उत्पत्ति 17
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1अब्राम उनान्सय वर्ष पुग्दा याहवेह तिनीकहाँ प्रकट हुनुभयो र भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ; विश्वासयोग्य र निर्दोष भएर मेरो अगि हिँड्।
2अनि म मेरो करार तेरो र मेरो बीचमा बाँध्नेछु, र तेरा सन्तानहरूलाई अत्यन्तै बढाउनेछु।”
3त्यसपछि अब्राम घोप्टो परे; तब परमेश्वरले तिनलाई भन्नुभयो,
4“हेर्, मेरो करार तँसित यही हुनेछ, तँ धेरै जातिहरूका पिता हुनेछस्।
5अब उसो तँलाई अब्राम भनिनेछैन; तर तेरो नाम अब्राहाम हुनेछ; किनकि मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।
6म तँलाई धेरै फलवन्त बनाउनेछु; अनि तँबाट नै जाति-जातिहरू बनाउनेछु, र तँबाट राजाहरू निस्कनेछन्।
7म मेरो करारलाई तेरो र मेरो, र तँपछिका तेरा सन्तानहरूको बीचमा आउने पुस्ताका निम्ति अनन्तको करारको रूपमा स्थापित गर्नेछु। अनि म तँ र तँपछि आउने तेरो सन्तानका परमेश्वर हुनेछु।
8तँ र तेरा पछिका सन्तानहरूलाई अहिले तँ प्रवासी भएर बसेको सम्पूर्ण कनान देश, अनन्तको सम्पत्तिको रूपमा दिनेछु; र म तिनीहरूका परमेश्वर हुनेछु।”
9तब परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तेरो विषयमा चाहिँ, तँ र तँपछिका तेरा सन्तानहरूले आउने पुस्तौँ-पुस्तासम्म मेरो करार पालन गर्नुपर्छ।
10मेरो र तेरो, साथै तँपछिका तेरा सन्तानहरूसित मेरो करार यही हो, अर्थात् तिमीहरूले पालन गर्नुपर्ने करार: तिमीहरूका प्रत्येक पुरुषको खतना हुनुपर्छ।
11तिमीहरूका खलडीको खतना हुनुपर्छ, र योचाहिँ तँसित बाँधिएको मेरो करारको चिन्ह हुनेछ।
12अनि आउने पुस्तौँ-पुस्तासम्म तिमीहरूको बीचमा आठ दिन भएको प्रत्येक पुरुषको खतना हुनैपर्छ। तेरा घरानामा जन्मेका अथवा विदेशीहरूबाट रुपियाँपैसा दिएर किनिएका—जो तेरा आफ्नै सन्तान होइनन्,
13चाहे तेरा घरानामा जन्मेका होऊन्, अथवा तेरा रुपियाँपैसाले किनेका होऊन्, तिनीहरू सबैको खतना हुनैपर्छ। तेरो शरीरमा गरिएको मेरो करार अनन्तको करार हुनेछ।
14खतना नगरिएको कुनै पनि पुरुष, जसको शरीरमा खलडीको खतना भएको छैन, त्यो व्यक्ति आफ्ना जातिहरूबाट बहिष्कृत गरिनेछ; किनकि त्यसले मेरो करार भङ्ग गरेको छ।”
15परमेश्वरले अब्राहामलाई यो पनि भन्नुभयो, “तेरी पत्नी साराईको विषयमा चाहिँ, तैँले त्यसलाई अब उसो साराई भनेर नबोलाउनू; तर त्यसको नाम सारा हुनेछ।
16म त्यसलाई आशिष् दिनेछु, र म निश्चय तँलाई त्यसबाट एउटा छोरा दिनेछु। म त्यसलाई आशिष् दिनेछु, र त्यो धेरै जातिकी आमा हुनेछे; त्यसबाट जाति-जातिका राजाहरू उत्पन्न हुनेछन्।”
17तब अब्राहाम भुइँमा घोप्टो परे; अनि हाँसेर मनमनै भने, “के एक सय वर्ष पुगेको मानिसको पनि छोरा जन्मला र? के नब्बे वर्ष पुगेकी साराले पनि बच्चा जन्माउलिन् र?”
18अनि अब्राहामले परमेश्वरलाई भने, “इश्माएल तपाईंको आशिष्मुनि बाँच्छ भने पनि असल हुनेछ।”
19तब परमेश्वरले भन्नुभयो, “तेरी पत्नी साराले तेरो निम्ति एउटा छोरा जन्माउनेछे; र तैँले त्यसको नाम इसहाक राख्नू। म त्यससित र त्यसपछिका सन्तानका निम्ति मेरो करार अनन्तको करारको रूपमा स्थापित गर्नेछु।
20अनि इश्माएलको विषयमा चाहिँ मैले तेरो कुरा सुनेको छु; हेर्, म निश्चय नै त्यसलाई आशिष् दिनेछु; म त्यसलाई फलवन्त बनाउनेछु; अनि त्यसलाई संख्यामा असाध्यै बढाउनेछु। त्यो बाह्र शासकहरूका पिता हुनेछ, र म त्यसलाई एउटा महान् जाति बनाउनेछु।
21तर मेरो करारचाहिँ म इसहाकसँग नै स्थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तेरो निम्ति जन्माउनेछे।”
22परमेश्वर अब्राहामसित कुरा गरिसक्नुभएपछि तिनीबाट गइहाल्नुभयो।
23त्यही दिन नै परमेश्वरले तिनलाई भन्नुभएझैँ, अब्राहामले आफ्नो छोरा इश्माएल र आफ्ना घरानामा जन्मेका सबै, र आफ्नो रुपियाँपैसाले किनेका हरेक पुरुषको खलडीको खतना गरे।
24अब्राहामको खलडीको खतना हुँदा तिनी उनान्सय वर्षका थिए।
25अनि तिनको छोरा इश्माएलको खलडीको खतना हुँदा त्यो तेह्र वर्षको थियो।
26अब्राहाम र तिनको छोरा इश्माएलको खतना पनि त्यही दिनमै गरियो।
27अनि अब्राहामसँगै तिनका घरानाका, तिनका घरानामा जन्मेका, अथवा बिदेशीबाट किनिएका प्रत्येक पुरुषको खतना भयो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath