इजकिएल 28
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेहको वचन मकहाँ आयो:
2“हे मानिसको छोरा, टायरको शासकलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘आफ्नो हृदयको घमण्डमा तैँले भन्छस्, “म एक ईश्वर हुँ; म समुद्रको बीचमा एक ईश्वरको सिंहासनमा बस्छु।” तर तँ एउटा साधारण मानिस मात्र होस्, ईश्वर होइनस्; यद्यपि तैँले आफूलाई ईश्वर जत्तिकै बुद्धिमान् सम्झन्छस्।
3के तँ दानिएलभन्दा बुद्धिमान् छस्? के तँबाट कुनै पनि रहस्य लुकेको छैन?
4तेरो बुद्धि र समझशक्तिद्वारा तैँले आफ्नै निम्ति धनसम्पत्ति कमाएको छस्, र तेरो भण्डारमा आफ्नो निम्ति सुन र चाँदी थुपारेको छस्।
5तेरो व्यापारको धेरै सिपहरूद्वारा तैँले आफ्नो धनसम्पत्ति बढाएको छस्; अनि तेरो धनसम्पत्तिको कारण तेरो हृदय घमण्डले फुलेको छ।
6“ ‘यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘किनकि तैँले आफूलाई ईश्वर जत्तिकै बुद्धिमान् सम्झन्छस्;
7यसैकारण म जातिहरूमध्ये सबैभन्दा निष्ठुर विदेशीहरूलाई तेरो विरुद्धमा ल्याउनेछु; तिनीहरूले तेरो सुन्दरता र बुद्धिको विरुद्धमा आफ्नो तरवार निकाल्नेछन्, र तेरो चम्किलो गौरवलाई छेड्नेछन्।
8तिनीहरूले तँलाई तल खाडलमा ल्याउनेछन्; अनि समुद्रको बीचमा तेरो मरण एक हिंसक मृत्यु हुनेछ।
9त्यस बेला तँलाई मार्नेहरूको उपस्थितिमा, “म ईश्वर हुँ” भनी के तैँले भन्नेछस्? तँलाई मार्नेहरूको हातमा तँ ईश्वर होइनस्, तर एउटा मरणशील मानिस मात्र हुनेछस्।
10तँ परदेशीहरूको हातमा एउटा खतना नभएको मानिसजस्तै मर्नेछस्। किनकि मैले नै यो भनेको हुँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
11याहवेहको यो वचन मकहाँ आयो:
12“हे मानिसको छोरा, टायरका राजाको बारेमा एउटा विलाप गीत गा, र त्यसलाई भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘तँ पूर्णताको नमुना, बुद्धिले भरिपूर्ण र सुन्दरतामा सिद्ध थिइस्।
13तँ परमेश्वरको बगैँचा अदनमा थिइस्; सबै प्रकारका बहुमूल्य पत्थरले तँ आभूषित थिइस्: माणिक, पुष्पराज, हीरा, फिरोजा, गोमेद र स्फटिक, नीलमणि, हरितमणि र बहुमूल्य पत्थरले सजिएको थिइस्। तेरा गरगहनाहरू सुनले बनिएका थिए; तँ सृष्टि गरिएको दिनमा नै ती चीजहरू तयार गरिएका थिए।
14अभिभावक करूबको रूपमा तँ अभिषेक गरिएको थिइस्; किनकि मैले तँलाई नियुक्त गरेको थिएँ; तँ परमेश्वरको पवित्र पर्वतमा थिइस्; तँ आगोजस्तै चम्किलो पत्थरहरूको बीचमा हिँड्थिस्।
15तँ सृष्टि गरिएको दिनदेखि तँमा दुष्टता नपाउन्जेलसम्म तँ आफ्ना चालहरूमा निर्दोष थिइस्।
16तेरो चौतर्फी फैलिएको व्यापारद्वारा तँ अत्याचारले भरिइस्; अनि तैँले पाप गरिस्। यसकारण मैले तँलाई परमेश्वरको पर्वतबाट अपमानित गरेर धपाइदिएँ; अनि हे अभिभावक करूब, मैले तँलाई ती आगोजस्तै चम्किलो पत्थरहरूको बीचबाट निकालिदिएँ।
17तेरो सुन्दरताको कारण तेरो हृदय घमण्डी भयो; अनि आफ्नो गौरवको कारण तैँले आफ्नो बुद्धिलाई भ्रष्ट पारिस्। यसकारण मैले तँलाई पृथ्वीमा फ्याँकिदिएँ; मैले तँलाई राजाहरूको सामु एक तमाशा बनाइदिएँ।
18तेरा धेरै पापहरू र बेइमान व्यापारद्वारा तैँले आफ्ना पवित्रस्थानहरू अपवित्र बनाएको छस्। यसकारण मैले टायरको बीचबाट आगो निस्कन दिएँ, र त्यस आगोले तँलाई भस्म पारिदियो; मैले तँलाई भुइँमा खरानी तुल्याएँ, ती सबै मानिसहरूको आँखाको अगाडि, जसले तँलाई हेरिरहेका थिए।
19तँलाई चिन्ने सबै राष्ट्रहरू तँलाई देखेर भयभीत भए; तँ डरलाग्दो अन्त्यमा आइपुगेको छस्, र तेरो अस्तित्व अब रहनेछैन।’ ”
20याहवेहको यो वचन मकहाँ आयो:
21“हे मानिसको छोरा, तेरो अनुहार सीदोनको विरुद्धमा फर्का,
22र भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘हे सीदोन, म तेरो विरुद्धमा छु, र तेरो बीचमा म आफ्नो महिमा प्रकट गर्नेछु। जब म तँलाई दण्ड दिन्छु, र तेरै सामु आफूलाई पवित्र प्रमाणित गर्छु, तब म नै याहवेह हुँ भनी तैँले जान्नेछस्।
23म तँमाथि महामारी पठाउनेछु, र तेरा सडकहरूमा रगत बग्न दिनेछु। तेरो विरुद्धमा चारैतिर भएको तरवारले तेरै बीचमा मरिएकाहरू ढल्नेछन्। तब म नै याहवेह हुँ भनी तैँले जान्नेछस्।
24“ ‘अब उप्रान्त इस्राएलका मानिसहरूसँग तिनीहरूलाई घृणा गर्ने छिमेकीहरू हुनेछैनन्, जो सिउँडी काँडा र तीखा काँडाहरू हुन्। तब म नै प्रभु याहवेह हुँ भनी तिनीहरूले जान्नेछन्।
25“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: जब म इस्राएलका मानिसहरूलाई तिनीहरू तितरबितर भएका राष्ट्रहरूबाट भेला गर्छु, म जाति-जातिहरूका दृष्टिमा तिनीहरूद्वारा पवित्र प्रमाणित हुनेछु। तब तिनीहरू तिनीहरूका आफ्नै देशमा बस्नेछन्, जुन देश मैले आफ्नो सेवक याकोबलाई दिएको थिएँ।
26त्यहाँ तिनीहरू सुरक्षित बस्नेछन्, घरहरू बनाउनेछन् र दाखबारीहरू लगाउनेछन्; जब म इस्राएलीहरूलाई बदनाम गर्ने तिनीहरूका ती सबै छिमेकीहरूलाई दण्ड दिनेछु, तब म नै याहवेह तिनीहरूका परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन्।’ ”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath