ईसाई धर्म
पछाडि

इजकिएल 14

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1इस्राएलका केही प्रधानहरू मकहाँ आएर मेरो सामु बसे।

2तब याहवेहको वचन मकहाँ आयो:

3“हे मानिसको छोरा, यी मानिसहरूले आफ्ना हृदयमा मूर्तिहरू खडा गरेका छन्, र तिनीहरूले अधर्मका ठक्‍कर लाग्ने ढुङ्गा आफ्नै अनुहारको सामु राखेका छन्। तिनीहरूले मलाई केही सोधखोज गर्न आउँदा के मैले अनुमति दिनुपर्छ र?

4यसकारण तिनीहरूसँग कुरा गर् र तिनीहरूलाई भनिदे, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जब कुनै इस्राएलीले आफ्नो हृदयमा मूर्तिहरू बसाल्छ, र तिनीहरूका अधर्मको ठक्‍कर लाग्ने ढुङ्गा राख्छ र अगमवक्ताकहाँ जान्छ, म याहवेह आफैँले तिनीहरूको ठूलो मूर्तिपूजाको निम्ति तिनीहरूलाई जवाफ दिनेछु।

5इस्राएलका मानिसहरू, जसले आफ्ना मूर्तिहरूका कारण मलाई त्यागिदिएका छन्; तिनीहरूका हृदयलाई फेरि आफूतिर फर्काउनलाई म यो काम गर्नेछु।’

6“यसकारण इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: पश्‍चात्ताप गर! तिमीहरूका मूर्तिहरूबाट फर्क र आफ्ना सबै घिनलाग्दा कामहरूलाई छोडिदेओ!

7“ ‘जब कुनै इस्राएली अथवा इस्राएलमा बस्‍ने कुनै पनि विदेशीले आफूलाई मदेखि अलग गरेर आफ्नो हृदयमा मूर्ति बसाल्छ, र तिनीहरूको अधर्मको ठक्‍कर लाग्ने ढुङ्गा आफ्नो अनुहारको सामु राख्छ; अनि त्यसपछि मसँग सोधखोज गर्न अगमवक्ताकहाँ जान्छ, म याहवेह आफैँले तिनीहरूलाई जवाफ दिनेछु।

8म मेरो मुख त्यसको विरुद्धमा फर्काउनेछु; अनि त्यसलाई एउटा नमुना र गिल्‍लाको पात्र तुल्याउनेछु। म त्यसलाई मेरा प्रजाबाट अलग गर्नेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।

9“ ‘अनि यदि अगमवक्तालाई लोभ्याएर अगमवाणी गर्न लगाइएको छ भने म याहवेहले नै त्यस अगमवक्तालाई लोभ्याएको हुँ; अनि म आफ्नो हात त्यसको विरुद्धमा पसार्नेछु र त्यसलाई मेरा प्रजा इस्राएलको बीचबाट नाश गरिदिनेछु।

10तिनीहरूले आफ्ना दोष बोक्नेछन्—अगमवक्ता र सल्‍लाह लिन आउने दुवै बराबर दोषी ठहरिनेछन्।

11तब इस्राएलका मानिसहरू मदेखि फेरि कहिल्यै बरालिएर जानेछैनन्, न त तिनीहरूले आफैँलाई आफ्ना पापहरूद्वारा फेरि कहिल्यै अशुद्ध पार्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन्; अनि म तिनीहरूका परमेश्‍वर हुनेछु, प्रभु याहवेह भन्‍नुहुन्छ।’ ”

12याहवेहको यो वचन मकहाँ आयो:

13“हे मानिसको छोरा, यदि कुनै देशले अविश्‍वासी भएर मेरो विरुद्धमा पाप गर्छ भने त्यसको विरुद्धमा म आफ्नो हात पसारेर त्यसको खानेकुराको भण्डार बन्द गरिदिनेछु। म त्यसमाथि अनिकाल पठाएर मानिसहरू र पशुहरूलाई मार्नेछु।

14यी तीन जना मानिसहरू—नोआ, दानिएल र इयोब त्यहाँ भए तापनि तिनीहरूले आफ्ना धार्मिकताद्वारा आफूलाई मात्र बचाउन सक्नेथिए, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

15“अथवा यदि मैले त्यस देशमा जङ्गली पशुहरू हिँड्न लगाएँ भने, र तिनीहरूलाई सन्तानविहीन पारिदिएँ; अनि त्यो देश उजाड बनाइदिएँ भने ती जङ्गली पशुहरूको कारण त्यो ठाउँबाट कोही पनि नहिँडून्;

16प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ, यदि यी तीन जना मानिसहरू नै त्यहाँ भए तापनि तिनीहरूले आफ्नै छोराछोरीहरूसमेत बचाउन सक्नेथिएनन्। तिनीहरू आफैँ मात्र छुटाइनेथिए, तर देशचाहिँ उजाड नै हुनेथियो।

17“अथवा यदि मैले त्यस देशको विरुद्धमा तरवार ल्याएँ भने, र ‘यो तरवार देशभरि नै चलोस्,’ भनेर त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू मारिदिएँ भने,

18प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ; यदि यी तीन जना मानिसहरू नै त्यहाँ भए तापनि तिनीहरूले पनि आफ्नै छोराछोरीहरू छुटाउन सक्नेथिएनन्। तिनीहरू आफैँ मात्र छुटाइनेथिए।

19“अथवा यदि मैले त्यस देशमा रूढी पठाएँ, र रक्तपातद्वारा आफ्नो क्रोध त्यसमाथि खन्याएँ, र देशका मानिसहरू र तिनीहरूका पशुहरू मारिदिएँ भने,

20प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ; यदि त्यस देशमा नोआ, दानिएल र इयोब नै भए तापनि तिनीहरूले न त छोरा, न त छोरीलाई बचाउन सक्नेथिए। तिनीहरूले आफ्ना धार्मिकताद्वारा आफूलाई मात्र बचाउनेथिए।

21“किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले यरूशलेमको विरुद्धमा मेरा चार वटा डरलाग्दा दण्डहरू—तरवार, अनिकाल, जङ्गली पशुहरू र रूढी; अनि त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू मार्नलाई पठाउँदा झन् कति खराब होला!

22तापनि त्यहाँ केही छोडिनेछन्—छोराहरू र छोरीहरू, जो त्यस देशबाट निकालिनेछन्। तिनीहरू तिमीहरूकहाँ आउनेछन्; अनि जब तिमीहरूले तिनीहरूका चाल र कामहरू देख्नेछौ, तब मैले यरूशलेममाथि ल्याएका सर्वनाशहरूको बारेमा तिमीहरूले सान्त्वना पाउनेछौ—मैले त्यस सहरमाथि ल्याएको हरेक विपत्तिको निम्ति सान्त्वना पाउनेछौ।

23तिनीहरूका चाल र तिनीहरूका कामहरू देखेर तिमीहरूले सान्त्वना पाउनेछौ; किनकि तिमीहरूले जान्‍नेछौ, कि मैले त्यस देशमा विनाकारण केही गरेको थिइनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath