इजकिएल 44
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यसपछि ती मानिसले मलाई बाहिरी पवित्रस्थानको पूर्वपट्टि फर्केको बाहिरी मूलढोकामा ल्याए; त्यो मूलढोका बन्द थियो।
2याहवेहले मलाई भन्नुभयो, “यो मूलढोका बन्द रहनेछ। यो कहिल्यै खोलिनेछैन; यसबाट भित्र कोही पनि प्रवेश गर्न पाउनेछैन। यसकारण यो बन्द नै रहनेछ; किनभने याहवेह, इस्राएलका परमेश्वर यसबाट भएर भित्र प्रवेश गर्नुभएको छ।
3राजकुमार आफैँ मात्र याहवेहको उपस्थितिमा खानलाई मूलढोकाभित्र पस्न सक्छन्। ऊ मूलढोकाको दलानको बाटो भएर प्रवेश गर्नुपर्छ, र त्यही बाटो भएर बाहिर निस्कनुपर्छ।”
4तब ती मानिसले मलाई उत्तरी मूलढोकाबाट मन्दिरको अगाडि ल्याए; अनि मैले हेरेँ, र याहवेहको महिमाले मन्दिर भरिएको देखेँ, र म भुइँमा घोप्टो परेँ।
5तब याहवेहले मलाई भन्नुभयो, “हे मानिसको छोरा, होसियारीसाथ हेर्, ध्यानपूर्वक सुन् र याहवेहको मन्दिरका नियमहरू र निर्देशनहरू सम्बन्धी मैले तँलाई भनेका सबै कुरामा ध्यान दे। मन्दिरको प्रवेशद्वार र पवित्रस्थानका बाहिर निस्कने ढोकाहरूमा ध्यान दिएर हेर्।
6बागी इस्राएललाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: हे इस्राएलका मानिसहरू हो, तिमीहरूका घिनलाग्दा कामहरू अति भयो!
7तिमीहरूका अरू सबै घिनलाग्दा कामहरूबाहेक, तिमीहरूले हृदय र शरीरमा खतना नभएका विदेशीहरूलाई मेरो पवित्रस्थानभित्र ल्याएका छौ। तिमीहरूले मलाई भोजन, बोसो र रगत चढाउँदा मेरो मन्दिरलाई अपवित्र तुल्याएका छौ; अनि तिमीहरूले मेरो करार भङ्ग गरेका छौ।
8मेरा पवित्र थोकहरूको बारेमा आफ्ना कर्तव्य पूरा गर्नुको सट्टा, तिमीहरूले मेरो पवित्रस्थानको जिम्मा अरूलाई दिएका छौ।
9प्रभु याहवेह यसो भन्नुहुन्छ: हृदय र शरीरमा खतना नभएको कुनै पनि विदेशी मेरो पवित्रस्थानमा पस्नुहुँदैन। इस्राएलीहरूका बीचमा बस्ने विदेशीहरूले पनि पस्न पाउनेछैन।
10“ ‘जब इस्राएलले आफ्नो बाटो बिराएको थिए, तब ती लेवीहरू जो मबाट टाढा गए; तिनीहरू मूर्तिहरूका पछि लागेर मबाट तर्किएका थिए, अब ती लेवीहरूले आफ्ना पापको फल भोग्नैपर्छ।
11तिनीहरूले मेरो पवित्रस्थानमा सेवा गर्न सक्छन्, र मन्दिरका मूलढोकाहरूका जिम्मा लिएर यसमा सेवा गर्न सक्छन्। तिनीहरूले मानिसहरूका निम्ति होमबलि र बलिदानहरूका पशुहरू मार्न सक्छन्; अनि मानिसहरूका सामु उभिएर तिनीहरूको सेवा गर्न सक्छन्।
12तर तिनीहरूले तिनीहरूका मूर्तिहरूको उपस्थितिमा तिनीहरूको सामु सेवा गरे; अनि इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए। यसैकारण तिनीहरूले आफ्ना पापको फल भोग्नैपर्छ भनेर मैले हात उठाएर शपथ खाएको छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
13तिनीहरू पुजारीको रूपमा मेरो सेवा गर्न नजिक आउन पाउनेछैनन्, न त तिनीहरू मेरा कुनै पनि पवित्र चीजहरू अथवा मेरा महा-पवित्र भेटीहरूका छेउमा आउन पाउनेछन्। तिनीहरूले आफ्ना घिनलाग्दा कामहरूको शर्म भोग्नुपर्नेछ।
14तापनि म तिनीहरूलाई मन्दिरको सेवा र त्यहाँ गरिनुपर्ने सबै कामको जिम्मेवारीको निम्ति नियुक्त गर्नेछु।
15“ ‘तर लेवी पुजारीहरू, जो सादोकका सन्तानहरू हुन्; इस्राएलीहरू मबाट बरालिएर टाढा गए तापनि तिनीहरूले मेरो पवित्रस्थानको सुरक्षा गरे। यसैले अब तिनीहरूचाहिँ सेवा गर्नलाई मेरो सामु पवित्रस्थानको नजिक आउनेछन्; मेरो सामु बोसो र रगतको बलिदानहरू चढाउनका निम्ति तिनीहरू खडा हुनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
16तिनीहरू मात्र मेरो पवित्रस्थानभित्र प्रवेश गर्नेछन्; अनि तिनीहरू नै मेरो सेवा गर्न टेबुलको नजिक आउनेछन्, र मेरो सेवाको निम्ति गर्नुपर्ने सबै विधिहरू पूरा गर्नेछन्।
17“ ‘तिनीहरू भित्री चोकको ढोकामा प्रवेश गर्दा तिनीहरूले सुतीका कपडा लगाउनुपर्नेछ; तिनीहरूले भित्री चोकका मूलढोकाहरूमा अथवा मन्दिरभित्र सेवा गर्दा कुनै पनि ऊनीको कपडा लगाउनुहुँदैन।
18तिनीहरूले आफ्ना शिरमा सुती फेटा र तिनीहरूका कम्मरमा सुतीको भित्री कपडा लगाउनुपर्छ। तिनीहरूले पसिना आउने किसिमको कुनै पनि कपडा लगाउनुहुँदैन।
19अनि जब तिनीहरू मानिसहरू भएको बाहिरी चोकमा निस्कन्छन्, तब तिनीहरूले सेवा गर्दा लगाउने कपडा तिनीहरूले फुकाल्नुपर्छ, र ती पवित्र कोठाहरूमा छोडिराख्नुपर्छ; अनि अन्य कपडा लगाउनुपर्छ, ताकि तिनीहरूले आफ्ना पवित्र वस्त्रद्वारा मानिसहरूलाई पवित्र नपारून्।
20“ ‘तिनीहरूले तिनीहरूका केश नखौरून्, अथवा तिनीहरूका केश बढेर लामो हुन नदिऊन्, तर तिनीहरूले आफ्ना शिरका केशलाई छोटो राख्नुपर्छ।
21पुजारी भित्री चोकभित्र पस्दा कुनै पनि दाखमद्य पिउनुहुँदैन।
22तिनीहरूले विधवा अथवा सम्बन्ध-विच्छेद भएका स्त्रीहरूलाई विवाह गर्नुहुँदैन; तिनीहरूले इस्राएली वंशका कन्याहरू, अथवा पुजारीहरूका विधवाहरूसँग मात्र विवाह गर्न सक्छन्।
23तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र सामान्य कुराको भिन्नता सिकाउनुपर्छ; अनि शुद्ध र अशुद्धको भिन्नता छुट्टाउन देखाउनुपर्छ।
24“ ‘कुनै पनि विवादमा पुजारीले न्यायकर्ताको सेवा गर्नुपर्छ र तिनीहरूले मेरा धार्मिक नियमअनुसार फैसला गर्नुपर्छ। तिनीहरूले मेरा सबै तोकिएका चाडहरूका निम्ति मेरा व्यवस्थाहरू र उर्दीहरू पालन गर्नुपर्छ; अनि तिनीहरूले मेरा शब्बाथ दिनलाई पवित्र राख्नुपर्छ।
25“ ‘मरेको मानिसको नजिक गएर पुजारीहरूले आफूलाई अपवित्र पार्नुहुँदैन; तरै पनि यदि त्यो मरेको व्यक्ति त्यसको बुबा वा आमा, छोरा वा छोरी, दाजुभाइ वा विवाह नभएकी दिदीबहिनी रहेछ भने तिनीहरूले आफूलाई अशुद्ध पार्न सक्छन्।
26त्यो शुद्ध भएपछि त्यसले सात दिनसम्म पर्खनुपर्छ।
27त्यो पवित्रस्थानमा सेवा गर्नलाई पवित्रस्थानको भित्री चोकमा गएको दिन त्यसले आफ्नो निम्ति एउटा पाप शुद्धीकरण बलि चढाउनुपर्छ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
28“ ‘पुजारीहरूका पैतृक सम्पत्ति म नै हुँ। तिमीहरूले तिनीहरूलाई इस्राएलमा कुनै पनि सम्पत्ति नदिनू; तिनीहरूका सम्पत्तिको भाग म नै हुनेछु।
29तिनीहरूले अन्नबलि, पाप शुद्धीकरण बलि र दोषबलि खानेछन्; अनि इस्राएलमा याहवेहलाई चढाइएको जेसुकै चीजहरू पनि तिनीहरूका हुनेछन्।
30सबै पहिलो फलहरूको उत्तम भाग र विशेष भेटीहरूका उत्तम भाग पुजारीहरूकै हुनेछ। तिमीहरूको पहिलो पिठोको भाग पुजारीहरूलाई दिनू, ताकि तिमीहरूको घरानामा आशिष् रहिरहून्।
31पुजारीहरूले आफैँ मरेको अथवा जङ्गली पशुहरूले मारेका, कुनै पनि चरा वा पशुको मासु खानुहुँदैन।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath