफले आफ्ना पिताले उनको दाहिने हात एफ्राइमको शिरमा राखेका देखे, तिनी अप्रसन्न भए; यसकारण तिनले एफ्राइमको शिरबाट मनश्शेको शिरमाथि सारिदिनलाई आफ्ना पिताको हात समाते।
18योसेफले उनलाई भने, “होइन, मेरा पिता, योचाहिँ जेठा हो; तपाईंको दाहिने हात यसको शिरमाथि राख्नुहोस्।”
19तर तिनका पिताले अस्वीकार गरेर भने, “मलाई थाहा छ, मेरा छोरा, मलाई थाहा छ। त्यो पनि एउटा जाति बन्नेछ। त्यो पनि महान् हुनेछ। तर त्यसको कान्छो भाइचाहिँ त्योभन्दा महान् बन्नेछ। अनि त्यसका सन्तानहरू जातिहरूको एक समूह हुनेछन्।”
20त्यस दिन उनले तिनीहरूलाई आशिष् दिएर भने, “तिमीहरूकै नाममा इस्राएलले यो आशिष् उच्चारण गर्नेछ: ‘परमेश्वरले तिमीहरूलाई एफ्राइमझैँ र मनश्शेझैँ बनाऊन्।’ ” यसरी उनले एफ्राइमलाई मनश्शेको अगाडि राखे।
21तब इस्राएलले योसेफलाई भने, “मेरो मृत्युको समय आएको छ; तर परमेश्वर तँसित हुनुहुनेछ र तँलाई आफ्ना पितापुर्खाहरूको देशमा फर्काएर लानुहुनेछ।
22म तँलाई तेरा दाजुभाइहरूभन्दा एक भाग बढ्ता पहाडी पाखो दिनेछु, जुन पाखो मैले मेरो तरवार र धनुले एमोरीहरूबाट हात पारेको छु।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath