उत्पत्ति 3
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1अब याहवेह परमेश्वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्प सबैभन्दा बढी धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, “के याहवेह परमेश्वरले ‘यस बगैँचाको कुनै पनि रूखका फल तिमीहरूले नखानू’ भनी साँच्चै भन्नुभएको हो?”
2तब स्त्रीले सर्पलाई भनिन्, “बगैँचामा भएका रूखहरूका फल हामी खान सक्छौँ,
3तर परमेश्वरले यो पनि भन्नुभएको छ, ‘तिमीहरूले बगैँचाको बीचमा भएको रूखको फल खाँदै नखानू, र तिमीहरूले त्यो नछुनू; नत्रता तिमीहरू मर्नेछौ।’ ”
4तब सर्पले स्त्रीलाई भन्यो, “तिमीहरू कदापि मर्नेछैनौ!”
5“किनकि परमेश्वर जान्नुहुन्छ कि जब तिमीहरूले यो खान्छौ, तिमीहरूका आँखा खुल्नेछन्; अनि असल र खराब थाहा पाएर तिमीहरू पनि परमेश्वरजस्तै हुनेछौ।”
6जब स्त्रीले त्यस रूखको फल खानका निम्ति असल, हेर्नमा रहरलाग्दो र बुद्धि प्राप्त गर्न चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले केही फल टिपेर खाइन्। तब तिनले आफ्ना पतिलाई पनि दिइन्; जो तिनीसँगै थिए, र तिनले पनि खाए।
7तब ती दुवैका आँखा खुले, र आफू नाङ्गा भएका तिनीहरूले थाहा पाए। यसकारण तिनीहरूले ढाक्नका लागि नेभाराका पातहरू गाँसेर आफ्ना निम्ति वस्त्र बनाए।
8जब याहवेह परमेश्वर दिनको शीतल समयमा बगैँचामा हिँड्दैहुनुहुन्थ्यो, तब मानिस र तिनकी पत्नीले उहाँको सोर सुने, र तिनीहरू याहवेह परमेश्वरदेखि बगैँचाका रूखहरूका बीचमा लुके।
9तर याहवेह परमेश्वरले मानिसलाई, “तँ कहाँ छस्?” भनी बोलाउनुभयो।
10तिनले जवाफ दिए, “मैले बगैँचामा तपाईंको सोर सुनेँ, र मलाई डर लाग्यो, किनकि म नाङ्गो थिएँ; त्यसैले म लुकेँ।”
11अनि उहाँले भन्नुभयो, “तँ नाङ्गै छस् भनी कसले भन्यो? मैले नखानू भनी आदेश दिएको त्यस रूखबाट तैँले खाइस्?”
12आदमले भने, “तपाईंले मसँगै रहन भनी दिनुभएको स्त्रीले त्यस रूखबाट मलाई केही फल दिई, र मैले खाएँ।”
13तब याहवेह परमेश्वरले स्त्रीलाई भन्नुभयो, “तैँले यो के गरिस्?” त्यस स्त्रीले जवाफ दिई, “सर्पले मलाई छल गर्यो, र मैले खाएँ।”
14यसकारण याहवेह परमेश्वरले सर्पलाई भन्नुभयो, “तैँले यसो गरेको कारण, “तँ सबै घरपालुवा जनावरहरू र सबै जङ्गली जनावरहरूमध्ये तैँले ज्यादा श्राप पाउनेछस्! तँ पेटको बलले घस्रनेछस्, तेरो सारा जीवनभरि, तैँले धुलो खानेछस्।
15अनि तेरो र स्त्रीको बीचमा, अनि तेरा र स्त्रीका सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, अनि तैँले त्यसको कुर्कुच्चा डस्नेछस्।”
16स्त्रीलाई उहाँले भन्नुभयो, “म तेरो गर्भावस्थाको पीडा ज्यादै बढाइदिनेछु; बडो कष्टसाथ तैँले सन्तान जन्माउनेछस्। तेरो चाहना तेरो पतितर्फ नै हुनेछ, र उसले तँमाथि अधिकार जमाउनेछ।”
17आदमलाई उहाँले भन्नुभयो, “किनकि तैँले तेरी पत्नीको कुरा सुनेको र मैले तँलाई ‘खाँदै नखानू भनी आदेश दिएको रूखको फल खाएको हुनाले,’ “तेरो कारणले भूमिमा श्राप परेको छ; तेरो जीवनकालभरि तैँले कष्टसाथ परिश्रम गरेर त्यसको फल खानेछस्।
18भूमिले तेरा निम्ति काँडा र सिउँडी उमार्नेछ; अनि तैँले खेतबारीका सागपात खानेछस्।
19जबसम्म तँ माटोमा फर्किजाँदैनस्, तबसम्म तेरो निधारको पसिनाद्वारा तैँले आफ्नो भोजन खानेछस्; किनकि तँ धुलो होस्, र तँ धुलोमा नै फर्किजानेछस्; किनकि यसैबाट तँ बनाइएको थिइस्।”
20आदमले आफ्नी पत्नीको नाम हव्वा राखे; किनकि तिनी नै सबै जीवितहरूकी आमा थिइन्।
21याहवेह परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाको वस्त्र बनाएर पहिर्याइदिनुभयो।
22अनि याहवेह परमेश्वरले भन्नुभयो, “मानिस अब हामीजस्तै असल र खराबको ज्ञान जान्ने भएको छ। अब उसो त्यसले आफ्नो हात बढाउन नपाओस् र जीवनको रूखबाट टिपेर पनि नखाओस्, र अनन्तसम्म बाँच्न नपाओस्।”
23यसकारण जुन भूमिबाट तिनी बनाइएका थिए, त्यसैको खनजोत गरोस् भनेर याहवेह परमेश्वरले तिनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो।
24उहाँले मानिसलाई धपाइदिनुभएपछि, अदनको बगैँचाको पूर्वपट्टि जीवनको रूखमा जाने बाटोको रक्षा गर्नलाई करूबहरू अनि चारैतिर चम्किरहने ज्वालामय तरवार राखिदिनुभयो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath