ईसाई धर्म
पछाडि

इजकिएल 20

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1सातौँ वर्षको पाँचौँ महिनाको दसौँ दिनमा, इस्राएलका केही प्रधानहरू याहवेहकहाँ सल्‍लाह लिन आए, र तिनीहरू मेरो सामु बसे।

2तब याहवेहको वचन मकहाँ आयो:

3“हे मानिसको छोरा, इस्राएलका प्रधानहरूसँग कुरा गरेर तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: के तिमीहरू मसँग सल्‍लाह लिन आएका हौ? म जीवित भएझैँ, तिमीहरूलाई मसँग सल्‍लाह लिन दिनेछैन, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’

4“के तँ तिनीहरूको न्याय गर्छस्? हे मानिसको छोरा, के तँ तिनीहरूको न्याय गर्छस्? त्यसो भए तिनीहरूलाई तिनीहरूका पितापुर्खाहरूका घिनलाग्दा कामहरूबारे प्रस्ट बताइदे,

5र तिनीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जुन दिन मैले इस्राएललाई चुनेँ, र मैले आफ्नो हात उचालेर याकोबका सन्तानहरूसँग शपथ खाएँ; अनि आफूलाई इजिप्टमा प्रकट गर्दै मैले आफ्नो हात उचालेर तिनीहरूलाई भनेँ, “म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।”

6त्यस दिन मैले तिनीहरूलाई इजिप्टबाट निकालेर मैले तिनीहरूका निम्ति खोजेको देशमा, अर्थात् दूध र मह बग्ने देशमा तिनीहरूलाई ल्याउनेछु भनी शपथ खाएँ, जुन देशचाहिँ सबै देशहरूमध्ये सुन्दर थियो।

7मैले तिनीहरूलाई भनेँ, “तिमीहरू हरेकले आँखा लगाएका ती घृणित मूर्तिहरू त्यागिदेओ, र इजिप्टका मूर्तिहरूद्वारा आफूलाई अशुद्ध नपार! म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।”

8“ ‘तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरे र मेरा कुरा सुनेनन्; तिनीहरूले आफ्ना आँखा गाडेका ती घृणित मूर्तिहरूलाई त्यागेनन्, न त तिनीहरूले इजिप्टका मूर्तिहरूलाई नै त्यागे। यसैकारण मैले भनेँ, म तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनेछु, र इजिप्टमा तिनीहरूको विरुद्ध मेरो रिस खन्याउनेछु।

9तर मेरो नामको खातिर मैले तिनीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएँ। तिनीहरू जुन जातिहरूको बीचमा बसोबास गरेका थिए, र जसको आँखाको अगाडि मैले आफूलाई इस्राएलीहरूकहाँ प्रकट गरेको थिएँ, तिनीहरूकै अगाडि मेरो नाम अपवित्र नहोस् भनेर मैले यसो गरेँ।

10यसकारण मैले तिनीहरूलाई इजिप्टबाट निकालेर उजाडस्थानमा ल्याएँ।

11मैले तिनीहरूलाई मेरा उर्दीहरू दिएँ, र तिनीहरूलाई मेरा व्यवस्थाहरू सिकाएँ, ताकि ती पालन गर्ने मानिस ती व्यवस्थाहरूद्वारा नै जीवित रहोस्।

12मेरो र तिनीहरूको बीचमा एउटा चिन्हको रूपमा मैले तिनीहरूलाई मेरा शब्बाथ दिनहरू पनि दिएँ, ताकि म याहवेहले नै ती शब्बाथहरूलाई पवित्र बनाएको हुँ भनी तिनीहरूले जानून्।

13“ ‘तापनि इस्राएलका मानिसहरूले उजाडस्थानमा मेरो विरुद्धमा विद्रोह गरे। तिनीहरूले मेरा उर्दीहरू पालन गरेनन्, तर तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरे; यद्यपि ती नियमहरू पालन गर्ने मानिस तीद्वारा नै जीवित रहनेछ; अनि तिनीहरूले मेरा शब्बाथहरूलाई पूर्ण रूपमा अपवित्र तुल्याए। यसकारण मैले भनेँ, म तिनीहरूमाथि मेरो क्रोध खन्याउनेछु, र तिनीहरूलाई उजाडस्थानमा नष्‍ट गर्नेछु।

14तर मेरो नामको खातिर जुन जातिहरूको आँखाको अगाडि मैले तिनीहरूलाई निकालेर ल्याएँ, तिनीहरूको दृष्‍टिमा मेरो नाम अपवित्र नहोस् भनेर मैले यसो गरेँ।

15मैले तिनीहरूलाई उजाडस्थानमा हात उचालेर तिनीहरूसँग शपथ पनि खाएँ, कि म तिनीहरूलाई मैले दिएको देशमा ल्याउनेछैनँ—दूध र मह बग्ने देश, सबै देशहरूमध्ये सबैभन्दा सुन्दर देश;

16किनकि तिनीहरूले मेरा व्यवस्थाहरूलाई त्यागिदिए, र मेरा उर्दीहरू पालन गरेनन्; अनि मेरा शब्बाथ दिनहरू अपवित्र पारे। किनकि तिनीहरूको हृदय तिनीहरूका मूर्तिहरूप्रति समर्पित थिए।

17तापनि मैले तिनीहरूलाई दयाको दृष्‍टिले हेरेँ, र तिनीहरूलाई नाश गरिनँ, अथवा तिनीहरूलाई उजाडस्थानमा सर्वनाश गरिनँ।

18मैले उजाडस्थानमा तिनीहरूका छोराछोरीहरूलाई भनेँ, “तिमीहरूका आमाबुबाहरूका आदेशहरूअनुसार नहिँड, अथवा तिनीहरूका नियमहरू पालन नगर, न त तिनीहरूका मूर्तिहरूद्वारा आफूलाई अपवित्र पार।

19म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; मेरा उर्दीहरू पालन गर र तिनलाई होसियारीसाथ पछ्याओ।

20मेरा शब्बाथ दिनहरू पवित्र राख; तब ती शब्बाथहरू हाम्रो बीचमा एउटा चिन्ह होऊन्। तब म नै याहवेह तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ।”

21“ ‘तर तिनीहरूका सन्तानले पनि मेरो विरुद्धमा विद्रोह गरे: तिनीहरूले मेरा उर्दीहरू पालन गरेनन्; तिनीहरूले मेरा व्यवस्थाहरू होसियारीसाथ पालन गरेनन्, जसका विषयमा मैले भनेको थिएँ, “ती पालन गर्ने मानिस ती व्यवस्थाहरूद्वारा नै जीवित रहनेछ,” र तिनीहरूले मेरा शब्बाथ दिनहरूलाई अपवित्र पारे। यसकारण मैले भनेँ: म तिनीहरूमाथि मेरो क्रोध खन्याउनेछु, र उजाडस्थानमा म मेरो रिस तिनीहरूको विरुद्धमा पोखाउनेछु।

22तर मैले मेरो हातलाई रोकेँ, र मेरो नामको खातिर, जुन जातिहरूको आँखाको अगाडि मैले तिनीहरूलाई निकालेर ल्याएको थिएँ, तिनीहरूको दृष्‍टिमा मेरो नाम अपवित्र नहोस् भनेर मैले यसो गरेँ।

23साथै मैले उजाडस्थानमा हात उठाएर तिनीहरूलाई जातिहरूको बीचमा तितरबितर पारिदिनेछु र तिनीहरूलाई देशभरि छरपस्ट पारिदिनेछु भनी शपथ पनि खाएँ;

24किनकि तिनीहरूले मेरा नियमहरू पालन गरेका थिएनन्, तर मेरा उर्दीहरूलाई त्यागेका थिए, र मेरा शब्बाथ दिनहरू अपवित्र तुल्याइएका थिए; अनि तिनीहरूका आँखा तिनीहरूका आमाबुबाहरूका मूर्तिहरूमा गाडेका थिए।

25यसकारण मैले तिनीहरूलाई अरू धार्मिक विधिहरू दिएँ, जुन तिनीहरूका निम्ति असल थिएनन् र यस्ता नियमहरू जसद्वारा तिनीहरू जीवित रहन सक्दैनथे;

26मैले तिनीहरूलाई तिनीहरूका उपहारहरूद्वारा हरेक जेठा छोराहरूलाई बलिदानहरूद्वारा अशुद्ध हुन दिएँ, ताकि तिनीहरू आतङ्कले भरिऊन्; यसरी तिनीहरूले म नै याहवेह हुँ भनी जानून्।’

27“यसकारण हे मानिसको छोरा, इस्राएलका मानिसहरूसँग कुरा गरेर तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: यसमा पनि तिमीहरूका पितापुर्खाहरू विश्‍वासघाती भएर मलाई त्यागेर मेरो निन्दा गरे:

28जब मैले तिनीहरूलाई दिन्छु भनी शपथ खाएको देशमा मैले तिनीहरूलाई ल्याएँ; जब तिनीहरूले कुनै पनि अग्लो स्थान, अथवा कुनै पनि झ्याम्म परेको रूख देख्थे, तब त्यहाँ तिनीहरूले आफ्ना बलिदानहरू चढाए, र तिनीहरूले मूर्तिहरूलाई भेटीहरू चढाए; अनि तिनीहरूका सुगन्धित धूप चढाए। यसरी तिनीहरूले आफ्ना अर्घबलिहरू चढाएर मलाई रिस उठाए।

29तब मैले तिनीहरूलाई भनेँ: तिमीहरू जाने गरेका ती अग्लो स्थान के हो र?’ (यसलाई आजको दिनसम्मै बामा भनिन्छ)।

30“यसकारण इस्राएलीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: के तिमीहरू पनि आफ्ना पितापुर्खाहरूले जस्तै आफूलाई अपवित्र पार्छौ? र तिनीहरूका घिनलाग्दा आकृतिहरूसँग व्यभिचार गर्छौ?

31जब तिमीहरूले तिमीहरूका उपहारहरू अर्पण गर्छौ, आफ्ना छोराछोरीहरूलाई आगोमा बलि चढाउँछौ, तब तिमीहरूले आजको दिनसम्मै तिमीहरूका मूर्तिहरूद्वारा आफूलाई अशुद्ध पारिरहेका छौ। हे इस्राएलीहरू हो, के तिमीहरूले मसँग सोधपुछ गर्न पाऔला र? म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म तिमीहरूलाई मसँग सोधपुछ गर्न दिनेछैनँ।

32“ ‘तिमीहरू भन्छौ, “हामी ती अरू देशहरूजस्तै, संसारका ती अरू जातिहरूजस्तै हुन चाहन्छौँ, जसले काठ र ढुङ्गालाई पूजा गर्दछन्।” तर तिमीहरूका मनमा भएका कुरा कहिल्यै पूरा हुनेछैन।

33म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म तिमीहरूमाथि शक्तिशाली हात र फैलिएको पाखुराद्वारा र पोखिएको क्रोधसँग शासन गर्नेछु।

34म तिमीहरूलाई भेला गर्नेछु, जुन देशहरूमा तिमीहरू छरपस्ट भएका छौ। म तिमीहरूलाई शक्तिशाली हात र फैलिएको पाखुरा र पोखिएको क्रोधसँग जाति-जातिहरूका बीचबाट निकालेर ल्याउनेछु।

35म तिमीहरूलाई जातिहरूको मरुभूमिमा ल्याउनेछु, र त्यहाँ म तिमीहरूलाई आमने-सामने न्याय गर्नेछु।

36जसरी मैले इजिप्टको मरुभूमिमा तिमीहरूका पितापुर्खाहरूको न्याय गरेको थिएँ, त्यसरी नै म तिमीहरूको न्याय गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

37तिमीहरू मेरो लहुरोमुनिबाट भएर छिर्दा म तिमीहरूलाई हेर्नेछु, र म तिमीहरूलाई करारको बन्धनमा ल्याउनेछु।

38म तिमीहरूलाई मलाई विरोध गर्नेहरू र मेरो विरुद्धमा विद्रोह गर्नेहरूबाट शुद्ध गर्नेछु। यद्यपि म तिनीहरू बसिरहेका देशबाट तिनीहरूलाई निकालेर ल्याउनेछु, तर पनि तिनीहरू इस्राएलमा प्रवेश गर्न पाउनेछैनन्। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।

39“ ‘तिमीहरूको बारेमा हे इस्राएलका मानिसहरू हो, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जाओ र हरेकले आफ्ना मूर्तिहरूको सेवा गर! तर पछिबाट तिमीहरूले निश्‍चय नै मेरा कुरा सुन्‍नेछौ, र मेरो पवित्र नामलाई तिमीहरूका उपहारहरू र मूर्तिहरूद्वारा कहिल्यै पनि अपवित्र तुल्याउनेछैनौ।

40किनकि मेरो पवित्र पर्वतमा, इस्राएलको अग्लो पर्वतमा, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, त्यहाँ त्यस देशमा इस्राएलका सारा मानिसहरूले मेरो सेवा गर्नेछन्, र त्यहाँ म तिनीहरूलाई ग्रहण गर्नेछु। त्यहाँ म तिमीहरूका अति उत्तम उपहारहरूका साथै तिमीहरूका सबै पवित्र बलिदानहरू ग्रहण गर्नेछु।

41जब म तिमीहरूलाई जातिहरूबाट निकालेर तिमीहरू छरपस्ट भएका देशहरूबाट भेला गर्नेछु, तब म तिमीहरूलाई सुगन्धित धूपझैँ ग्रहण गर्नेछु; अनि जातिहरूको दृष्‍टिमा म तिमीहरूका बीचमा पवित्र प्रमाणित हुनेछु।

42जब म तिमीहरूलाई इस्राएल देशमा ल्याउनेछु, जुन देश मैले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी हात उचालेर शपथ खाएको थिएँ, तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।

43त्यहाँ तिमीहरूले आफ्ना चालचलन र तिमीहरूले आफूलाई अशुद्ध बनाएका सबै कामहरू सम्झनेछौ; अनि तिमीहरूले गरेका सबै दुष्‍ट कामहरूका निम्ति तिमीहरूले आफैँलाई घृणा गर्नेछौ।

44हे इस्राएलका मानिसहरू हो, मैले तिमीहरूसँग तिमीहरूका दुष्‍ट चालहरू र तिमीहरूका भ्रष्‍ट कामहरूअनुसार होइन, तर जब म मेरो नामको खातिर व्यवहार गर्छु, तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”

45अनि याहवेहको यसो भन्‍ने वचन मकहाँ आयो:

46“हे मानिसको छोरा, तेरो अनुहार दक्षिणतिर फर्का; दक्षिणको विरुद्धमा प्रचार गर्, र दक्षिण देशको जङ्गलको विरुद्धमा अगमवाणी गर्।

47दक्षिणको जङ्गललाई भन्: ‘याहवेहको वचन सुन्। प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर्, मैले तँलाई आगो लगाउन आँटेको छु; अनि यसले तेरा सबै हरिया रूखहरू र सबै सुक्खा रूखहरू भस्म पार्नेछ। त्यो दन्केको आगोको ज्वाला कसैले निभाउन सक्नेछैन र दक्षिणबाट उत्तरसम्मका सबैका अनुहार आगोको ज्वालाद्वारा पोल्नेछ।

48हरेक मानिसले म याहवेहले नै यो आगो सल्काएको हुँ भनी जान्‍नेछन्; यो आगो निभ्नेछैन।’ ”

49तब मैले भनेँ, “हे, प्रभु याहवेह! तिनीहरूले मेरो बारेमा भन्दैछन्, ‘त्यसले दृष्‍टान्तहरू मात्र त बोलेको होइन र?’ ”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath