ईसाई धर्म
पछाडि

इजकिएल 25

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहको वचन मकहाँ आयो:

2“हे मानिसको छोरा, आफ्नो अनुहार अम्मोनीहरूको विरुद्धमा फर्का र तिनीहरूको विरुद्धमा अगमवाणी गर्।

3तिनीहरूलाई भन्, ‘प्रभु याहवेहको वचन सुन: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो पवित्रस्थान अपवित्र पारिँदा, इस्राएल देश उजाड पारिँदा र यहूदाका मानिसहरू निर्वासनमा लगिँदा, तिमीहरूले “आह! आह!” भन्यौ,

4यसकारण म तिमीहरूलाई अधिकारको रूपमा पूर्वका मानिसहरूलाई सुम्पिदिन लागेको छु। तिनीहरूले तिमीहरूका बीचमा तिनीहरूका छाउनी खडा गर्नेछन् र तिनीहरूका पालहरू टाँग्नेछन्; तिनीहरूले तिमीहरूका फलफूलहरू खानेछन् र तिमीहरूका वस्तुहरूका दूध पिउनेछन्।

5म रब्बालाई ऊँटहरू राख्ने ठाउँ र अम्मोनलाई भेडाहरू बस्‍ने ठाउँको रूपमा परिणत गर्नेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।

6किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूको हृदयमा भएको इर्ष्याको कारण इस्राएल देशको विरुद्धमा आनन्द मनाउँदै तिमीहरूले ताली बजाउँदै खुट्टा बजारेका छौ।

7यसकारण म मेरो हात तिमीहरूको विरुद्धमा उठाउनेछु, र तिमीहरूलाई जाति-जातिहरूकहाँ लुटको मालझैँ दिनेछु। म तिमीहरूलाई जाति-जातिहरूबाट अलग गरिदिनेछु, र देशहरूबाट तिमीहरूका नामनिशानै मेटिदिनेछु। म तिमीहरूलाई सर्वनाश गर्नेछु; अनि तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।’ ”

8“प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘किनकि मोआब र सेइरले यसो भने, “हेर, यहूदा अरू जातिहरूजस्तै भएको छ;”

9यसकारण म त्यसका सिमानाका सहरहरू—बेथ-यशीमोत, बाल-मोनर र किर्यातैम, जुन सहरहरू देशका गौरव हुन्, ती सहरहरूका सिमानाहरूदेखि नै सुरु गरेर मोआबका सिमानाका भिरालो भागहरूलाई म खुल्‍ला पारिदिनेछु।

10अनि म मोआबलाई अम्मोनीहरूसहित पूर्वका मानिसहरूलाई अधिकारको रूपमा दिनेछु, ताकि जातिहरूको बीचमा अम्मोनीहरूको नामनिशानै रहनेछैन;

11अनि म मोआबमाथि दण्ड ल्याउनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ”

12“प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘एदोमले यहूदाको विरुद्धमा बदला लिएको कारण एदोम अझ धेरै दोषी ठहरियो।

13यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म एदोमको विरुद्धमा मेरो हात उठाउनेछु; अनि त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू दुवैलाई मारिदिनेछु। म त्यसलाई ध्वस्त पारिदिनेछु, र तेमानदेखि ददानसम्म तिनीहरू तरवारद्वारा मारिनेछन्।

14म मेरो प्रजा इस्राएलका हातद्वारा एदोमसँग बदला लिनेछु; अनि तिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोमसित व्यवहार गर्नेछन्; तब तिनीहरूले मेरो बदला जान्‍नेछन्, प्रभु याहवेह भन्‍नुहुन्छ।’ ”

15“प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘किनकि पलिश्तीहरूले बदला लिने काम गरे, र आफ्ना हृदयमा ईर्ष्या लिएर बदला लिए; अनि पुरानो दुश्मनी लिएर यहूदालाई सर्वनाश पार्न खोजे।

16यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले मेरो हात पलिश्तीहरूको विरुद्धमा उठाउन लागेको छु; अनि म करेतीहरूलाई र किनारतिर बस्‍ने अरू बाँकी रहेका जातिहरूलाई पनि सर्वनाश गर्नेछु।

17म तिनीहरूमाथि मेरो भयङ्कर बदला लिनेछु, र मेरो क्रोधमा तिनीहरूलाई दण्ड दिनेछु। जब म तिनीहरूमाथि बदला लिनेछु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath