उत्पत्ति 27
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1इसहाक वृद्ध भइसकेका थिए, र तिनका आँखा पनि देख्न नसक्ने गरी कमजोर भए; तब तिनले आफ्ना जेठा छोरा एसावलाई बोलाएर भने, “मेरो छोरा।” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।”
2इसहाकले भने, “हेर्, म वृद्ध भइसकेको छु; कुन दिन मरिने हो, थाहा छैन।
3त्यसैले अब तेरो हतियार—अर्थात् तेरो काँडको ठोक्रो र धनु लिएर खुला खेतमा जा, र मेरो निम्ति एउटा पशु शिकार गरेर ले।
4मलाई मनपर्ने स्वादिलो भोजन बना, म त्यो खान्छु, र म मर्नुभन्दा अगि तँलाई आशिष् दिन्छु।”
5अब इसहाकले आफ्नो छोरा एसावसित कुरा गर्दैगर्दा रिबेकाले सुनिरहेकी थिइन्; तब एसाव खुला मैदानमा शिकार गरेर ल्याउन भनेर हिँडे।
6त्यसपछि रिबेकाले आफ्ना छोरा याकोबलाई भनिन्, “हेर्, तेरा बुबाले तेरा दाजु एसावलाई यसो भन्दै गर्नुभएको मैले सुनेँ,
7‘मेरो लागि शिकार गरेर ले, र मेरो निम्ति स्वादिष्ठ भोजन तयार गर्, र म मर्नुभन्दा अगि याहवेहको उपस्थितिमा मेरो आशिष् तँलाई दिन्छु।’
8त्यसैले मेरो छोरा, ध्यानपूर्वक सुन्, र म तँलाई जे भन्छु, सो कुरा गर्!
9अब बगाल भएको ठाउँमा जा, र दुई वटा असल पाठा चुनेर ले; ताकि म तेरा बुबाका निम्ति मनपर्ने स्वादिष्ठ भोजन बनाइदिन सकूँ।
10तब त्यो लगेर तेरा बुबालाई खान दे, र मर्नुभन्दा अगि तिनले आफ्नो आशिष् तँलाई देऊन्।”
11याकोबले आफ्नी आमा रिबेकालाई भने, “तर मेरा दाजु एसाव शरीरभरि रौँ नै रौँ भएका मानिस हुन्; अनि मचाहिँ चिल्लो छाला भएको मानिस हुँ।
12मेरा बुबाले मलाई छाम्नुभयो भने के गर्ने? मैले त उहाँलाई छल गरेजस्तो हुन्छ; तब ममाथि आशिष्को साटो श्राप पो आइपर्ला।”
13तिनकी आमाले तिनलाई भनिन्, “मेरो छोरा, त्यो श्राप मैमाथि परोस्; म जे भन्छु, तैँले त्यही गर्; जा र ती मेरा निम्ति लिएर आइज।”
14त्यसपछि याकोब गए, र ती पाठा आफ्नी आमाकहाँ लिएर आए; अनि उनकी आमाले उनका बुबाले मनपर्ने स्वादिष्ठ भोजन तयार पारिदिइन्।
15तब रिबेकाले तिनको घरमा भएका आफ्ना जेठा छोरा एसावका राम्रा-राम्रा लुगा ल्याएर आफ्ना कान्छा छोरा याकोबलाई लगाइदिइन्।
16तिनले याकोबको हात र घाँटीको चिल्लो भागमा पाठाका छालाले ढाकिदिइन्।
17तब आफूले तयार पारेको स्वादिष्ठ भोजन र रोटी तिनले आफ्नो छोरा याकोबको हातमा दिइन्।
18तिनी आफ्ना बुबाकहाँ गएर भने, “बुबा!” तिनले जवाफ दिए, “भन् मेरो छोरा, तँ को होस्?”
19याकोबले आफ्ना बुबालाई भने, “म तपाईंको जेठो छोरा एसाव हुँ। मैले तपाईंले भन्नुभएझैँ गरेको छु। कृपया बस्नुहोस्, र मैले शिकार गरेर ल्याएको भोजन खानुहोस्; र मलाई आफ्नो आशिष् दिनुहोस्।”
20इसहाकले आफ्नो छोरालाई सोधे, “मेरो छोरा, तैँले कसरी यति चाँडो शिकार भेट्टाइस् र?” याकोबले जवाफ दिए, “मलाई तपाईंका याहवेह परमेश्वरले नै सफलता दिनुभयो।”
21तब इसहाकले याकोबलाई भने, “मेरो छोरा, मेरो नजिक आइज, र तँ साँच्चै मेरो छोरा एसाव होस् कि होइनस् भनी म तँलाई छामेर जान्न सकूँ।”
22याकोब आफ्नो बुबा इसहाकको छेवैमा गए; अनि तिनले उनलाई छोएर भने, “सोरचाहिँ याकोबको हो, तर हातहरूचाहिँ एसावकै हुन्।”
23याकोबका हातहरू तिनका दाजु एसावका हातहरूजस्ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्। तब इसहाक याकोबलाई आशिष् दिन अगि बढे।
24इसहाकले तिनलाई सोधे, “के तँ साँच्चै मेरो छोरा एसाव नै होस् त?” तिनले जवाफ दिए, “हो, म उही हुँ।”
25तब तिनले भने, “मेरो छोरा, मलाई तेरो शिकारबाट खानलाई केही दे, र म तँलाई मेरो आशिष् दिन सकूँ।” अनि याकोबले त्यो तिनीकहाँ ल्याए, र तिनले खाए; अनि उनले केही दाखमद्य पनि ल्याए, र तिनले पिए।
26तब उनका बुबा इसहाकले तिनलाई भने, “मेरो छोरा, यता आइज, र मलाई म्वाइँ खा।”
27यसकारण याकोब नजिकै गएर आफ्नो बुबालाई म्वाइँ खाए। जब उनको लुगाको बास्ना इसहाकले थाहा पाए, तब उनलाई आशिष् दिएर भने, “अहो, मेरो छोराको बास्ना त याहवेहले आशिष् दिनुभएको खेतको बास्नाझैँ छ।
28परमेश्वरले तँलाई आकाशको शीतबाट अनि पृथ्वीको उर्वर जमिनबाट— प्रशस्त अन्न र नयाँ दाखमद्य देऊन्।
29राष्ट्रहरूले तेरो सेवा गरून्, अनि मानिसहरू तेरो सामु झुकून्। तेरा दाजुभाइहरूमाथि तेरो प्रभुत्व होस्, अनि तेरी आमाका छोराहरू तेरो सामु झुकून्। तँलाई श्राप दिनेहरूले श्राप पाऊन्, र तँलाई आशिष् दिनेहरूले आशिष् पाऊन्।”
30इसहाकले तिनलाई आशिष् दिइसकेपछि आफ्ना बुबाको उपस्थितिबाट याकोब निस्केका मात्र के थिए, तिनका दाजु एसाव शिकार गरेर भित्र आए।
31तिनले पनि केही स्वादिष्ठ भोजन तयार पारे; अनि आफ्ना बुबाकहाँ ल्याए। त्यसपछि एसावले भने, “बुबा, कृपया उठेर बस्नुहोस्, र मैले शिकार गरेर ल्याएको मासुबाट केही खाएर मलाई आशिष् दिनुहोस्।”
32तब तिनका पिता इसहाकले सोधे, “तँचाहिँ को होस्?” तिनले जवाफ दिए, “म तपाईंको छोरा, तपाईंको जेठा छोरा एसाव हुँ।”
33तब इसहाक जोडसित डरले काँपे, र भने, “त्यसो भए त्योचाहिँ को हो, जसले शिकार गरेर मकहाँ ल्यायो? तँ आउनुभन्दा अगि नै मैले त्यो खाएँ, र त्यसलाई आशिष् दिएँ—अनि निश्चय नै त्यसैले त्यो आशिष् पाउनेछ।”
34जब एसावले आफ्ना बुबाको कुरा सुने, तब तिनी दुःखी भएर डाँको छोडेर रोए, र आफ्ना बुबालाई भने, “बुबा, मलाई पनि आशिष् दिनुहोस्!”
35तर तिनले भने, “तेरो भाइले छल गरेर आयो, र तेरो आशिष् लग्यो।”
36एसावले भने, “त्यसको नाम याकोब भनेर ठिकै राखिएको होइन र? त्यसले मलाई छल गरेको यो दोस्रो पटक हो। त्यसले मेरो ज्येष्ठ अधिकार लियो; अहिले मैले पाउनुपर्ने आशिष् पनि त्यसैले लग्यो!” तब तिनले सोधे, “के तपाईंले मेरा निम्ति केही आशिष् साँचेर राख्नुभएको छैन र?”
37इसहाकले एसावलाई जवाफ दिए, “हेर् मेरो छोरा, मैले उसलाई तेरो मालिक बनाइसकेँ; अनि उसका सबै आफन्तहरूलाई उसका सेवक बनाइसकेको छु; अनि अन्न र दाखमद्यले उसलाई तृप्त पारिसकेको छु। यसकारण मेरो छोरा, म तेरा लागि के नै गर्न सक्छु र?”
38एसावले आफ्ना बुबालाई भने, “बुबा, तपाईंसित एउटै मात्र पनि आशिष् होला नि? मलाई पनि आशिष् दिनुहोस् बुबा!” तब तिनी डाँको छोडेर रोए।
39अनि उनका पिता इसहाकले उनलाई जवाफ दिए, “तेरो बसोबास पृथ्वीको उर्वर जमिनबाट टाढा; माथि आकाशको शीतदेखि टाढा हुनेछ।
40तँ तरवारको भरमा जिउनेछस्, अनि तैँले तेरो भाइको सेवा गर्नेछस्। तर तँ बोझले विचलित भएपछि, तैँले आफ्नो गर्दनबाट त्यसको जुवा भाँचेर फ्याँक्नेछस्।”
41आफ्ना पिताले याकोबलाई आशिष् दिनुभएको कारण एसावले याकोबसित शत्रुता राखे। अनि तिनले मनमनै भने, “मेरा पिताको मृत्युको शोक नजिक छ, त्यसपछि म मेरो भाइ याकोबलाई मार्नेछु।”
42आफ्नो जेठा छोरा एसावले भनेका कुरा जब रिबेकालाई भनियो, तब तिनले आफ्नो कान्छा छोरा याकोबलाई बोलाइपठाइन्, र तिनलाई भनिन्, “तेरो दाजुले तँलाई मार्ने योजना बनाएर बदला लिन खोज्दैछ।
43अब मेरो छोरा, म जे भन्छु त्यो गर्; तँ हारानमा भएका मेरा दाजु लाबानकहाँ भागेर गइहाल्।
44तेरो दाजुको रिस नमरुन्जेल तँ केही दिन त्यहीँ बस्।
45तैँले तेरा दाजुलाई जे गरेको थिइस्, सो कुरा उसले नबिर्सुन्जेल बस्; अनि उसको रिस मरेपछि तँलाई त्यहाँबाट यता आउनू भनी म खबर पठाउनेछु। एकै दिनमा तिमीहरू दुवैलाई म किन गुमाऊँ?”
46तब रिबेकाले इसहाकलाई भनिन्, “म यी हित्ती स्त्रीहरूसित बस्दा-बस्दा वाक्क भइसकेकी छु। यदि याकोबले यस ठाउँका स्त्रीहरूबाट अर्थात् यस्ता हित्ती स्त्रीहरूबाट पत्नी ल्यायो भने म बाँचेर केही अर्थ हुँदैन।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath