ईसाई धर्म
पछाडि

इजकिएल 3

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1अनि परमेश्‍वरले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, तेरो अगाडि जे कुरा छ, त्यो खा! यो मुट्ठो खा; त्यसपछि गएर इस्राएलका घरानाहरूलाई भन्।”

2यसकारण मैले आफ्नो मुख खोलेँ र उहाँले मलाई त्यो मुट्ठो खान दिनुभयो।

3तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, मैले तँलाई दिएको यो मुट्ठो खा, र यसले आफ्नो पेट भर्।” यसकारण मैले मुट्ठो खाएँ, र त्यो मेरो मुखमा महझैँ गुलियो भयो।

4तब उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, अब इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरा वचनहरू भन्।

5तँ विदेशी भाषा बोल्ने र अप्ठ्यारो भाषा बोल्ने जातिहरूकहाँ पठाइँदैछैनस्, तर इस्राएलका मानिसहरूकहाँ पठाइँदैछस्—

6विदेशी भाषा बोल्ने र अप्ठ्यारो भाषा भएका धेरै जातिहरूकहाँ होइन, जसका कुरा तँ बुझ्न सक्दैनस्। यदि मैले तँलाई तिनीहरूकहाँ पठाएको भए निश्‍चय नै तिनीहरूले तेरो कुरा सुन्‍नेथिए।

7तर इस्राएलका मानिसहरूले तेरो कुरा सुन्‍न चाहँदैनन्; किनभने तिनीहरूले मेरो कुरा सुन्‍न इच्छा गर्दैनन्; किनकि इस्राएलीहरू कठोर र जिद्दी भएका छन्।

8तर म तँलाई तिनीहरूजस्तै नझुक्ने र कठोर बनाउनेछु।

9म तेरो निधारलाई चकमके ढुङ्गाभन्दा कडा बनाइदिनेछु। यद्यपि तिनीहरू विद्रोही घराना भए तापनि तिनीहरूसँग नडरा अथवा तिनीहरूदेखि त्रसित नहो।”

10फेरि उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, तैँले ध्यानसित सुन्, र मैले तँलाई भनेका मेरा सबै वचन तेरो हृदयमा राख्।

11निर्वासनमा लगिएका तेरा देशवासीहरूकहाँ गएर तिनीहरूसँग कुरा गर्। ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ, तिनीहरूले सुनून् वा नसुनून्, तिनीहरूलाई भन्।’ ”

12तब आत्माले मलाई माथि उचाल्नुभयो; अनि जब याहवेहको महिमा आफ्नो स्थानबाट उठ्यो, तब मैले मेरो पछाडि एउटा ठूलो गडगडाहटको आवाज सुनेँ।

13त्यो आवाज ती जीवित प्राणीहरूका पखेटाहरू एक-अर्कालाई छुँदा निस्केको आवाज र तिनीहरूका छेउका चक्‍काहरू घुमेको आवाज, भुइँचालो गएको जस्तै ठूलो गडगडाहटको आवाज थियो।

14त्यसपछि आत्माले मलाई उठाएर माथितिर टाढा लैजानुभयो, तब मेरो मनमा तितो लाग्यो र रिस उठ्यो; अनि याहवेहको बलियो हात ममाथि थियो।

15म कबार नदीको छेउमा भएको तेल-अबीबमा बस्‍ने निर्वासनमा लगिएकाहरूकहाँ गएँ। अनि त्यहाँ तिनीहरू बसोबास गरेको ठाउँमा तिनीहरूको बीचमा म सात दिनसम्म अति दुःखी भएर रहेँ।

16तेल-अबीबमा बसेको सात दिनको अन्त्यमा याहवेहको वचन मकहाँ आयो:

17“हे मानिसको छोरा, मैले तँलाई इस्राएलको घरानाको निम्ति पहरेदार तुल्याएको छु; यसकारण मैले भनेको वचन सुन् र तिनीहरूलाई मबाट चेतावनी दे।

18जब म एक जना दुष्‍टलाई भन्छु, ‘तँ निश्‍चय नै मर्नेछस्,’ अनि तैँले त्यसको प्राण बचाउनलाई चेतावनी दिइनस् र त्यसका दुष्‍ट चालहरूबाट फर्कनलाई बताइनस् भने, त्यो दुष्‍ट मानिस आफ्नो पापको निम्ति मर्नेछ; तर म त्यसको मृत्युको निम्ति तँलाई जिम्मेवार ठहराउनेछु।

19तर यदि तैँले त्यस दुष्‍ट मानिसलाई चेतावनी दिइस् र त्यो आफ्नो दुष्‍टता अथवा आफ्नो खराब चालबाट फर्केन भने त्यो आफ्नो पापमा नै मर्नेछ; तर तैँलेचाहिँ आफ्नो प्राण बचाउनेछस्।

20“तर जब धर्मी मानिसले आफ्नो धार्मिकताबाट फर्केर दुष्‍ट्याइँ गर्छ, र मैले त्यसको अगि ठेस लाग्ने ढुङ्गो राखिदिएँ भने त्यो मर्नेछ। तैँले त्यसलाई चेतावनी नदिएको हुनाले त्यो आफ्नै पापको कारण मर्नेछ। त्यसले गरेका धार्मिक कामहरूको सम्झना हुनेछैन; अनि म तँलाई त्यसको रगतको जिम्मेवार ठहराउनेछु।

21तर यदि तैँले धर्मी मानिसलाई पाप नगर्नू भनेर चेतावनी दिइस् र त्यसले पाप गरेन भने त्यो निश्‍चय नै बाँच्नेछ; किनकि त्यसले चेतावनी ग्रहण गर्‍यो, र तैँले आफ्नो प्राणलाई बचाउनेछस्।”

22तब त्यहाँ याहवेहको हात ममाथि थियो र उहाँले मलाई भन्‍नुभयो, “उठ् र मैदानमा जा; अनि त्यहाँ म तँसँग कुरा गर्नेछु।”

23यसकारण म उठेर मैदानमा गएँ; अनि कबार नदीको किनारमा मैले देखेको जस्तै याहवेहको महिमा त्यहाँ प्रकट भएको थियो; अनि म भुइँमा घोप्टो परेर निहुरिएँ।

24तब ममा आत्मा आउनुभयो र मलाई आफ्नो खुट्टामा उभ्याउनुभयो। उहाँले मसँग कुरा गर्नुभयो र मलाई भन्‍नुभयो: “तेरो घरमा जा, गएर आफ्नो घरभित्र ढोका बन्द गरेर बस्।

25अनि हे मानिसको छोरा, तिनीहरूले तँलाई डोरीले बाँध्नेछन्, र तँ बाँधिनेछस्; अनि तँ मानिसहरूको बीचमा बाहिर निस्केर जान पाउनेछैनस्।

26म तेरो जिब्रोलाई तालुमा टाँसिदिनेछु; अनि तँ बोल्न नसक्ने हुनेछस्, र तैँले तिनीहरूलाई हप्काउन सक्नेछैनस्; किनकि तिनीहरू विद्रोही घरानाका हुन्।

27तर जब म तँसित बोल्छु, म तेरो मुख खोलिदिनेछु र तैँले तिनीहरूलाई भन्‍नू: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ।’ जसले सुन्‍न चाहन्छ, ध्यानसित सुनोस्, र सुन्‍न नचाहनेले नसुनोस्; किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath