इजकिएल 27
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेहको यो वचन मकहाँ आयो:
2“हे मानिसको छोरा, टायरको विषयमा एउटा विलाप गीत गा;
3समुद्रको प्रवेशद्वारमा रहेको, धेरै किनारहरूमा रहेका टायरका व्यापारी मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘हे टायर, तँ भन्छस्, “म सुन्दरतामा सिद्ध छु।”
4तेरा सिमानाहरू समुद्रको बीचमा फैलिएको थियो; तेरा निर्माणकर्ताहरूले तेरो सुन्दरतालाई सिद्ध पारिदिए।
5तिनीहरूले तेरा काठका फल्याकहरू सेनीरका सल्लाका रूखहरूबाट बनाए; तेरा निम्ति मस्तुल बनाउनलाई लेबनानबाट देवदारु ल्याए।
6तिनीहरूले तेरा पतवारहरू बाशानका फलाँटका रुखहरूबाट बनाए; तिनीहरूले तेरो जहाजको तला साइप्रसका किनारका सिसौका काठहरूले बनाए, र त्यसलाई हस्तीदन्तले सिँगारे।
7तेरो जहाजको पाल इजिप्टको मिहिन बुट्टेदार सुतीको कपडाबाट बनिएको थियो, र त्यसले तेरो झण्डाको काम पनि गर्थ्यो; तेरो चँदुवा निलो र बैजनी कपडाको साइप्रसको एलीशाह सहरका किनारबाट ल्याइएको थियो।
8सीदोन र अर्वदका मानिसहरू तेरा नाविक थिए; हे टायर, तेरा निपुण मानिसहरू जहाजमै चढेर बसेका चालकहरू थिए।
9जहाजमा टालटुल गर्ने कामको निम्ति गबालका अनुभवी र सिपालु कारिगरहरू जहाजमै थिए। समुद्रका सबै जहाजहरू र तिनीहरूका नाविकहरू तेरा मालसामानहरू व्यापार गर्न तँकहाँ आउँथे।
10“ ‘परसीयाका मानिसहरू, लूद र पूतका मानिसहरू तेरो सेनामा सेवा गर्ने सिपाहीहरू थिए। तिनीहरूले आफ्ना ढाल र टोपहरू तेरा पर्खालहरूमा झुण्ड्याएर तेरो गौरव बढाए।
11अर्वद र हेलेकका मानिसहरू तेरा पर्खालका चारैतिर पहरेदार थिए; गमादका मानिसहरू तेरा धरहराहरूमा थिए। तिनीहरूले आफ्ना ढालहरू तेरा पर्खालका चारैतिर झुण्ड्याउँथे; तेरो सुन्दरता पूर्ण बनाउँथे।
12“ ‘तेरा मालसामानहरूको धेरै धनसम्पत्ति भएको कारण तर्शीशले तँसँग व्यापार गर्थ्यो; तिनीहरूले तेरा व्यापारका सरसमानहरूसँग चाँदी, फलाम, टिन र सिसा साटासाट गरे।
13“ ‘ग्रीस, तूबल र मेशेकले तँसित व्यापार गर्थे; तिनीहरूले तेरा मालसामानहरूसित कमाराहरू र काँसाका सामग्रीहरूसँग साटासाट गर्थे।
14“ ‘बेथ-तोगर्माका मानिसहरूले रथका घोडाहरू, लडाइँका घोडाहरू र खच्चरहरू तेरा व्यापारका मालसामानहरूसित साटासाट गर्थे।
15“ ‘रोडसका मानिसहरूले तँसित व्यापार गरे; अनि समुद्र किनारका धेरै देशहरू तेरा ग्राहकहरू थिए; तिनीहरूले तँलाई हस्तीदन्त र आब्नुस काठ दामको रूपमा तिरे।
16“ ‘तेरा धेरै उत्पादित कुराहरूको कारण अरामले तँसित व्यापार गर्यो; तिनीहरूले नीलमणि, बैजनी वस्त्र, बुट्टेदार चीजहरू, मलमल सुती कपडा, मुगा र लालमणि तेरा व्यापारका मालसामानहरूसित साटासाट गरे।
17“ ‘यहूदा र इस्राएलले तँसित व्यापार गरे; तिनीहरूले तेरा मालसामानहरूसित मिन्नीतका गहुँ र नेभारा, मह, जैतुन तेल र सुगन्धित लेप साटासाट गरे।
18“ ‘तेरा धेरै उत्पादित कुराहरू र मालसामानहरूको धेरै धनसम्पत्ति भएको कारण दमस्कसले तँसित व्यापार गर्यो। तिनीहरूले हेल्बोनबाट ल्याएको मद्य र जहरबाट ल्याएको सेतो ऊन दिए।
19दानवंशीहरू र उजालका ग्रीकहरूले तँसित व्यापार गरे: तिनीहरूले तेरा सामानहरूसित फलाम, तेजपात र बोझो साटे।
20“ ‘ददानले तँसित जिनको व्यापार गर्यो।
21“ ‘अरब र केदारका सबै राजकुमारहरू तेरा ग्राहकहरू थिए; तिनीहरूले तँसित थुमाहरू, साँढे भेडाहरू र बाख्राहरूको व्यापार गरे।
22“ ‘शेबा र रामाहका व्यापारीहरूले तँसित व्यापार गरे; तिनीहरूले सबैभन्दा उत्तम किसिमका मसलाहरू, बहुमूल्य पत्थरहरू र सुनहरू तेरा मालसामानहरूसित साटासाट गरे।
23“ ‘हारान, कन्ने, अदन र शेबाका व्यापारीहरू, अश्शूर र किल्मदले तँसित व्यापार गरे।
24तिनीहरूले तेरा बजारमा सुन्दर वस्त्रहरू, निलो धागोले बनाएका लुगा, बुट्टेदार कपडाहरू र बटारिएका र कसिएका डोरीहरूसँग बनिएका रङ्गी-बिरङ्गी गलैँचाहरूको व्यापार गरे।
25“ ‘तर्शीशका जहाजहरूले तेरा सामानहरू बोकेर व्यापार गर्छन्। तँ समुद्रको बीचमा यात्रा गर्दा तेरो जहाज मालसामानले भरिएको हुन्छ।
26तेरा नाविकहरूले तँलाई बीच समुद्रमा लैजान्छन्, तर पूर्वीय बतासले तँलाई समुद्रको बीचमा टुक्रा-टुक्रा पारिदिनेछ।
27तेरो धनसम्पत्ति, व्यापारका मालसामानहरू, तेरा नाविकहरू, चालकहरू र टालटुल गर्ने मानिसहरू, तेरा व्यापारीहरू र तेरा सबै सिपाहीहरू; अनि तेरो सर्वनाशको दिन जहाजमा भएका सबै जना समुद्रको बीचमा डुबिजानेछन्।
28तेरा नाविकहरूले चीत्कार गर्दा समुद्र किनारका ठाउँहरू काम्नेछन्।
29पतवार खियाउनेहरू सबैले तिनीहरूका जहाजहरू त्यागिदिनेछन्; सबै नाविकहरू र चालकहरू समुद्रको किनारमा उभिनेछन्।
30तिनीहरूले आफ्ना सोर उचाल्नेछन्, र तेरा निम्ति धुरुधुरु रुनेछन्; तिनीहरूले आफ्ना शिरमाथि धुलो छर्नेछन् र खरानीमा लडीबुडी गर्नेछन्।
31तिनीहरूले तेरो कारण आफ्ना शिर खौरनेछन् र भाङ्ग्रा लगाउनेछन्। तेरा निम्ति तिनीहरू आत्मामा विचलित भएर शोकमा परी धुरुधुरु रुनेछन्।
32तिनीहरूले तेरो निम्ति विलाप गरिरहँदा, तिनीहरूले तेरो बारेमा यसो भन्दै एउटा विलाप गीत गाउनेछन्: “समुद्रले घेरिएको टायरलाई जस्तै कसैलाई कहिल्यै चुप गराइएको छ?”
33तेरो व्यापारिक मालसामानहरू समुद्रपार भएर जाँदा, तैँले धेरै जातिहरूलाई सन्तुष्ट पारिस्; तेरो ठूलो धनसम्पत्ति र तेरा मालसामानहरूले पृथ्वीका राजाहरूलाई तैँले धनी तुल्याइस्।
34अहिले तँ पानीको गहिराइमा समुद्रद्वारा चकनाचुर पारिएको छस्; तेरा मालसामानहरू र तेरा सबै साथीहरू तँसितै तल समुद्रको गहिराइमा नष्ट भएका छन्।
35समुद्रको किनारमा बस्नेहरू सबै तँलाई देखेर भयभीत भएका छन्; तिनीहरूका राजाहरू त्रासले थरथर काम्छन्, र तिनीहरूका अनुहारहरूमा डर छाएको छ।
36जाति-जातिहरूका व्यापारीहरूले तँलाई खिसी गर्छन्; तँ डरलाग्दो अन्त्यमा आइपुगेको छस्; अनि तँ अब सदाको निम्ति नष्ट हुनेछस्।’ ”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath