ईसाई धर्म
पछाडि

इजकिएल 1

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तीसौँ वर्षको चौथो महिनाको पाँचौँ दिनमा, जब म कबार नदीको छेउमा निर्वासन गरेर लगिएका यहूदी कैदीहरूसँग थिएँ, तब स्वर्ग खोलियो र मैले परमेश्‍वरको दर्शन देखेँ।

2त्यस महिनाको पाँचौँ दिन, राजा यहोयाकीन बेबिलोनको निर्वासनमा लगिएको पाँचौँ वर्ष थियो।

3बेबिलोनीहरूको देशमा कबार नदीको किनारमा याहवेहको वचन बूजीका छोरा पुजारी इजकिएलकहाँ आयो। त्यहाँ याहवेहको हात तिनीमाथि थियो।

4जब मैले हेरेँ, उत्तर दिशाबाट एउटा आँधीबेहरी—चम्कँदै गरेको बिजुलीसहित अति चहकिलो ज्योतिले घेरिएको एउटा विशाल बादल आइरहेको देखेँ। आगोको बीच भागमा चाहिँ बल्दैगरेको चहकिलो काँसाको धातुजस्तै देखिन्थ्यो।

5अनि त्यस आगोमा चार जीवित प्राणीहरूजस्ता केही देखिन्थ्यो। तिनीहरूको आकार हेर्दा एउटा मानिसको जस्तो थियो;

6तर ती हरेक प्राणीका चार वटा अनुहार र चार वटा पखेटाहरू थिए।

7तिनीहरूका खुट्टाहरू सीधा थिए; तिनीहरूका पैताला बाछाका खुरझैँ र टल्काइएका काँसाझैँ टल्कन्थे।

8ती चारै प्राणीहरूका पखेटामुनि चारैपट्टि मानिसका हातहरू थिए। ती चारै प्राणीका अनुहार र पखेटाहरू थिए।

9अनि एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो। तिनीहरू हरेक यताउता नमोडि सीधा अगाडि बढ्थे।

10ती चारै वटा प्राणीहरूका अनुहार यस्ता देखिन्थे: हरेकको एउटा अनुहार मानिसको जस्तो थियो; अनि हरेकको दाहिनेपट्टिको अनुहार सिंहको जस्तै थियो; अनि देब्रेपट्टिको अनुहार गोरुको जस्तै थियो; अनि हरेकको पछाडिपट्टिको अनुहार चीलको जस्तो थियो।

11तिनीहरूका अनुहार यस्तै थिए। ती प्राणीहरूका दुई वटा पखेटाहरू माथितिर फैलिएका थिए। हरेक प्राणीका दुई वटा पखेटाहरूले दुवैतिर एउटा पखेटाले अर्को प्राणीको पखेटामा छोइरहेको थियो; अनि तिनीहरू हरेकले आफ्ना दुई वटा पखेटाले आफ्ना शरीर ढाकेका थिए।

12ती हरेक जीवित प्राणी चारै दिशापट्टि सीधा अगाडि बढ्थे। आत्मा जता-जता जान्थे, तिनीहरू त्यतै जान्थे; तिनीहरू यताउता नफर्की अगाडि बढ्थे।

13ती चार जीवित प्राणीहरूका रूप आगोका बल्दैगरेको कोइलाजस्तो अथवा राँकोजस्तो देखिन्थ्यो। ती प्राणीहरूका बीचमा बलिरहेको आगो यताउता जान्थ्यो; त्यो चहकिलो थियो र त्यसबाट बिजुली निस्कन्थ्यो।

14ती जीवित प्राणीहरू बिजुलीको चमकजस्तै यताउता वेगसित दौडन्थे।

15जब मैले ती जीवित प्राणीहरूलाई हेर्दैथिएँ, ती चार वटा अनुहार भएका जीवित प्राणीहरूको छेउमा जमिनमाथि एक-एक वटा चक्‍का थियो।

16ती चारै वटा चक्‍काहरूका आकार र बनावट यस्तो थियो: तिनीहरू चम्किलो पुष्परागजस्तै थिए; अनि ती चारै एकसमान देखिन्थे। ती चक्‍काहरूको बनावटचाहिँ एउटा चक्‍काको बीचमा अर्को चक्‍का वारपार भएजस्तो थियो।

17ती चक्‍काहरू जीवित प्राणीहरू फर्केका चार दिशाहरूमध्ये कुनै पनि दिशातर्फ जान सक्थे; जब ती प्राणीहरू अगाडि बढ्थे, तब चक्‍काहरू पनि अर्को दिशातिर यताउता नफर्की अगाडि बढ्थे।

18ती चक्‍काहरूका घेरा अग्ला र डरलाग्दा थिए; अनि चारै वटा घेराहरूका वरिपरि आँखै-आँखाहरूले घेरिएका थिए।

19जब ती जीवित प्राणीहरू अगाडि बढ्थे, तब तिनीहरूका छेउमा भएका चक्‍काहरू पनि अगाडि बढ्थे; अनि ती जीवित प्राणीहरू जमिनबाट उठ्दा ती चक्‍काहरू पनि माथि उठ्थे।

20आत्मा जता-जता जान्थे, तिनीहरू पनि त्यतैतिर नै जान्थे; अनि ती चक्‍काहरू तिनीहरूसितै माथि उठ्थे; किनकि ती जीवित प्राणीहरूका आत्मा ती चक्‍काहरूमा थियो।

21जब ती प्राणीहरू अगाडि बढ्थे, तब चक्‍काहरू पनि अगाडि बढ्थे; जब ती प्राणीहरू खडा हुन्थे, तब ती चक्‍काहरू पनि खडा हुन्थे; अनि जब ती प्राणीहरू जमिनबाट माथि उढ्थे, तब ती चक्‍काहरू तिनीहरूसितै उढ्थे; किनकि ती जीवित प्राणीहरूको आत्मा ती चक्‍काहरूमा थिए।

22ती जीवित प्राणीहरूका शिरमाथि हिउँझैँ चम्किलो, डरलाग्दो अन्तर देखिन्थ्यो।

23त्यस अन्तरमुनि तिनीहरूका पखेटाहरू एउटाको पखेटाले अर्काको पखेटालाई छुने गरी सीधै फैलिएका थिए। हरेकसँग तिनीहरूका शरीरलाई छोप्ने दुई वटा पखेटाहरू पनि थिए।

24जब ती प्राणीहरू अगाडि बढ्थे, तब वेगसित बगिरहेका पानीको गर्जनजस्तो, सर्वशक्तिमान्‌को आवाजजस्तो, सेनाको होहल्‍लाजस्तो, तिनीहरूका पखेटाहरूको आवाज मैले सुन्थे। जब तिनीहरू खडा हुन्थे, तब तिनीहरूले आफ्ना पखेटाहरू तल झार्थे।

25जब तिनीहरू आफ्ना पखेटा तल झारेर उभिरहेका थिए, तब तिनीहरूका शिरमाथिको अन्तरबाट एउटा आवाज आयो।

26तिनीहरूका शिरमाथि भएको अन्तरमाथि नीलमणिको सिंहासनजस्तो देखिन्थ्यो; अनि मास्तिर त्यस सिंहासनमा मानिसको जस्तै एउटा आकृति थियो।

27मैले तिनको कम्मरदेखि मास्तिर आगोले भरिएको बल्दैगरेको चम्किलो धातुजस्तो देखेँ; अनि कम्मरदेखि मुन्तिर पनि आगोजस्तै देखिन्थ्यो; अनि तिनको वरिपरि चम्किलो ज्योतिले घेरिराखेको थियो।

28पानी परेको दिन बादलमा इन्द्रेणी देखिएजस्तै तिनका वरिपरि चम्किलो ज्योति थियो। याहवेहको महिमाको प्रतिरूपको रूप यसरी देखा पर्‍यो। जब मैले त्यो देखेँ, म घोप्टो परेर भुइँमा लडेँ; अनि मैले कोही बोलिरहेको सोर सुनेँ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath