ईसाई धर्म
पछाडि

इजकिएल 32

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1बाह्रौँ वर्षको बाह्रौँ महिनाको पहिलो दिनमा, याहवेहको यो वचन मकहाँ आयो,

2“हे मानिसको छोरा, इजिप्टका राजा फारोको बारेमा विलाप गरेर त्यसलाई भन्: “ ‘तँ जाति-जातिहरूका बीचमा एउटा सिंहझैँ छस्; तँ समुद्रको विशाल भयावह प्राणीजस्तै छस्; अनि तँ आफ्ना समुद्रहरूमाथि तेजसँग हलचल गर्छस्; खोलाहरूलाई आफ्ना खुट्टाहरूले यताउता घोल्छस्, र नदीहरूलाई धमिलो पार्छस्।

3“ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘मानिसहरूको ठूलो भीडसँग म आफ्नो जाल तँमाथि फ्याँक्नेछु; अनि तिनीहरूले तँलाई मेरो जालमा तान्‍नेछन्।

4म तँलाई जमिनमा पछार्नेछु, र तँलाई खुल्‍ला मैदानमा हुत्त्याउनेछु। म आकाशका सबै चराहरूलाई तेरो मृत शरीरमाथि बस्‍न दिनेछु, र पृथ्वीका सबै जङ्गली जनावरहरूलाई तेरो मासु लुछ्न लगाउनेछु।

5म तेरो मासु पहाडहरूमाथि फिँजाइदिनेछु, र तेरा बेँसीहरूलाई तेरा बाँकी सिनोले भरिदिनेछु।

6म तेरो बगिरहेको रगतले देशका पहाडहरूसम्म जमिन भिजाइदिनेछु; अनि खोल्साहरू तेरो मासुले भरिनेछन्।

7जब म तेरो अन्त्य गर्नेछु, तब म आकाशलाई ढाकिदिनेछु; अनि त्यसका ताराहरूलाई अँध्यारो बनाइदिनेछु; म घामलाई बादलले ढाकिदिनेछु; अनि चन्द्रमाले आफ्नो ज्योति दिनेछैन।

8आकाशमा सबै चम्कने ज्योतिहरूलाई म तँमाथि अँध्यारो बनाउनेछु; म तेरो देशमा अन्धकार ल्याउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

9जब म जातिहरूका बीचमा तैँले नजानेका देशहरूमा तेरो विनाश ल्याउनेछु, र धेरै जातिहरूका हृदय व्याकुल पार्नेछु।

10जब म जातिहरूको विरुद्धमा तिनीहरूको सामु आफ्नो तरवार चलाउँछु, तब तँलाई देख्ने धेरै जातिहरूलाई म भयभीत तुल्याउनेछु; अनि तेरो कारण तिनीहरूका राजाहरू डरले थरथर काम्नेछन्। तेरो पतनको दिनमा तिनीहरू सबै आ-आफ्नो जीवनका निम्ति हरेक क्षण काम्नेछन्।

11“ ‘किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ।

12म तेरो सेना दलहरूलाई शक्तिशाली मानिसहरूका तरवारद्वारा परास्त गर्नेछु— जातिहरूमा सबैभन्दा निर्दयीहरूको तरवारद्वारा परास्त गर्नेछु। तिनीहरूले इजिप्टको घमण्डलाई चकनाचुर पार्नेछन्; अनि त्यसका सबै सेना दलहरू सर्वनाश हुनेछन्।

13म त्यसका सबै गाईबस्तुहरूलाई प्रशस्त पानी भएका ठाउँका छेउबाट सर्वनाश गर्नेछु, अब उसो त्यस पानीलाई मानिसको खुट्टाले हल्‍लाउनेछैन, अथवा गाईबस्तुका खुरले खल्बलाएर धमिलो बनाउनेछैन।

14तब म त्यसका पानीहरूलाई सङ्लो पार्नेछु, र त्यसका खोलाहरूलाई तेलजस्तै बग्ने बनाउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

15जब म इजिप्टलाई उजाड पारेर त्यस देशलाई सबै कुराहरूबाट रित्तो बनाउँछु, जब म त्यहाँ बस्‍नेहरू सबैलाई प्रहार गर्छु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’

16“यो विलापको गीत तिनीहरूले त्यसका निम्ति गाउनेछन्। जातिहरूका स्त्रीहरूले यसलाई गाउनेछन्; किनकि इजिप्ट र त्यसका सबै सेना दलहरूका निम्ति तिनीहरूले त्यो गाउनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”

17बाह्रौँ वर्षको पहिलो महिनाको पन्ध्रौँ दिनमा, याहवेहको वचन मकहाँ आयो:

18“हे मानिसको छोरा, इजिप्टका सेना दलहरूका निम्ति विलाप गरेर त्यसलाई र शक्तिशाली राष्ट्रहरूका छोरीहरूलाई चिहानमा जानेहरूसँगै पृथ्वीको तलतिर पठाइदे।

19तिनीहरूलाई भन्, ‘के तिमीहरूले अरूभन्दा बढी निगाह पाएका छौ र? तल जाओ र खतना नभएकाहरूका बीचमा सुतिरहो।’

20तिनीहरू तरवारले मारिएकाहरूका बीचमा ढल्नेछन्। तरवार निकालिएको छ; त्यो आफ्ना सबै सेना दलहरूसँगै घिसारिओस्।

21मृत-लोकका शक्तिशाली अगुवाहरूले इजिप्ट र त्यसका मित्रहरूको बारेमा भन्‍नेछन्, ‘तिनीहरू तल आएका छन् र तिनीहरू तरवारले मारिएकाहरू र खतना नभएकाहरूसित सुतिरहेका छन्।’

22“अश्शूर त्यसका आफ्ना सबै सेनासँग त्यहीँ छ; ती सबै मारिएकाहरूका चिहानहरूले घेरिएका छन्; सबै तरवारद्वारा ढालिएका छन्।

23तिनीहरूका चिहान पृथ्वीको गहिराइमा छ, र त्यसको सेना चिहानको चारैतिर लडिरहेका छन्। जीवितहरूको देशमा आतङ्क फैलाउनेहरू सबै मारिएका छन्, र तरवारले ढालिएका छन्।

24“त्यहाँ एलाम छ, र त्यसको चिहानको वरिपरि त्यसका सबै सेना दलहरूले घेरेका छन्। ती सबै मारिएकाहरू तरवारद्वारा ढालिएका हुन्, जो जीवितहरूको देशमा आतङ्क फैलाउनेहरू सबै खतना नगरी तल पृथ्वीमा गएका छन्, जो जीवितहरूका देशमा आतङ्क फैलाउनेहरू थिए; तिनीहरू मृत-लोकमा जानेहरूसँगै शर्ममा परेका छन्।

25त्यसका निम्ति मारिएकाहरूसित एउटा ओछ्यान बनाइदिएका छन्; त्यसका सेनाहरूका चिहान त्यसकै वरिपरि छन्। तिनीहरू सबै खतना नभएकाहरू र तरवारद्वारा मारिएकाहरू हुन्। जीवितहरूको देशमा तिनीहरूका आतङ्क फैलिएको कारण तिनीहरूले मृत-लोकमा जानेहरूसँग तिनीहरूका शर्म भोग्छन्; तिनीहरू मारिएकाहरूसँग गाडिएका छन्।

26“मेशेक र तूबल त्यहाँ छन्, र तिनीहरूका सबै सेना दलहरू तिनीहरूका चिहानको वरिपरि छन्। तिनीहरू सबै खतना नभएकाहरू हुन्, र तरवारद्वारा मारिएकाहरू हुन्; किनकि तिनीहरूले जीवितहरूको देशमा आफ्नो आतङ्क फैलाएका थिए।

27तर तिनीहरू अरू खतना नभएका सेनाहरूसित सुतिरहनेछैनन्, जो आफ्ना लडाइँका हतियारहरूसितै मृत-लोकमा गए। तिनीहरूका तरवारहरू तिनीहरूका शिरमुनि राखिएका छन्, र तिनीहरूका ढाल तिनीहरूका हड्डीहरूसँग रहिरहेको छ। यद्यपि यी योद्धाहरूले पनि जीवितहरूका देशलाई आतङ्कित तुल्याएका थिए।

28“हे फारो, तँ पनि नष्‍ट हुनेछस् र तरवारद्वारा मारिएकाहरू र खतना नभएकाहरूका बीचमा रहिरहनेछस्।

29“एदोम, त्यसका राजाहरू र सबै राजकुमारहरू त्यहाँ छन्; तिनीहरू शक्तिशाली भए तापनि तिनीहरू तरवारद्वारा मारिएकाहरूसितै राखिएका छन्। तिनीहरू मृत-लोकमा जाने खतना नभएकाहरूसितै रहिरहेका छन्।

30“उत्तर दिशाका सबै राजकुमारहरू र सबै सीदोनीहरू त्यहाँ छन्; तिनीहरूका सेनाका शक्तिद्वारा आतङ्क फैलाएका भए तापनि तिनीहरू मारिगएकाहरूसँग भएको कारण अपमानित भएका छन्। तिनीहरू तरवारले मारिएका र खतना नभएकाहरूसँग रहिरहेका छन्; अनि मृत-लोकमा जानेहरूसित शर्ममा परेका छन्।

31“फारो, त्यो र त्यसका सेनाले तिनीहरूलाई देख्नेछन्, र त्यसका सबै सेना दलहरूले तरवारद्वारा मारिएकाहरूका निम्ति त्यसलाई सान्त्वना दिनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

32यद्यपि मैले त्यसलाई जीवितहरूका देशमा आतङ्क फैलाउन दिएको थिएँ, तापनि फारो र त्यसका सबै सेना दलहरू तरवारद्वारा मारिएकाहरू र ती खतना नभएकाहरूका बीचमा रहिरहनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath