ईसाई धर्म
पछाडि

उत्पत्ति 35

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तब परमेश्‍वरले याकोबलाई भन्‍नुभयो, “बेथेल गएर त्यहीँ बसोबास गर्, र तँ तेरा दाजु एसावदेखि भागेको बेला तँकहाँ देखा पर्नुहुने परमेश्‍वरका लागि त्यहाँ एउटा वेदी बना।”

2यसकारण याकोबले आफ्नो घराना र आफूसँग भएका सबैलाई भने, “तिमीहरूसँग भएका परदेशी देवताहरू त्याग, र आफूलाई शुद्ध पार, र आफ्ना लुगाहरू फेर।

3त्यसपछि आओ र हामी बेथेल जाऔँ, जहाँ म परमेश्‍वरका निम्ति एउटा वेदी बनाउनेछु, जसले मेरो सङ्कटमा मलाई जवाफ दिनुभयो र, म जहाँ-जहाँ गएँ, मेरो साथमा रहनुभयो।”

4यसकारण तिनीहरूले आफूसित भएका सबै विदेशी देवताहरू र आफ्ना कानका कुण्डलहरू याकोबलाई दिए; अनि याकोबले ती शेकेममा भएको फलाँटको रूखमुनि गाडिदिए।

5त्यसपछि तिनीहरू त्यहाँबाट हिँडे, र तिनीहरू गएको चारैतिरका नगरहरूमा परमेश्‍वरको त्रास फैलियो। त्यसकारण कसैले पनि याकोबका छोराहरूलाई खेदेन।

6याकोब र तिनीसित भएका सबै मानिसहरू कनानको लूजमा (अर्थात्, बेथेलमा) आए।

7त्यहाँ तिनले एउटा वेदी बनाए, र तिनले त्यस ठाउँलाई एल-बेथेल भने; किनकि तिनी आफ्ना दाजुदेखि भागेर जाँदा त्यहीँ नै परमेश्‍वरले आफूलाई तिनीकहाँ प्रकट गर्नुभएको थियो।

8अब रिबेकाकी धाईआमा दबोराको मृत्यु भयो, र तिनलाई बेथेलबाहिर फलाँटको रूखमुनि गाडियो। यसकारण त्यसको नाम अल्‍लोन-बकुत राखियो।

9याकोब पद्दन-अरामबाट फर्केपछि परमेश्‍वर तिनीकहाँ फेरि देखा पर्नुभयो, र तिनलाई आशिष् दिनुभयो।

10परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तेरो नाम याकोब हो; तर अब उसो तँलाई याकोब भनिनेछैन, तर तेरो नाम इस्राएल हुनेछ।” यसरी उहाँले तिनको नाम इस्राएल राख्नुभयो।

11अनि परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान् परमेश्‍वर हुँ; फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जानू। तँबाट एउटा राष्ट्र र जाति-जातिहरूको एउटा समुदाय निस्कनेछ; र तेरा सन्तानहरूका बीचबाट राजाहरू निस्कनेछन्।

12मैले अब्राहाम र इसहाकलाई दिएको देश म तँलाई पनि दिनेछु, र यही देश म तँपछि तेरा सन्तानहरूलाई पनि दिनेछु।”

13त्यसपछि परमेश्‍वर आफूले तिनीसित कुरा गर्नुभएको त्यस ठाउँबाट माथि जानुभयो।

14याकोबले तिनीसित परमेश्‍वरले कुरा गर्नुभएको ठाउँमा एउटा खाँबो ठड्याए; अनि त्यसमाथि तिनले अर्घबलि चढाए; अनि त्यसमाथि तेल पनि खन्याए।

15परमेश्‍वरले तिनीसित कुरा गर्नुभएको त्यस ठाउँको नाम याकोबले बेथेल राखे।

16त्यसपछि तिनीहरू बेथेलबाट हिँडे। तिनीहरू एप्रातदेखि टाढा छँदै राहेललाई सुत्केरी व्यथा लागेर ज्यादै पीडा भयो।

17अनि तिनलाई सुत्केरी व्यथाले कष्‍ट हुँदा सुँडेनीले तिनलाई भनिन्, “नडराउनुहोस्, किनकि तपाईंले अर्को छोरालाई जन्म दिनुभएको छ।”

18जब तिनी मर्नै लागेकी थिइन्, तिनले अन्तिम सास लिँदैगर्दा, तिनले आफ्नो छोराको नाम बेन-ओनी राखिन्। तर त्यसका बुबाले त्यसको नाम बेन्यामीन राखे।

19यसरी राहेलको मृत्यु भयो, र तिनी एप्रात (अर्थात् बेथलेहेम) जाने बाटोमा गाडिइन्।

20तिनको चिहानमाथि याकोबले एउटा खाँबो खडा गरे; अनि त्यो खाँबो राहेलको चिहानको सङ्केतको रूपमा आजसम्म पनि छँदैछ।

21इस्राएल अझै अगि बढे, र आफ्नो पाल मिग्दल-एदेरको पारिपट्टि टाँगे।

22इस्राएल त्यस प्रान्तमा रहेकै बेला रूबेन आफ्ना बुबाकी उपपत्नी बिल्हासित सुते; अनि इस्राएलले यसको बारेमा सुने। याकोबका बाह्र छोराहरू थिए:

23लेआका छोराहरू: रूबेन, जो याकोबका जेठा छोरा थिए, शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून।

24राहेलका छोराहरू: योसेफ र बेन्यामीन।

25राहेलकी सेविका बिल्हाका छोराहरू: दान र नप्‍ताली।

26लेआकी सेविका जिल्पाका छोराहरू: गाद र आशेर। पद्दन-अराममा जन्मेका याकोबका छोराहरू यिनै थिए।

27याकोब किर्यत-अर्बाको (अर्थात्, हेब्रोन) नजिक मम्रेमा आफ्ना पिता इसहाककहाँ आए, जहाँ अब्राहाम र इसहाक बस्थे।

28इसहाक एक सय असी वर्षसम्म बाँचे।

29तब इसहाकले आफ्नो पूरा बुढेसकालमा, पूरा आयुमा तिनले अन्तिम सास फेरे, र तिनको मृत्यु भयो; अनि आफ्ना पुर्खाहरूसित मिल्न गए। अनि तिनका छोराहरू एसाव र याकोबले तिनलाई गाडे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath