ईसाई धर्म
पछाडि

उत्पत्ति 32

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याकोब पनि आफ्नो बाटो लागे; अनि परमेश्‍वरका दूतहरूले तिनलाई भेटे।

2जब याकोबले तिनीहरूलाई देखे, तब तिनले भने, “यो त परमेश्‍वरको छाउनी हो!” यसकारण तिनले त्यस ठाउँको नाम महनाइम राखे।

3याकोबले आफूभन्दा अगाडि एदोम देशको सेइर भन्‍ने ठाउँमा तिनका दाजु एसावकहाँ दूतहरू पठाए।

4तिनले तिनीहरूलाई आदेश दिए: “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नू: ‘तपाईंको सेवक याकोब भन्छन्, म लाबानसित बस्दैथिएँ र अहिलेसम्म त्यहीँ नै बसेँ।

5मसित गाईबस्तु, गधाहरू, भेडा र बाख्राहरू र सेवक-सेविकाहरू छन्। म मेरा मालिककहाँ मैले उहाँको दृष्‍टिमा कृपा पाऊँ भनी यो समाचार पठाउँदैछु।’ ”

6जब ती दूतहरू याकोबकहाँ फर्के, तब तिनीहरूले भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौँ, र अहिले उहाँ तपाईंलाई भेट्न यतैतिर आइरहनुभएको छ, र उहाँको साथमा चार सय मानिसहरू छन्।”

7यो खबर सुनेर याकोब अत्यन्तै डराएर आत्तिए; यसकारण याकोबले आफूसित भएका मानिसहरू, साथै बथानहरू, बगालहरू र ऊँटहरूलाई दुई दलमा विभाजन गरे।

8तिनले सोचे, “यदि एसावले आएर एउटा दललाई आक्रमण गरे भने तापनि बाँकी रहेको अर्को दलचाहिँ भाग्न सक्नेछ।”

9त्यसपछि याकोबले प्रार्थना गरे, “हे याहवेह, मेरा पिता अब्राहामका परमेश्‍वर, मेरा पिता इसहाकका परमेश्‍वर, जसले मलाई ‘तँ आफ्नो देश र आफ्ना नातेदारहरूकहाँ जा, र म तेरो उन्‍नति गराउनेछु’ भन्‍नुभयो;

10तपाईंले आफ्नो सेवकप्रति देखाउनुभएको कृपा र विश्‍वासयोग्यताको योग्यको म छैनँ। मैले यस यर्दन नदीलाई पार गर्दा मसित लहुरोबाहेक केही थिएन; तर अब मसित दुई वटा दल भएका छन्।

11म बिन्ती गर्छु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्; किनकि तिनी आएर यी आमाहरूलाई र तिनीहरूका छोराछोरीलाई आक्रमण गर्लान् भन्‍ने मलाई डर लागेको छ।

12तर तपाईंले भन्‍नुभएको छ, ‘निश्‍चय नै म तेरो उन्‍नति गर्नेछु र तेरा सन्ततिलाई समुद्रको बालुवाझैँ बनाउनेछु, जो गन्‍न सकिनेछैन।’ ”

13तिनले त्यो रात त्यहीँ बिताए; त्यसपछि आफूसित भएका थोकबाट तिनले आफ्ना दाजु एसावका निम्ति उपहार छुट्याए:

14अर्थात् दुई सय बाख्री, बीस वटा बोका, दुई सय भेडी र बीस वटा भेडा,

15तीस वटा दुहुना ऊँट साथमा तिनीहरूका बच्‍चा, चालीस वटा गाई, दश वटा बाछा, बीस वटा गधैनी र दश वटा गधा।

16तिनले ती आ-आफ्नै बथानको हिसाबले आफ्ना सेवकहरूका जिम्मामा सुम्पिदिए, र आफ्ना सेवकहरूलाई भने, “मेरो अगि-अगि जाओ, र ती बथानहरूको बीचमा केही दूरी राख।”

17तिनले पहिलो बथान लिएर जानेलाई निर्देशन दिँदै भने: “जब मेरा दाजु एसावले तिमीलाई भेटेर ‘तँ कसको मानिस होस्? अनि कहाँ जाँदैछस्? र तेरो अगि-अगि लागेका यी पशुहरूका मालिक को हुन्?’ भनी सोधे भने,

18तैँले यसो भन्‍नू, ‘यी तपाईंका सेवक याकोबका हुन्। यी मेरा मालिक एसावलाई पठाइएका उपहार हुन्; अनि उहाँ हाम्रो पछि-पछि आउँदैहुनुहुन्छ।’ ”

19अनि बथानहरूका पछि-पछि लागेका दोस्रो, तेस्रो र अरू सबैलाई पनि तिनले निर्देशन दिँदै भने: “एसावलाई भेटेपछि तिमीहरूले पनि त्यसरी नै भन्‍नू।

20अनि ‘तपाईंका सेवक याकोब हाम्रो पछि-पछि आउँदैहुनुहुन्छ भनेर अवश्य भन्‍नू।’ ” किनकि तिनले सोचेका थिए, “म यी उपहारहरू अगि-अगि पठाएर तिनलाई शान्त तुल्याउनेछु; अनि मैले पछिबाट तिनलाई भेट्दा सायद तिनले मलाई ग्रहण गर्लान्।”

21यसरी याकोबले तिनका उपहारहरू अगि-अगि पठाए, तर तिनी आफैँचाहिँ त्यहीँ छाउनीमै रात बिताए।

22त्यस रात याकोब उठे, र आफ्ना दुई पत्नी, दुई सेविका अनि एघार छोरालाई लिएर यब्बोक नदी तरे।

23याकोबले तिनीहरूलाई नदीपारि पठाए, त्यसपछि तिनले आफूसित भएका अरू सबै कुराहरू पनि पठाइदिए।

24यसरी याकोब एकलै छोडिए; अनि एक जना मानिसले तिनीसित बिहान उज्यालो नभएसम्म कुश्ती लडिरहे।

25जब आफूले याकोबलाई जित्न नसकेको ती मानिसले थाहा पाए, तब तिनले याकोबको कम्मरको जोर्नी छोए; अनि त्यस मानिससित कुश्ती खेल्दा-खेल्दै याकोबको कम्मरको जोर्नी खुस्क्यो।

26तब ती मानिसले भने, “उज्यालो हुन लागेको छ, अब मलाई जान देऊ।” तर याकोबले जवाफ दिए, “अहँ हुँदैन, मलाई आशिष् नदिएसम्म म तपाईंलाई जान दिनेछैनँ।”

27तब ती मानिसले तिनलाई सोधे, “तिम्रो नाम के हो?” तिनले जवाफ दिए, “याकोब।”

28तब ती मानिसले भने, “तिम्रो नाम अब उसो याकोब होइन, तर इस्राएल हुनेछ; किनकि तिमीले परमेश्‍वर र मानिसहरूसँग लडाइँ लडेर जितेका छौ।”

29तब याकोबले बिन्ती गरे, “दया गरी मलाई तपाईंको नाम के हो, बताउनुहोस्।” तर तिनले जवाफ दिए, “तिमी किन मेरो नाम सोध्छौ?” तब ती मानिसले त्यहीँ नै याकोबलाई आशिष् दिए।

30यसकारण याकोबले त्यस ठाउँलाई यसो भनेर पनीएल नाम राखे, “किनकि मैले परमेश्‍वरलाई आमने-सामने देखेको छु, र पनि मेरो ज्यान बाँच्यो।”

31तिनी पनीएलबाट जाँदा सूर्योदय भइसकेको थियो, र आफ्नो कम्मरको जोर्नी खुस्किएको कारण तिनी खोच्याउँदै हिँड्न थाले।

32यसकारण तिनको कम्मरको जोर्नीको मूलनसा छोइएको हुनाले आजसम्म पनि इस्राएलीहरू जनावरको कम्मरमा टाँसिएको नसा खाँदैनन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath