ईसाई धर्म
पछाडि

उत्पत्ति 21

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1अब याहवेहले भन्‍नुभएझैँ साराप्रति उहाँ अनुग्रही हुनुभयो; अनि याहवेह आफूले प्रतिज्ञा गर्नुभएझैँ साराका निम्ति गर्नुभयो।

2सारा गर्भवती भइन्, र अब्राहामको वृद्धावस्थामा तिनका निम्ति परमेश्‍वरले प्रतिज्ञा गर्नुभएकै समयमा एउटा छोरा जन्माइन्।

3साराले अब्राहामका निम्ति जन्माएकी छोरालाई तिनले इसहाक नाम दिए।

4जब अब्राहामको छोरा इसहाक आठ दिनका भए, तब परमेश्‍वरको आज्ञाअनुसार तिनले उसको खतना गरे।

5आफ्नो छोरा इसहाकको जन्म हुँदा अब्राहाम सय वर्ष पुगेका थिए।

6साराले भनिन्, “परमेश्‍वरले मलाई हाँस्‍ने तुल्याउनुभएको छ; अनि जजसले मेरो बारेमा यो कुरा सुन्छन्, तिनीहरू पनि सबै मसँगसँगै हाँस्‍नेछन्।”

7अनि तिनले अझ भनिन्, “साराले सन्तानहरूलाई दूध खुवाउनेछिन् भनेर अब्राहामलाई कसले भन्थ्यो होला? र पनि मैले उहाँको वृद्धावस्थामा उहाँका निम्ति एउटा छोरा जन्माएँ।”

8जब बालक इसहाक बढ्दैगयो, तब तिनलाई दूध छुटाइयो; अनि दूध छुटाइएको त्यस दिन अब्राहामले एउटा ठूलो भोज लगाए।

9तर अब्राहामका निम्ति इजिप्टियन हागारले जन्माएकी छोराले आफ्नो छोरा इसहाकलाई ठट्टा गरिरहेको साराले देखिन्।

10यसकारण तिनले अब्राहामलाई भनिन्, “त्यो दासी र त्यसको छोरालाई निकालिदिनुहोस्; किनकि त्यसको छोरो मेरो छोरो इसहाकसित कहिल्यै उत्तराधिकारी हुन सक्दैन।”

11यस कुराले अब्राहामलाई धेरै दुःखित तुल्यायो; किनकि यो कुरा आफ्नो छोरासित सम्बन्धित थियो।

12तर परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “त्यो बालक र तेरी दासीको विषयमा साराले भनेको कुरामा दुःख नमान्। साराले जे भन्छे, त्यो कुरा सुन्; किनकि इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।

13म तेरी दासीको छोरालाई पनि एउटा ठूलो जाति बनाउनेछु; किनकि त्यो पनि तेरै सन्तान हो।”

14तब अब्राहाम बिहानै उठे, र हागारलाई केही भोजन र एक मशक पानी दिए। ती सामानहरू हागारका काँधमा राखिदिएर अब्राहामले त्यो र त्यसको बालकलाई पठाइदिए। अनि त्यो त्यहाँबाट निस्केर गई, र बेर्शेबाका मरुभूमिहुँदो भौँतारिन थाली।

15जब मशकको पानी सकियो; तब त्यसले आफ्नो छोरालाई एउटा झाडीमुनि राखी।

16तब त्यो एक काँड हान्‍ने जतिको दूरीमा गएर बसी, र, “म यो बालक मरेको हेर्न सक्दिनँ” भन्दै जोड-जोडले रुन थाली।

17तब परमेश्‍वरले त्यो बालक रोइरहेको सुन्‍नुभयो; अनि याहवेहका दूतले स्वर्गबाट हागारलाई बोलाएर भने, “हागार, के भयो? नडरा; किनकि त्यो बालक जहाँबाट रोइरहेको छ, त्यहीँबाट परमेश्‍वरले त्यसको सोर सुन्‍नुभएको छ।

18त्यस बालकलाई उठा, र त्यसको हात पक्री; किनकि म त्यसलाई एउटा ठूलो जाति बनाउनेछु।”

19तब परमेश्‍वरले तिनका आँखा खोलिदिनुभयो; अनि त्यसले पानीको एउटा इनार देखी। तब तिनी गई, र मशकमा पानी भरेर त्यस बालकलाई पिउन दिई।

20जब त्यो बालक बढ्दैगयो; परमेश्‍वर त्यससित हुनुहुन्थ्यो। त्यो मरुभूमिमा बस्थ्यो; र एउटा धनुर्धारी बन्यो।

21त्यो पारानको मरुभूमिमा बस्थ्यो, तब त्यसकी आमाले इजिप्टबाट त्यसका निम्ति एउटी पत्नी ल्याइदिई।

22त्यस बेला अबीमेलेक र तिनका सेनाका सेनापति पीकोलले अब्राहामलाई भने, “तपाईंले गरेका सबै कुराहरूमा परमेश्‍वर तपाईंको साथमा हुनुहुन्छ।

23अब परमेश्‍वरको सामु मसित शपथ खानुहोस्; तपाईंले मसित र मेरा छोराछोरीहरू अथवा मेरा सन्तानहरूसित झूटो व्यवहार गर्नुहुनेछैन। तर जसरी मैले तपाईंलाई दया देखाएँ, त्यसरी नै तपाईंले पनि मसँग र अहिले तपाईं विदेशी भएर बस्‍नुभएको देशलाई दया देखाउनुहोस्।”

24अब्राहामले भने, “हुन्छ, म यो शपथ खान्छु।”

25तब अब्राहामले अबीमेलेकका सेवकहरूले अब्राहामका सेवकहरूबाट पानीको कुवा खोसेको विषयमा तिनीसित गुनासो पोखे,

26तर अबीमेलेकले भने, “यो काम कसले गरेको हो, सो म जान्दिनँ। तपाईंले मलाई भन्‍नुभएन, र आज मात्र मैले यस विषयमा सुनेँ।”

27यसकारण अब्राहामले केही भेडा र गाईबस्तुहरू ल्याएर अबीमेलेकलाई दिए; अनि ती दुवैले करार बाँधे।

28अब्राहामले सात वटा भेडाका पाठीहरू बगालबाट अलग पारे,

29अनि अबीमेलेकले अब्राहामलाई सोधे, “तपाईंले यी सात वटा पाठीहरू अलग राख्नुभएको अर्थ के हो?”

30तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भन्‍ने प्रमाण होऊन् भनी यी सात वटा पाठीहरू मेरा हातबाट स्वीकार गर्नुहोस्।”

31यसकारण त्यस ठाउँलाई बेर्शेबा भनियो; किनकि ती दुवैले त्यहाँ शपथ खाएका थिए।

32बेर्शेबामा करार बाँधेपछि अबीमेलेक र तिनका सेनापति पीकोल पलिश्तीहरूको देशमा फर्के।

33अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे, र त्यहाँ तिनले याहवेह अनन्तका परमेश्‍वरको नाममा पुकार गरे।

34अनि अब्राहाम केही समयसम्म पलिश्तीहरूको देशमा बसोबास गरे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath