इजकिएल 30
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेहको यो वचन मकहाँ आयो:
2“हे मानिसको छोरा, अगमवाणी गरेर भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘विलाप गरेर भन्, “हाय त्यो दिन!”
3किनकि त्यो दिन नजिकै छ; याहवेहको दिन नजिकै छ! बादलहरूको दिन, जाति-जातिहरूका निम्ति विनाशको दिन।
4इजिप्टको विरुद्धमा एउटा तरवार आउनेछ; अनि कूशमाथि वेदना आउनेछ। जब इजिप्टमा मारिएकाहरूले जमिन ढाक्छन्, तब त्यसका धनसम्पत्ति लगिनेछ, र त्यसका जगहरू पूर्ण रूपमा भत्काइनेछ।
5कूश, लिबिया, लूद र सारा अरब, कुब र करारको देशका मानिसहरू इजिप्टसितै तरवारद्वारा ढल्नेछन्।
6“ ‘याहवेह यसो भन्नुहुन्छ: “ ‘इजिप्टका सहयोगी राष्ट्रहरू ढल्नेछन्, र त्यसको शक्तिको घमण्ड असफल हुनेछ। मिग्दोलदेखि आश्वानसम्म तिनीहरू इजिप्ट सहरभित्र तरवारले ढल्नेछन्, प्रभु याहवेह भन्नुहुन्छ।
7तिनीहरू उजाड देशहरूका बीचमा उजाड हुनेछन्; अनि तिनीहरूका सहरहरू ध्वस्त भएका सहरहरूका बीचमा रहिरहनेछन्।
8जब मैले इजिप्टमा आगो लगाएर त्यसका सबै सहयोगीहरू नष्ट हुनेछन्, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।
9“ ‘त्यस दिन सुरक्षित भई ढुक्क बसेको कूशलाई डर देखाउन मबाट सन्देश वाहकहरू जहाजमा जानेछन्। इजिप्टको विनाशको दिन तिनीहरूलाई वेदनाले छोप्नेछ; किनकि त्यो निश्चय आउनेछ।
10“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘म बेबिलोनको राजा नबूकदनेसरको हातबाट इजिप्टको सेना दलको अन्त्य गरिदिनेछु।
11त्यो र त्यसका सेना, जाति-जातिहरूमा अत्यन्तै निष्ठुर छन्, देशलाई नाश गर्नको निम्ति भित्र ल्याइनेछ। तिनीहरूले इजिप्टको विरुद्धमा आफ्ना तरवारहरू निकाल्नेछन्, र मारिएकाहरूले देशलाई ढाकिदिनेछन्।
12म नील नदीको पानीलाई सुकाइदिनेछु, र देशलाई दुष्ट मानिसहरूकहाँ बेचिदिनेछु; विदेशीहरूका हातद्वारा म देशलाई र त्यसमा भएका सबै कुरालाई उजाड पारिदिनेछु। म याहवेहले नै भनेको हुँ।
13“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसमा भएका आकृतिहरूलाई नष्ट गरिदिनेछु। इजिप्टमा अब फेरि कुनै राजकुमार रहनेछैन; अनि म इजिप्टभरि डर फैलाइदिनेछु।
14म माथिल्लो इजिप्टलाई उजाड पार्नेछु, सोअनमा आगो लगाउनेछु, र थेबेस सहरलाई दण्ड दिनेछु।
15इजिप्टको किल्ला पेलुसियममा म मेरो क्रोध पोखाउनेछु; अनि थेबेस सहरका सेना दलहरूलाई नष्ट पार्नेछु।
16म इजिप्टमा आगो लगाउनेछु; पेलुसियम वेदनाले छटपटिनेछ। थेबेस सहरलाई आँधीले लैजानेछ; मेम्फिस लगातार कष्टमा रहनेछ।
17हेलिओपोलिस र बुबास्तीसका जवान मानिसहरू तरवारले ढल्नेछन्; अनि सहरहरू आफैँ कैदमा जानेछन्।
18जब तहपनेसको दिन अँध्यारो हुनेछ, तब म इजिप्टको जुवा भाँचिदिन्छु; त्यहाँ त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ। इजिप्ट बादलले छोपिनेछ; अनि त्यसका गाउँहरू कैदमा जानेछन्।
19यसरी म इजिप्टमाथि दण्ड ल्याउनेछु; अनि तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’ ”
20एघारौँ वर्षको पहिलो महिनाको सातौँ दिनमा, याहवेहको वचन मकहाँ आयो:
21“हे मानिसको छोरा, मैले इजिप्टको राजा फारोको हात भाँचिदिएको छु। यसलाई निको पार्न बाँधिएको छैन, अथवा त्यसमा मलमपट्टी लगाइएको छैन, ताकि त्यो तरवार समाउन सक्ने बलियो बनोस्।
22यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: म इजिप्टको राजा फारोको विरुद्धमा छु। म त्यसका दुवै पाखुराहरू, अर्थात् राम्रो र भाँचिएका दुवै पाखुराहरू भाँचिदिनेछु; अनि त्यसको हातबाट तरवार खस्न लगाउनेछु।
23म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्न देशभरि छरपस्ट पारिदिनेछु।
24म बेबिलोनको राजाका पाखुराहरू बलिया पार्नेछु; अनि मेरो तरवार त्यसको हातमा राखिदिनेछु, तर म फारोका हातहरू भाँचिदिनेछु; अनि नबूकदनेसरको सामु मर्न लागेको घाइते मानिसझैँ त्यसले सुस्केरा हाल्नेछ।
25म बेबिलोनको राजाका पाखुराहरू बलिया बनाइदिनेछु, तर फारोका हातहरू लत्रक्क झुण्डिनेछन्। जब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्, तब म बेबिलोनको राजाको हातमा मेरो तरवार राखिदिन्छु; अनि त्यसले त्यो इजिप्टको विरुद्धमा चलाउनेछ।
26म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्न देशभरि छरपस्ट पारिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath