उत्पत्ति 30
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जब राहेलले आफूले याकोबका निम्ति सन्तान जन्माउन नसकेकी देखिन्, तब तिनले आफ्नी दिदीसित डाह गर्न लागिन्। यसकारण तिनले याकोबलाई भनिन्, “मलाई सन्तान दिनुहोस्, नत्रता म मर्नेछु!”
2यो सुनेर याकोब राहेलसित रिसाउँदै भने, “तिम्रो कोख बन्द गरिदिने के म परमेश्वरको स्थानमा छु र?”
3तब तिनले भनिन्, “मेरी सेविका बिल्हा यहीँ छ। त्यसकहाँ जानुहोस्, र त्यसले मेरा निम्ति सन्तान जन्माओस्, र त्यसबाट म पनि एउटा परिवार निर्माण गर्न सकूँ।”
4यसकारण राहेलले आफ्नी सेविका बिल्हालाई याकोबकी पत्नी हुनलाई दिइन्। याकोबले त्यससँग सहवास गरे;
5अनि बिल्हा गर्भवती भई, र याकोबका निम्ति एउटा छोरा जन्माई।
6तब राहेलले भनिन्, “परमेश्वरले न्याय गर्नुभएको छ; उहाँले मेरो बिन्ती सुन्नुभएको छ; र मलाई एउटा छोरा दिनुभएको छ।” यसकारण तिनले उसको नाम दान राखिन्।
7राहेलकी सेविका बिल्हा फेरि गर्भवती भई, र त्यसले याकोबका निम्ति दोस्रो छोरा जन्माई।
8तब राहेलले भनिन्, “मेरी दिदीसित मैले ठूलो सङ्घर्ष गरेकी छु, अब मैले जितेकी छु।” यसकारण तिनले उसको नाम नप्ताली राखिन्।
9जब लेआले आफ्नो कोख बन्द भएको देखिन्, तब तिनले आफ्नी सेविका जिल्पालाई लगेर याकोबकी पत्नी हुनका निम्ति दिइन्।
10लेआकी सेविका जिल्पाले याकोबका निम्ति एउटा छोरा जन्माई।
11तब लेआले भनिन्, “म कत्ति धन्य भएकी छु!” यसकारण तिनले उसको नाम गाद राखिन्।
12लेआकी सेविका जिल्पाले याकोबबाट दोस्रो छोरो जन्माई।
13तब लेआले भनिन्, “म कति प्रसन्न छु! स्त्रीहरूले मलाई सुखी भन्नेछन्।” यसकारण तिनले उसको नाम आशेर राखिन्।
14गहुँ काट्ने बेला रूबेन खेततिर गएका थिए; अनि तिनले विशाखमूल भेट्टाए, जुन तिनले आफ्नी आमा लेआकहाँ ल्याए। राहेलले लेआलाई भनिन्, “मलाई तिम्रा छोराले ल्याएका विशाखमूलबाट केही देऊ।”
15तर लेआले तिनलाई भनिन्, “तैँले मेरो पतिलाई त लगिस्-लगिस्, अब मेरो छोराले ल्याएका विशाखमूल पनि खोस्छेस्?” राहेलले भनिन्, “ठिकै छ, तेरो छोराको विशाखमूलको सट्टामा आज राति उहाँ तँसित सुत्नुहुनेछ।”
16त्यसकारण जब साँझमा याकोब खेतबाट आए; तब लेआ तिनलाई भेट्न गइन् र भनिन्, “तपाईं आज मसँग रात बिताउनैपर्छ। मेरा छोराले ल्याएका विशाखमूल दिएर मैले तपाईंलाई भाडामा लिएकी छु।” यसकारण याकोबले त्यो रात लेआसँग बिताए।
17परमेश्वरले लेआको बिन्ती सुन्नुभयो; अनि तिनी गर्भवती भएर याकोबका निम्ति पाँचौँ छोरा जन्माइन्।
18तब लेआले भनिन्, “मैले मेरी सेविका आफ्नो पतिलाई दिएँ। त्यसैकारण परमेश्वरले मलाई प्रतिफल दिनुभएको छ।” यसकारण तिनले उसको नाम इस्साखार राखिन्।
19लेआ फेरि गर्भवती भइन्, र याकोबबाट छैटौँ छोरा जन्माइन्।
20तब लेआले भनिन्, “परमेश्वरले मलाई एउटा बहुमूल्य उपहार दिनुभएको छ। यस पटक मेरा पतिले मलाई आदर गर्नुहुनेछ; किनकि मैले उहाँका निम्ति छ जना छोरा जन्माएकी छु।” यसकारण तिनले उसको नाम जबूलून राखिन्।
21केही समयपछि तिनले एउटी छोरी जन्माइन्, र तिनको नाम दीना राखिन्।
22तब परमेश्वरले राहेललाई सम्झनुभयो; उहाँले तिनको बिन्ती सुन्नुभयो, र तिनको कोख खोलिदिनुभयो।
23तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्; तब तिनले भनिन्, “परमेश्वरले मेरो अपमान हटाउनुभएको छ।”
24तिनले उसको नाम योसेफ राखिन्, र भनिन्, “याहवेहले मलाई अर्को छोरा पनि थपिदेऊन्।”
25राहेलले योसेफलाई जन्माएको केही समयपछि याकोबले लाबानलाई भने, “अब मलाई बिदा दिनुहोस्, र म आफ्नै देशमा फर्केर जान सकूँ।
26मलाई मेरा पत्नीहरू र सन्तान लैजान दिनुहोस्; जसका लागि मैले तपाईंको सेवा गरेको छु, अब म जान पाऊँ। मैले तपाईंका लागि कति धेरै सेवा गरेको छु, सो तपाईं जान्नुहुन्छ।”
27तर लाबानले तिनलाई भने, “यदि मैले तिमीबाट निगाह प्राप्त गरेको छु भने दया गरी बसिदेऊ; किनकि मैले जोखनाद्वारा जानेको छु, कि तिमीद्वारा नै याहवेहले मलाई आशिष् दिनुभएको छ।”
28तिनले अझ भने, “तिमीलाई थप कति ज्याला चाहिन्छ भन, बरु म त्यो दिउँला।”
29याकोबले तिनलाई भने, “मैले तपाईंका निम्ति कसरी सेवा गरेको छु, र तपाईंका गाईबस्तुहरू कसरी मेरो रेख-देखमा सप्रेका छन्, सो तपाईं जान्नुहुन्छ।
30म आउनुभन्दा अगि तपाईंसित थोरै वस्तुभाउ थिए, तर अहिले बढेर धेरै वृद्धि भएको छ; अनि म आएको समयदेखि याहवेहले तपाईंलाई आशिष् दिनुभएको छ। तर अब मैले आफ्नै परिवारका निम्ति चाहिँ कहिले बन्दोबस्त मिलाऊँ?”
31अनि तिनले सोधे, “त्यसो भए भन, म तिम्रो लागि के दिऊँ?” याकोबले जवाफ दिए, “मलाई केही दिनुपर्दैन; तर यदि तपाईंले मेरा निम्ति यो एउटा कुरा गर्नुभयो भने म तपाईंको बगाल चराएर त्यसको हेरचाह गरिरहनेछु।
32आज मलाई तपाईंका बगालमा गएर टाटेपाटे, थोप्ले भएका भेडाहरू, प्रत्येक कालो रङ्गको भेडाको पाठा, र प्रत्येक थोप्ले र टाटेपाटे बाख्राहरूलाई बगालबाट अलग गर्न दिनुहोस्। यिनीहरू नै मेरा ज्याला हुनेछन्।
33अनि जहिले-जहिले तपाईंले मलाई दिनुभएको ज्याला जाँच्नुहुनेछ, भविष्यमा मेरो इमानदारीताले मेरो साक्षी दिनेछ। मसित भएका कुनै पनि टाटेपाटे वा थोप्ले नभएका बाख्रा अथवा कालो रङ्ग नभएको कुनै पनि भेडाको पाठा फेला पर्यो भने ती सबै चोरी गरिएको ठहरिनेछन्।”
34लाबानले भने, “हुन्छ, तिमीले भनेझैँ होस्।”
35त्यसै दिन लाबानले धर्के अथवा थोप्ले सबै बोकाहरू, र टाटेपाटे अथवा थोप्ला भएका बाख्रीहरू (जिउमा सेता भएका सबै), र सबै काला रङ्गका भेडाका पाठाहरू अलग गरे, र तिनीहरूलाई याकोबका छोराहरूको जिम्मामा दिए।
36अनि तिनले याकोबदेखि तीन दिनको यात्राको दूरी बनाएर बसे; अनि याकोबचाहिँ लाबानका बाँकी बगालहरू हेरचाह गर्दै बसे।
37अनि याकोबले, सल्ला, हाडे-बदाम र चिनारका रूखहरूका भर्खर काटिएका हाँगाहरू लिए; अनि त्यसका बोक्रा ताछेर भित्री सेतो काठ देखिने गरी सेता धर्काहरू बनाए।
38तब तिनले बोक्रा ताछिएका ती हाँगाहरू सबै पानी पिउने डूँडहरूको छेउमा राखिदिए, ताकि पानी पिउन आउँदा बगालहरूले त्यो देखून्; किनभने त्यहाँ ती बगालहरू मिसिन्थे,
39बगालहरू ती हाँगाहरूका सामु मिसिए; अनि तिनीहरूले धर्के, टाटेपाटे र थोप्ले पाठापाठीहरू जन्माए।
40याकोबले बगालका पाठाहरूलाई छुट्याए, तर रहेकोलाई चाहिँ लाबानका धर्के र काला रङ्गका पशुहरूपट्टि फर्काइदिए। यसरी तिनले आफ्ना लागि बेग्लै बगाल बनाए, र तिनीहरूलाई लाबानका पशुहरूसित राखेनन्।
41जहिले-जहिले बलिया पाठीहरूको मिसिने बेला आउँथ्यो, याकोबले तिनीहरू ती हाँगाहरूको सामु मिसिऊन् भनी ती हाँगाहरूलाई पानीको डुँडमा पशुहरूको सामु राखिदिन्थे,
42तर ती बगालहरू कमजोर भएमा तिनले तिनीहरूलाई त्यहाँ राख्दैनथे। यसरी कमजोर पशुहरू लाबानकहाँ र बलियाहरूचाहिँ याकोबकहाँ हुनगए।
43यसरी यी मानिस अति सम्पन्न भए; अनि तिनका ठूला-ठूला बगाल, सेवक-सेविका, ऊँट र गधाहरू भए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath