ईसाई धर्म
पछाडि

गलाती 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1चौध वर्षपछि बारनाबाससँग म फेरि यरूशलेम गएँ, र यस पटक मैले तीतसलाई पनि सँगै लगेँ।

2परमेश्‍वरको प्रकाश पाएअनुसार म त्यहाँ गएँ। मैले एकान्तमा मण्डलीका प्रतिष्‍ठित अगुवाहरूलाई भेट गरी गैरयहूदीहरूलाई सुनाएको सुसमाचार तिनीहरूका अगि प्रस्तुत गरेँ। मैले जुन दौड दौडेको थिएँ र दौडिरहेको छु, त्यो व्यर्थमा नहोस् भनेर म निश्‍चित हुन चाहन्थेँ।

3तर तीतस, जो मसँग थिए, उनी ग्रीक भए तापनि कसैले उनलाई खतनाको लागि कर गरेनन्।

4खतनाको बारेमा कुरा उठेको थियो; किनकि कति झूटा विश्‍वासी भाइहरू हाम्रो समूहभित्र पसेर ख्रीष्‍ट येशूमा भएको हाम्रो स्वतन्त्रताको जासुसी गरी हामीलाई यहूदी परम्पराको दास बनाउन चाहन्थे।

5तिनीहरूका अगि हामी एकैक्षण पनि झुकेनौँ, ताकि तिमीहरूका लागि सुसमाचारको सत्यता सुरक्षित रहोस्।

6तर ती मण्डलीका प्रतिष्‍ठित अगुवाहरूले मेरो सन्देशमा केही कुरा थपेनन्। तिनीहरू जोसुकै भए तापनि मलाई केही फरक पर्दैन; किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न।

7तर यसको विपरीत तिनीहरूले यो बुझे, जसरी यहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा पत्रुसलाई दिइएको थियो, त्यसरी नै गैरयहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा मलाई दिइएको छ।

8किनकि परमेश्‍वरले यहूदीहरूका निम्ति प्रेरितको रूपमा पत्रुससँग जसरी काम गरिरहनुभएको थियो, त्यसरी नै गैरयहूदीहरूको प्रेरितको रूपमा ममा पनि काम गर्नुभयो।

9मण्डलीका खम्बाहरू कहलिएका याकोब, पत्रुस र यूहन्‍नाले मलाई दिइएको अनुग्रहबारे थाहा पाएपछि बारनाबास र मलाई सङ्गतिको दाहिने हात बनाए। तब उनीहरूले हामीचाहिँ गैरयहूदीहरूकहाँ जान र उनीहरूचाहिँ यहूदीहरूकहाँ जान भनी निश्‍चय गरे।

10तिनीहरूले मलाई यति भनेका थिए, कि हामीले गरिबहरूलाई सम्झिनुपर्छ, जुन कुरा गर्न म पहिलेदेखि नै अति उत्सुक थिएँ।

11जब पत्रुस एन्टिओखियामा आए, तब मैले खुल्‍लमखुल्‍ला उनको विरोध गरेँ, किनकि उनी एकदमै दोषी थिए।

12याकोबले पठाएका मानिसहरू आइपुग्नुअगि उनी गैरयहूदी विश्‍वासीहरूसँगै खाने गर्दथे। तर जब उनीहरू आइपुगे, तब उनी गैरयहूदी विश्‍वासीहरूबाट अलग भए; किनकि उनी खतना भएकाहरूसँग डराएका थिए।

13उनको यस पाखण्डीपनासँग अरू यहूदीहरू पनि सहमत भए। यहाँसम्म कि तिनीहरूका पाखण्डीपनाले गर्दा बारनाबास पनि भड्केर गए।

14जब मैले तिनीहरूलाई सुसमाचारको सत्यताअनुसार व्यवहार नगरेको देखेँ, तब मैले पत्रुसलाई सबैको सामु खुल्‍लमखुल्‍ला भनेँ, “तपाईं यहूदी हुनुहुन्छ, तापनि तपाईं यहूदी रीतिअनुसार नचलेर गैरयहूदी रीतिअनुसार जिउनुहुन्छ। तब कसरी तपाईंले गैरयहूदीहरूलाई यहूदी परम्परालाई पछ्याउन कर लगाउनुहुन्छ?

15“हामी जन्मैले यहूदी हौँ, र गैरयहूदीझैँ पापीहरू होइनौँ।

16हामी यो जान्दछौँ, कि मानिस व्यवस्थाको कामलाई पालन गरेर धर्मी ठहरिँदैन; तर येशू ख्रीष्‍टमा विश्‍वास गरेर मात्र धर्मी ठहरिन्छ। यसकारण हामीले पनि ख्रीष्‍ट येशूमा विश्‍वास राखेका छौँ। हामी व्यवस्थाको पालन गरेर होइन, तर येशू ख्रीष्‍टमा विश्‍वास गरेर धर्मी ठहरिएकाछौँ; किनकि व्यवस्थाका कामहरू पालन गरेर कोही पनि धर्मी ठहरिन सक्दैन।

17“तर यदि हामी यहूदीहरू ख्रीष्‍टद्वारा धर्मी ठहरिन खोज्दछौँ भने हामीहरू पनि पापीहरू नै हौँ भन्‍ने बुझिन्छ, के यसको मतलब येशू ख्रीष्‍टले पापलाई प्रोत्साहन दिनुहुन्छ त? अहँ, होइन!

18यदि मैले जे भत्काएको छु, मैले त्यो फेरि बनाउँछु भने म आफैँ व्यवस्था भङ्ग गर्ने पापी बन्छु।

19“किनकि परमेश्‍वरको निम्ति जिउन सकूँ भनेर म व्यवस्थाद्वारा व्यवस्थाका निम्ति मरेको छु।

20म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु र अब उप्रान्त जिउने म होइन, तर ख्रीष्‍ट ममा जिउनुहुन्छ। अहिले म शरीरमा जुन जीवन जिउँछु, त्यो म परमेश्‍वरको पुत्रमा राखेको विश्‍वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो।

21म परमेश्‍वरको अनुग्रहलाई व्यर्थ तुल्याउन चाहन्‍नँ; किनकि यदि व्यवस्थाद्वारा धार्मिकता हासिल गर्न सक्ने भए, ख्रीष्‍ट मर्नुभएको व्यर्थ हुन्छ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath