ईसाई धर्म
पछाडि

इजकिएल 7

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहको वचन मकहाँ आयो:

2“हे मानिसको छोरा, प्रभु याहवेह इस्राएल देशलाई यसो भन्‍नुहुन्छ: “ ‘अन्त्य! देशका चारै कुनामाथि अन्त्य आइपुगेको छ!

3अब अन्त्य तँमाथि छ, र म आफ्नो रिस तेरो विरुद्धमा ल्याउनेछु। म तेरा चालअनुसार तेरो न्याय गर्नेछु; अनि तेरा सबै घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु।

4म तँलाई दयाको नजरले हेर्नेछैनँ; म तँलाई छोड्नेछैनँ। म निश्‍चय नै तेरा चाल र तेरा बीचमा भएका घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु। “ ‘तब तैँले जान्‍नेछस्, कि म नै याहवेह हुँ।’

5“प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘विपत्ति! कहिल्यै नसुनिएको विपत्ति! हेर्, यो विपत्ति आउँदैछ!

6अन्त्य आएको छ! अन्त्य आएको छ! यो तेरो विरुद्धमा आफैँ सुरिइएको छ। हेर्, त्यो आउँदैछ!

7यो देशमा बसोबास गर्नेहरू, तिमीहरूमाथि सर्वनाश आएको छ। समय आएको छ! दिन नजिकै छ! पर्वतहरूमा आनन्द होइन, तर त्रास छ।

8मैले मेरो क्रोध तँमाथि खन्याउन लागेको छु, र तेरो विरुद्धमा मेरो रिस पोखाउन आँटेको छु। म तेरा चालअनुसार तेरो न्याय गर्नेछु, र तेरा सबै घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु।

9म तँलाई दयाको नजरले हेर्नेछैनँ; म तँलाई छोड्नेछैनँ। म तेरा चालअनुसार र तेरा बीचमा भएका घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु। “ ‘तब तैँले जान्‍नेछस्, कि तँलाई प्रहार गर्ने याहवेह म नै हुँ।

10“ ‘हेर्, त्यो दिन! हेर्, त्यो आएको छ! सर्वनाश निस्केर आएको छ; लट्ठीमा टुसा पलाएको छ, अहङ्कार फक्रेको छ!

11दुष्‍टलाई दण्ड दिनलाई, लट्ठी बनेको छ; कुनै पनि मानिस छोडिनेछैन; त्यस भीडका कोही पनि रहनेछैन। तिनीहरूका धनसम्पत्ति, कुनै पनि बहुमूल्य कुरा, केही पनि छोडिनेछैन।

12त्यो समय आइपुगेको छ! त्यो दिन आइपुगेको छ! किन्‍नेले हर्ष नमनाओस्, न त बेच्नेले शोक गरोस्; किनभने मेरो क्रोध सारा भीडमाथि परेको छ।

13बेच्ने र किन्‍ने दुवै बाँचुन्जेल— बेच्नेले बेचेको जमिन फेरि पाउन सक्दैन। किनकि सम्पूर्ण भीडहरूका निम्ति न्यायको दर्शन बदलिनेछैन। तिनीहरूका पापको कारण तिनीहरूमध्ये एउटैले पनि आफ्नो जीवन जोगाइराख्न सक्दैनन्।

14“ ‘तिनीहरूले तुरही फुकेका छन्; तिनीहरूले सबै कुरा तयार गरेर राखेका छन्, तर कोही पनि लडाइँमा जानेछैनन्; किनकि मेरो क्रोध सम्पूर्ण भीडमाथि नै परेको छ।

15बाहिर तरवार छ; भित्र रूढी र अनिकाल छन्। गाउँमा भएकाहरू तरवारद्वारा मर्नेछन्; सहरभित्र हुनेहरू रूढी र अनिकालले मर्नेछन्।

16बाँचेका र उम्केकाहरू पहाडहरूतिर भाग्नेछन्। बेँसीका ढुकुरहरूझैँ, तिनीहरू सबैले आ-आफ्ना पापका निम्ति विलाप गर्दै रहनेछन्।

17हरेकका हात डरले शिथिल हुनेछन्; हरेकका खुट्टा पिसाबले भिज्नेछन्!

18तिनीहरूले भाङ्ग्रा लगाउनेछन्, र तिनीहरूले त्रासको लुगा पहिरनेछन्। तिनीहरू सबैका अनुहार शर्मले ढाकिनेछन्; अनि तिनीहरू सबैका कपाल खौराइनेछन्।

19“ ‘तिनीहरूले आफ्ना चाँदी सडकहरूमा फ्याँकिदिनेछन्, र तिनीहरूका सुन अशुद्ध कुरो हुनेछ। याहवेहको क्रोधको दिनमा तिनीहरूका सुनचाँदीले तिनीहरूलाई बचाउन सक्नेछैन। सुनचाँदीले तिनीहरूका भोक मेटाउनेछैन अथवा तिनीहरूको पेट भर्नेछैन; किनकि सुनचाँदी नै तिनीहरूका पापको निम्ति ठक्‍करको कारण बनेको थियो।

20तिनीहरूले आफ्ना सुन्दर गहनामा घमण्ड गरे, र त्यसलाई तिनीहरूका घृणित मूर्तिहरू बनाउन प्रयोग गरे। तिनीहरूले अशुद्ध आकृतिहरू बनाउनमा प्रयोग गरे; यसकारण म ती कुराहरूलाई तिनीहरूका निम्ति अशुद्ध बनाइदिनेछु।

21म तिनीहरूका धनसम्पत्ति विदेशीहरूलाई लुटको सामानझैँ दिनेछु, पृथ्वीका सबैभन्दा दुष्‍टका हातमा दिनेछु, उनीहरूले ती धनसम्पत्तिलाई अपवित्र पार्नेछन्।

22म आफ्नो अनुहार मानिसहरूदेखि फर्काउनेछु, र डाँकुहरूले मेरो बहुमूल्य ठाउँलाई अशुद्ध पारिदिनेछन्। डाँकुहरू यरूशलेमको भवनभित्र पस्‍नेछन्, र त्यसलाई अशुद्ध पारिदिनेछन्।

23“ ‘साङ्लाहरू तयार गर्! किनकि देश रक्तपातले भरिएको छ, र सहर हिंसाले भरिएको छ।

24जातिहरूमध्ये सबैभन्दा दुष्‍ट मानिसहरूलाई म इस्राएलीहरूका घरहरू कब्जा गर्नलाई ल्याउनेछु। म तिनीहरूका बलिया योद्धाहरूका घमण्डको अन्त्य गरिदिनेछु; अनि तिनीहरूका पवित्र ठाउँहरू अशुद्ध पारिनेछन्।

25जब तिनीहरू त्रसित हुनेछन्, तब तिनीहरूले व्यर्थमा शान्ति खोज्नेछन्, तर सुरक्षित ठाउँ कहीँ पनि पाउनेछैनन्।

26विपत्तिमाथि विपत्ति आउनेछ; अनि हल्‍लामाथि हल्‍ला आउनेछ। तिनीहरू अगमवक्ताबाट दर्शनको खोज गर्नेछन्; तर पुजारीबाट शिक्षा लोप भइजानेछन्, र प्रधानहरूका परामर्शको पनि अन्त्य हुनेछ।

27राजाले शोक गर्नेछन्, राजकुमारलाई निराशाले ढाक्नेछ, र देशका मानिसहरूका हातहरू त्रासले थरथर काम्नेछन्। म तिनीहरूका चालअनुसार तिनीहरूसित व्यवहार गर्नेछु, र म तिनीहरूकै स्तरअनुसार तिनीहरूको न्याय गर्नेछु। “ ‘तब म नै याहवेह हुँ भनी तिनीहरूले जान्‍नेछन्।’ ”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath