ईसाई धर्म
पछाडि

इजकिएल 38

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहको यो वचन मकहाँ आयो:

2“हे मानिसको छोरा, मागोग देशको गोग, रोश, मेशेक र तूबलका प्रमुख राजकुमारतिर तेरो अनुहार फर्का; त्यसको विरुद्धमा अगमवाणी गर्,

3र भन्: ‘प्रभु याहवेह भन्‍नुहुन्छ: हे गोग, रोश, मेशेक र तूबलको प्रमुख राजकुमार, म तेरो विरुद्धमा छु।

4म तँलाई पछिल्तिर फर्काएर तेरो बङ्गारामा अङ्कुसे लगाउनेछु, र तेरा सम्पूर्ण सेनाहरूसँग तँलाई बाहिर निकालेर ल्याउनेछु—तेरा घोडाहरू, सारा हातहतियारहरूले सुसज्जित तेरा घोडचढी सेनाहरू र ठूला-साना ढालहरू भिरेका तरवार चलाउन सक्ने ठूलो सेनाहरूसँग बाहिर ल्याउनेछु।

5परसीया, कूश र पूत तिनीहरूसँग हुनेछन्; तिनीहरू सबैसँग आफ्ना ढालहरू र टोपहरू हुनेछन्;

6साथै गोमेर त्यसका सबै सेना दलहरूसँग र सुदूर उत्तरको बेथ-तोगर्मा त्यसका सबै सेना दलहरूसँग—अनि तँसँग भएका धेरै जातिहरू पनि हुनेछन्।

7“ ‘तयार हो; तँ र तेरो चारैतिर भेला भएका सबै सेना दलहरू, तयार हो, र तँ तिनीहरूलाई अगुवाइ गर्।

8धेरै दिनपछि तिमीहरूलाई हतियार भिर्नलाई बोलाइनेछ। आउँदा वर्षहरूमा तिमीहरूले युद्धबाट ध्वस्त भएर पुनर्निर्मित भएको एउटा देशमाथि आक्रमण गर्नेछौ, जसका मानिसहरू धेरै जाति-जातिहरूबाट इस्राएलका पर्वतहरूमा भेला गरिएका थिए, जुन धेरै लामो समयसम्म उजाड रहेको थियो। तिनीहरू जाति-जातिहरूबाट बाहिर ल्याइएका थिए; अनि अहिले तिनीहरू सबै सुरक्षित बसोबास गर्दछन्।

9तँ र तेरा सबै सेनाका दलहरू, र तँसँग भएका धेरै जातिहरू आँधीझैँ अगि बढ्नेछन्; तँचाहिँ देशलाई ढाक्ने बादलजस्तै हुनेछस्।

10“ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यस दिन तेरो मनमा विचार उत्पन्‍न हुनेछ, र तैँले एउटा दुष्‍ट युक्ति रच्नेछस्।

11तैँले भन्‍नेछस्, “म एउटा पर्खाल नभएको बस्तीहरू भएको देशमाथि आक्रमण गर्नेछु; म एउटा शान्त र सुरक्षितसाथ बस्‍ने मानिसहरूमाथि आक्रमण गर्नेछु—तिनीहरू सबै पर्खालहरूविना, मूलढोकाहरू र बारहरूविना बसिरहेका छन्।

12म लुटपाट गरेर सखाप पार्नेछु; अनि भर्खर पुनर्बास भएको भग्नावशेष सहर, जाति-जातिहरूबाट भेला भएका पशुहरू र मालसामानहरूले धनी भएको देशमा बस्‍ने मानिसहरूको विरुद्धमा मेरो हात फर्काउनेछु।”

13शेबा र ददान, तर्शीशका व्यापारीहरू र त्यसका सबै गाउँहरूले तँलाई भन्‍नेछन्, “के तँ लुट्न आएको होस्? सुनचाँदी लैजान, गाईबस्तु र मालसामानहरू लैजान; अनि धेरै लुटका सामान जम्मा गर्नका निम्ति के तैँले तेरा सेना दलहरूलाई भेला गरेको होस्?” ’

14“यसकारण हे मानिसको छोरा, अगमवाणी गरेर गोगलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यस दिन जब मेरा इस्राएलका मानिसहरू सुरक्षितसाथ बसिरहेका हुन्छन्, के तँ त्यसमा ध्यान दिनेछैनस्?

15तँ र तँसित भएका धेरै जातिहरूसँग सबै जना घोडाहरूमा चढेर ठूलो दल शक्तिशाली सेनासँग तेरा आफ्ना ठाउँ सुदूर उत्तरबाट आउनेछस्।

16तँ मेरो प्रजा इस्राएलको विरुद्धमा देश नै ढाक्ने बादलझैँ अगि बढ्नेछस्। आउँदा दिनहरूमा हे गोग, म तँलाई मेरो देशको विरुद्धमा ल्याउनेछु, ताकि जब म तिनीहरूका आँखाको सामु पवित्र प्रमाणित हुनेछु, तब जाति-जातिहरूले मलाई चिनून्।

17“ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तँ त्यही व्यक्ति होस्, जसको बारेमा मैले अगिका दिनहरूमा मेरा सेवकहरू, इस्राएलका अगमवक्ताहरूद्वारा बोलेको थिएँ। त्यस बेला तिनीहरूले वर्षौंसम्म मेरो अगमवाणी गरे, कि म तँलाई तिनीहरूको विरुद्धमा ल्याउनेछु।

18त्यस दिन यस्तो हुनेछ: जब गोगले इस्राएल देशमाथि आक्रमण गर्नेछ, तब मेरो रिसको आगो दन्किनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

19म मेरो जोश र प्रचण्ड क्रोधमा घोषणा गर्दछु, कि इस्राएल देशमा त्यस बेला एउटा ठूलो भूकम्प जानेछ।

20समुद्रका माछा, आकाशका चराहरू, वनका पशुहरू, जमिनमा हिँड्‍डुल गर्ने हरेक प्रकारका पशुप्राणीहरू, र पृथ्वीको सतहमा भएका सबै मानिसहरू मेरो उपस्थितिमा काम्नेछन्। पहाडहरू पल्टाइनेछन्, भिरालो ठाउँहरू भत्किनेछन् र हरेक पर्खाल जमिनमा ढल्नेछ।

21म मेरा सबै पर्वतहरूमा गोगको विरुद्ध तरवार पठाउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। हरेक मानिसको तरवार उसको दाजुभाइको विरुद्धमा हुनेछ।

22म त्यसको विरुद्धमा रूढी र रक्तपातद्वारा न्याय गर्नेछु; म त्यसमाथि, त्यसका सेना दलहरूमाथि र त्यससँग भएका धेरै जातिहरूमाथि जल्दैगरेको गन्धकसहित मुसलधारे वर्षा र असिना बर्साउनेछु।

23यसरी म मेरो महानता र मेरो पवित्रता देखाउनेछु; अनि धेरै जातिहरूको दृष्‍टिमा म आफूलाई चिनाउनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath