इजकिएल 43
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यसपछि ती मानिसले मलाई पूर्वतिर फर्केको मूलढोकामा ल्याए;
2अनि मैले इस्राएलका परमेश्वरको महिमा पूर्व दिशाबाट आइरहेको देखेँ। उहाँको सोरचाहिँ बेगसित बहने पानीको गर्जनजस्तै थियो; अनि पृथ्वी उहाँको महिमाले चम्किरहेको थियो।
3मैले देखेको दर्शन सहरलाई नाश गर्न आउनुहुँदा देखेको दर्शनजस्तै थियो, जुन मैले कबार नदीमा देखेको ती दर्शनहरूजस्ता थिए; अनि म भुइँमा घोप्टो परेर लडेँ।
4याहवेहको महिमा पूर्वपट्टि फर्केको मूलढोकाबाट मन्दिरभित्र पस्यो।
5तब आत्माले मलाई माथि उठाउनुभयो, र मलाई भित्री चोकमा ल्याउनुभयो; अनि याहवेहको महिमाले त्यस मन्दिरलाई भरिदियो।
6जब ती मानिस मेरो छेउमा उभिरहेका थिए, तब मन्दिरभित्रबाट मसँग कोही बोलिरहेको मैले सुनेँ।
7उहाँले भन्नुभयो: “हे मानिसको छोरा, यो मेरो सिंहासनको ठाउँ हो र मेरा पैतालाका निम्ति पाउदान हो। म सदासर्वदा इस्राएलीहरूको बीचमा यसै ठाउँमा बस्नेछु। इस्राएलका मानिसहरूले फेरि कहिल्यै मेरो पवित्र नाम अपवित्र गर्नेछैनन्, न तिनीहरूले, न त तिनीहरूका राजाहरूले—आफ्ना वेश्यावृत्तिद्वारा र तिनीहरूका आफ्ना राजाहरूका मृत्युको समयमा तिनीहरूका दाह संस्कारको बलिदानद्वारा मेरो पवित्र नामलाई फेरि कहिल्यै अपवित्र पार्नेछैनन्।
8जब तिनीहरूले आफ्ना सँघार मेरो सँघारको छेवैमा र आफ्ना ढोकाका चौकसहरू मेरा चौकसहरूका छेवैमा तिनीहरूको र मेरो बीचमा एउटा पर्खाल मात्र राखेर बनाए, तब तिनीहरूले मेरो पवित्र नामलाई आफ्ना घिनलाग्दा कामहरूद्वारा अपवित्र पारे। यसकारण मैले मेरो रिसमा तिनीहरूलाई सर्वनाश गरेँ।
9अब तिनीहरूले मबाट तिनीहरूका वेश्यावृत्ति दूर गरून्, र आफ्ना राजाहरूका मृत्युको समयमा तिनीहरूका दाह संस्कारको बलिदानलाई मबाट हटाइदिऊन्, तब म तिनीहरूसित सदासर्वदा रहनेछु।
10“हे मानिसको छोरा, इस्राएलका मानिसहरूलाई मन्दिरको वर्णन गरिदे, र तिनीहरू आफ्ना पापहरूका निम्ति लज्जित होऊन्। तिनीहरूले मन्दिरको सिद्धतालाई राम्ररी विचार गरून्;
11अनि यदि तिनीहरू आफूले गरेका सबै कामहरूप्रति लज्जित भए भने तिनीहरूलाई मन्दिरको नमुना—त्यसको लागि रूपरेखा, त्यसका बाहिर निस्कने ढोका र प्रवेशद्वारहरू—त्यसका सम्पूर्ण ढाँचा र त्यसका सबै नियम र विधिहरू बताइदे। यी कुराहरू तिनीहरूका सामु लेख्, ताकि तिनीहरूले मन्दिरका ढाँचालाई इमानदार भएर त्यसका सबै नियम विधिहरू पालन गरून्।
12“मन्दिरको नियम यही हो: पर्वतको टुप्पोमा भएका चारैतिरका इलाका महा-पवित्र हुनेछन्। मन्दिरको नियम यही हो।
13“मन्दिरका नापहरू लामो हातको नापअनुसार क्यूबिट लम्बाइ यस्तै हुन्: अर्थात् एक क्यूबिट र चार औँला; त्यसको आधार एक क्यूबिट गहिरो र एक क्यूबिट चौडा होऊन्, जसको किनारको चारैतिर एघार स्पान घेरा होस्। अनि वेदीको उचाइ यस्तो होस्:
14जमिनको जगदेखि तल्लो किनारसम्म त्यो दुई क्यूबिट अग्लो र दुई क्यूबिट चौडा होस्। वेदीको वरिपरि सबैभन्दा तलको किनारदेखि माथिल्लो किनारसम्म त्यो चार क्यूबिट अग्लो र एक क्यूबिट चौडा होस्।
15त्यसभन्दा माथि वेदीको अगेना वर्गाकार आकारको जहाँ बलिहरू जलाइन्छ, त्यो चार क्यूबिट अग्लो होस्, र अगेनाबाट चार वटा सिङहरू मास्तिर निस्केका होऊन्।
16वेदीको अगेना वर्गाकार, बाह्र क्यूबिट लामो र बाह्र क्यूबिट चौडा होस्।
17माथिल्लो किनार पनि वर्गाकार होस्, चौध क्यूबिट लामो र चौध क्यूबिट चौडा होस्। वेदीका चारैतिर आधा क्यूबिटको घेरा र एक क्यूबिटको जग होस्। वेदीको खुड्किलाहरू पूर्वतिर फर्केको होस्।”
18त्यसपछि तिनले मलाई भने, “हे मानिसको छोरा, प्रभु याहवेह यसो भन्नुहुन्छ: वेदी बनिएपछि त्यसमाथि होमबलि चढाउने र रगत छर्कने नियमहरू यी नै हुन्:
19तैँले पाप शुद्धीकरण बलिको रूपमा एउटा बाछा सादोकको परिवारका लेवी पुजारीहरूलाई दिनू, जो मेरो सामु सेवा गर्नलाई नजिक आउँछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
20तैँले त्यसको केही रगत लिएर त्यसलाई वेदीका चार वटा सिङहरूमा र माथिल्लो किनारका चारै कुनामा र वरिपरिका घेरामा लगाउनू; अनि यसरी वेदीलाई शुद्ध गरेर त्यसका निम्ति प्रायश्चित गर्नू।
21तैँले पाप शुद्धीकरण बलिको निम्ति बाछा लिएर त्यसलाई पवित्रस्थानको बाहिर मन्दिरको इलाकामा तोकिएका ठाउँमा जलाइदिनू।
22“दोस्रो दिन तैँले एउटा निष्खोट बोका पाप शुद्धीकरण बलिको रूपमा चढाउनू; अनि वेदीलाई बाछोले पहिलो दिनमा शुद्ध पारेझैँ शुद्ध पारून्।
23तैँले त्यसलाई शुद्ध गरिसकेपछि, तैँले बगालबाट एउटा निष्खोट बाछो र एउटा निष्खोट भेडा चढाउनू।
24तैँले ती याहवेहको सामु चढाउनू र पुजारीहरूले ती चढाइएको मासुमा नुन छर्कून् र तिनीहरूलाई होमबलिको रूपमा याहवेहलाई बलि चढाऊन्।
25“तैँले सात दिनसम्म पाप शुद्धीकरण बलिको निम्ति हरेक दिन एउटा बोका जुटाउनू; तैँले बगालबाट एउटा निष्खोट बाछा र एउटा निष्खोट साँढभेडा जुटाउनू।
26तिनीहरूले सात दिनसम्म वेदीको निम्ति प्रायश्चित गरून् र त्यसलाई शुद्ध पारून्; यसरी तिनीहरूले त्यसलाई अर्पण गर्नेछन्।
27यी सात दिनहरूको अन्त्यमा, आठौँ दिनदेखि उसो पुजारीहरूले तेरा होमबलिहरू र मेलबलिहरू वेदीमा चढाउनुपर्छ। तब म इस्राएलका मानिसहरूलाई ग्रहण गर्नेछु; प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath