ईसाई धर्म
पछाडि

उत्पत्ति 38

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1त्यस समयमा यहूदा आफ्ना दाजुभाइहरूलाई छोडेर हीरा नाम भएको अदुल्‍लामबासीका एक जना मानिसकहाँ बस्‍नलाई गए।

2त्यहाँ यहूदाले शूआ नाम भएको एक कनानी मानिसकी छोरीलाई भेटे। तिनले उनलाई विवाह गरे, र उनीसँग सहवास गरे;

3अनि उनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्; जसको नाम एर् राखियो।

4उनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माइन्; अनि त्यसको नाम ओनान राखिन्।

5उनले अर्को छोरा पनि जन्माइन्; अनि त्यसको नाम शेलह राखिन्। उनले उसलाई तिनी कजीबमा हुँदा जन्माइन्।

6यहूदाले आफ्नो जेठा छोरा, एर्‌का लागि एउटी पत्नी ल्याइदिए, जसको नाम तामार थियो।

7तर यहूदाका जेठा छोरा एर् याहवेहको दृष्‍टिमा दुष्‍ट थिए; यसकारण याहवेहले त्यसको प्राण लिनुभयो।

8तब यहूदाले ओनानलाई भने, “तेरी भाउजूकहाँ जा, र देवरले गर्नुपर्ने कर्तव्य पूरा गर्; अनि तेरा दाजुका निम्ति सन्तान उत्पन्‍न गर्।”

9तर ओनानले यो थाहा पाए कि त्यो सन्तान तिनको आफ्नो हुनेछैन; यसकारण जहिले-जहिले तिनी भाउजूकहाँ सुत्न गए, तिनले दाजुको निम्ति सन्तान नहोस् भन्‍नको लागि आफ्नो वीर्यचाहिँ भुइँमा खसाले।

10तिनले जे गरे, त्यो याहवेहको दृष्‍टिमा दुष्‍ट थियो; यसकारण उहाँले तिनलाई पनि नष्‍ट गर्नुभयो।

11त्यसपछि यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरा शेलह ठूलो नभएसम्म तिमी आफ्ना पिताको घरमा विधवा भई बस।” किनकि तिनका दाजुहरूजस्तै शेलहको पनि मृत्यु होला भनेर तिनले सोचेका थिए। यसकारण तामार आफ्ना पिताको घरमा बस्‍नलाई गइन्।

12धेरै समयपछि शूआकी छोरी, यहूदाकी पत्नी मरिन्। जब यहूदा आफ्नो शोकबाट उत्रिए, तब उनी आफ्ना मित्र अदुल्‍लामबासी हीरासँग तिम्नामा मानिसहरूले उनका भेडाहरूको ऊन कत्रने ठाउँमा गए।

13जब तिम्रा ससुरा आफ्ना भेडाहरूको ऊन कत्रनलाई तिम्नातिर आउँदैछन् भनेर तामारलाई बताइयो,

14तिनले आफ्नो विधवाको पोशाक फुकालिन्, र आफूलाई नचिन्‍ने बनाउनको लागि आफूलाई घुम्टोले छोपिन्, र तिम्ना जाने बाटोमा भएको एनैमको प्रवेशद्वारमा बसिन्; किनकि शेलह ठूलो भइसकेपछि पनि त्यसकी पत्नी हुन नदिइएको तिनले देखिन्।

15जब यहूदाले तिनलाई देखे, तिनले अनुहार छोपेकी हुनाले उनले तिनलाई वेश्या भनी ठाने।

16आफ्नै बुहारी हो भनी उनले थाहा नपाएर तिनी बाटोको किनारमा गएर तिनलाई भने, “मसँग आऊ, र मलाई तिमीसित सुत्न देऊ।” “तपाईंसँग सुतेँ भने मलाई के दिनुहुन्छ?” तिनले सोधिन्।

17उनले भने, “म मेरा भेडाका बथानबाट तिमीलाई एउटा पाठो पठाइदिनेछु।” तिनले सोधिन्, “तपाईंले त्यो नपठाउन्जेल मलाई बन्धकको रूपमा केही कुरा दिनुहुन्छ?”

18यहूदाले भने, “म तिमीलाई के बन्धक दिऊँ?” तिनले जवाफ दिइन्, “तपाईंको छाप भएको औँठी, त्यसको डोरी र तपाईंको हातमा भएको त्यो लहुरो राखे हुन्छ।” यसकारण उनले ती कुराहरू तिनलाई दिए, र तिनीसित सुते; अनि उनीद्वारा तिनी गर्भवती भइन्।

19त्यसपछि तिनी आफ्नो घर गइन्, र आफ्नो घुम्टो फुकालेर फेरि आफ्नो विधवाको वस्त्र लगाइन्।

20त्यसपछि त्यस स्त्रीबाट आफ्नो बन्धक फिर्ता गराउनलाई यहूदाले आफ्नो अदुल्‍लामबासी हिराद्वारा एउटा कलिलो पाठो त्यस स्त्रीकहाँ पठाए, तर उनले तिनलाई भेट्टाउन सकेनन्।

21उनले त्यहाँ बस्‍ने मानिसहरूलाई “एनैम देवस्थानमा बस्‍ने देवदासी कहाँ छे?” भनी सोधे। तिनीहरूले भने, “यहाँ त देवस्थानमा बस्‍ने कुनै देवदासी छैन।”

22यसकारण उनी यहूदाकहाँ फर्किगएर भने, “मैले तिनलाई भेट्टाइनँ। त्यस ठाउँका मानिसहरूले पनि, ‘यहाँ देवस्थानमा बस्‍ने कुनै देवदासी छैन’ भने।”

23तब यहूदाले भने, “त्यससित जे छन्, ती आफूसितै राखोस्, नत्रता हामी हाँसोको पात्र हुनेछौँ। जे भए तापनि मैले त्यसलाई यो कलिलो पाठो पठाएकै हुँ, तर तिमीले त्यसलाई भेट्टाएनौ।”

24प्रायः तीन महिनापछि यहूदालाई “तपाईंकी बुहारी तामार वेश्यावृत्तिको दोषी ठहरिएकी छिन्; अनि त्यसको फलस्वरूप तिनी अहिले गर्भवती भएकी छिन्” भनियो। यहूदाले भने, “तिनलाई बाहिर निकाल र जलाएर मारिदेओ!”

25तिनलाई जब बाहिर निकाल्न लागे, तब तिनले आफ्ना ससुरालाई एउटा खबर पठाइन्। “यी सामानहरू जसका हुन्, तिनैद्वारा म गर्भवती भएकी हुँ,” तिनले भनिन्। अनि तिनले अझ थपेर भनिन्, “तपाईंले यो छाप-औँठी, डोरी, र लहुरो कसका हुन् भनी चिन्‍न सक्नुहुन्छ कि?”

26यहूदाले ती कुराहरू चिनेर भने, “तिनी त मभन्दा धर्मी रहिछिन्; किनकि मैले तिनलाई आफ्नो छोरो शेलह तिनका पति हुनलाई दिइनँ।” अनि उनी तिनीसित फेरि सुतेनन्।

27जब तिनको सुत्केरी हुने समय आयो, तिनका गर्भमा जुम्ल्याहा छोराहरू थिए।

28जब तिनी प्रसव-वेदनामा थिइन्, तीमध्ये एउटाले आफ्नो हात बाहिर निकाल्यो; यसकारण सुँडेनीले एउटा रातो डोरी लिएर त्यसको नाडीमा बाँधिदिइन् र भनिन्, “पहिले निस्केको यही हो।”

29तर जब त्यसले आफ्नो हात फेरि भित्र तान्यो, त्यसको भाइचाहिँ बाहिर निस्क्यो; अनि तिनले भनिन्, “तँ यसरी आउनमा सफल भइस्!” अनि त्यसको नाम पेरेस राखियो।

30तब आफ्नो नाडीमा रातो डोरी लिएको त्यसको भाइ बाहिर आयो र त्यसको नाम जेरह राखियो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath