ईसाई धर्म
पछाडि

इजकिएल 39

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“हे मानिसको छोरा, गोगको विरुद्धमा अगमवाणी गरेर भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘हे गोग, रोश, मेशेक र तूबलका प्रमुख राजकुमार, म तेरो विरुद्धमा छु।

2म तँलाई फनक्‍क फर्काउनेछु र घिसार्नेछु। म तँलाई सुदूर उत्तरबाट ल्याउनेछु र इस्राएलका पहाडहरूका विरुद्धमा पठाउनेछु।

3तब म तेरो देब्रे हातमा भएको धनुमाथि प्रहार गर्नेछु, र तेरो दाहिने हातमा भएका काँडहरूलाई खसालिदिनेछु।

4इस्राएलका पहाडहरूमा तँ, तेरा सबै सेना दलहरू, र तँसँग भएका जातिहरू ढल्नेछन्। म तँलाई आहाराको रूपमा सिनो खाने सबै प्रकारका पक्षीहरू र जङ्गली पशुहरूलाई दिनेछु।

5तँ खुला मैदानमा ढल्नेछस्; किनकि मैले बोलेको छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

6म मागोग र समुद्रका किनारहरूमा सुरक्षित बस्‍नेहरूमाथि आगो पठाउनेछु; अनि तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।

7“ ‘मेरो प्रजा इस्राएलको बीचमा मेरो पवित्र नामलाई चिनाउनेछु। अबदेखि उसो फेरि मेरो पवित्र नामलाई म अपवित्र हुन दिनेछैनँ; अनि जाति-जातिहरूले म याहवेह नै इस्राएलमा पवित्र परमेश्‍वर हुँ भनी जान्‍नेछन्।

8यो आइरहेको छ! यो निश्‍चय नै हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। मैले भनेको दिन यही हो।

9“ ‘तब इस्राएलका सहरहरूमा बस्‍नेहरू बाहिर निस्केर जानेछन्; अनि हतियारहरू दाउराझैँ प्रयोग गर्नेछन् र ती जलाइदिनेछन्—साना र ठूला ढालहरू, धनु र काँडहरू, लडाइँका लाठाहरू र भालाहरू। सात वर्षसम्म तिनीहरूले ती हतियारहरूलाई दाउराको रूपमा प्रयोग गर्नेछन्।

10तिनीहरूले मैदानबाट दाउरा बटुल्न आवश्यक पर्नेछैन, न त जङ्गलबाट काट्नु पर्नेछ; किनकि तिनीहरूले ती हतियारहरूलाई दाउराको निम्ति प्रयोग गर्नेछन्। तिनीहरूले आफूलाई लुट्नेहरूलाई लुट्नेछन् र तिनीहरूलाई खोस्‍नेहरूलाई तिनीहरूले खोस्‍नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

11“ ‘त्यस दिन म गोगलाई इस्राएलको सागरको पूर्वतिर यात्रा गर्नेहरूको बेँसीमा एउटा चिहान दिनेछु। गोग र त्यसका सबै सेना दलहरू त्यहाँ गाडिएको कारण यात्रीहरूको बाटो बन्द हुनेछ। यसकारण त्यसलाई हमोन गोगको बेँसी भनिनेछ।

12“ ‘देशलाई शुद्ध पार्नका निम्ति इस्राएलका मानिसहरूले तिनीहरूलाई सात महिनासम्म गाडिरहनेछन्।

13देशका सबै मानिसहरूले तिनीहरूलाई गाड्नेछन्; अनि मैले मेरो महिमा प्रकट गरेको दिन तिनीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

14देशलाई शुद्ध पार्नका निम्ति मानिसहरू नियमित रूपमा नियुक्त गरिनेछन्। तिनीहरू देशभरि जानेछन्; अनि तिनीहरूले अरू मानिसहरूसँग मिलेर जमिनमा लडिरहेका मृत शरीरहरूलाई गाड्नेछन्। “ ‘सात महिना बितेपछि तिनीहरूले आफ्नो विस्तृत खोजी सुरु गर्नेछन्।

15जब तिनीहरू देशभरि जान्छन्, र मानव हड्डीलाई जो कोहीले देख्छन्, तब चिहान खन्‍नेहरूले त्यसलाई हमोन गोगको बेँसीमा नगाडेसम्म, त्यस हड्डीको छेउमा एउटा चिन्ह लगाइराख्नेछन्।

16त्यहाँ सहरको नजिक हमोनाह नाम भएको एउटा सहर पनि हुनेछ। यसरी तिनीहरूले देशलाई शुद्ध पार्नेछन्।’

17“हे मानिसको छोरा, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हरेक किसिमका चरा र सबै जङ्गली पशुहरूलाई बोलाएर भन्: ‘मैले तिमीहरूका निम्ति तयार पारिरहेको इस्राएलको पर्वतहरूमाथि हुने ठूलो बलिदानमा चारैतिरबाट एकसाथ भेला होओ। त्यहाँ तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ।

18तिमीहरूले वीर योद्धाहरूका मासु खानेछौ, र तिमीहरूले पृथ्वीका शासकहरूको रगत, साँढभेडाहरू, थुमाहरू र बाख्राहरू र गोरुहरूका रगतझैँ पिउनेछौ; तिनीहरू सबै बासानका मोटा जनावरहरूजस्ता थिए।

19मैले तिमीहरूका निम्ति तयार पारिरहेको बलिदानमा तिमीहरूले वाक्‍क भइन्जेल मोटो मासु खानेछौ, र मातिन्जेल रगत पिउनेछौ।

20मेरो टेबुलमा तिमीहरूले अघाउन्जेल घोडाहरू र तिनका सवारहरू, वीर योद्धाहरू र हरेक किसिमका सैनिकहरूलाई खानेछौ,’ प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

21“म मेरो महिमा जातिहरूको बीचमा प्रदर्शन गर्नेछु; अनि मैले तिनीहरूमाथि ल्याएको दण्ड र मैले तिनीहरूमाथि मेरो हात राखेको सबै जातिहरूले देख्नेछन्।

22त्यस दिनदेखि उसो इस्राएलका मानिसहरूले म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन्।

23इस्राएलका मानिसहरू मप्रति अविश्‍वासयोग्य भएकाले तिनीहरूका पापको कारण तिनीहरू निर्वासनमा गएका थिए भनी ती जातिहरूले जान्‍नेछन्। यसकारण मैले तिनीहरूबाट आफ्नो अनुहार लुकाएँ र तिनीहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिदिएँ; अनि तिनीहरू सबै तरवारद्वारा मारिए।

24मैले तिनीहरूसँग तिनीहरूका अशुद्धपन र तिनीहरूका अपराधअनुसार व्यवहार गरेँ; अनि मैले मेरो अनुहार तिनीहरूबाट लुकाएँ।

25“यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: अब म याकोबका सुदिन पुनर्स्थापित गर्नेछु, र इस्राएलका सबै मानिसहरूप्रति दया देखाउनेछु; अनि म मेरो पवित्र नामका निम्ति जोशिलो हुनेछु।

26जब तिनीहरू आफ्ना देशमा सुरक्षितसाथ बस्‍नेछन्, र कसैबाट भयभीत हुनेछैनन्, तब तिनीहरूले आफ्ना शर्म र तिनीहरूले मप्रति देखाएका अविश्‍वासनियता बिर्सनेछन्।

27जब म तिनीहरूलाई जाति-जातिहरूबाट फर्काएर ल्याउनेछु, र तिनीहरूका शत्रुहरूका देशहरूबाट तिनीहरूलाई भेला गराउनेछु, तब म तिनीहरूद्वारा धेरै जातिहरूको दृष्‍टिमा आफूलाई पवित्र प्रमाणित गर्नेछु।

28तब तिनीहरूले म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन्; किनकि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा निर्वासनमा पठाए तापनि म तिनीहरूमध्ये कसैलाई पनि नछोडी तिनीहरूका आफ्नै देशमा भेला गराउनेछु।

29म तिनीहरूबाट अब उप्रान्त फेरि मेरो अनुहार लुकाउनेछैनँ; किनकि म मेरो आत्मा इस्राएलका मानिसहरूमाथि खन्याउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath