इजकिएल 12
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेहको वचन मकहाँ आयो:
2“हे मानिसको छोरा, तँ विद्रोही मानिसहरूका बीचमा बस्दैछस्। तिनीहरूका आँखाहरू त छन्, तर देख्दैनन्; तिनीहरूका कानहरू त छन्, तर सुन्दैनन्; किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्।
3“यसकारण हे मानिसको छोरा, निर्वासनको निम्ति आफ्ना सरसामानहरू दिउँसो तयार पार्! मानिसहरूले हेरिरहेकै बेला बाहिर निस्की, र तँ जहाँ छस्, त्यहीँबाट अर्को ठाउँमा जा। यद्यपि तिनीहरू विद्रोही मानिसहरू हुन, तर पनि सायद तिनीहरूले केही बुझ्नेछन्।
4निर्वासनको निम्ति पोको पारेका तेरा सरसामानहरू तिनीहरूका आँखाकै सामु दिउँसै बाहिर झिक्। अनि तिनीहरूले हेरिरहेकै बेला तँ बेलुका कैदमा परेर जानेहरूजस्तो निस्केर जानू।
5तिनीहरूले हेरिरहेकै बेला भित्ता फोरेर तेरा सरसामानहरू त्यहाँबाट बाहिर निकाल्।
6तिनीहरूले हेरिरहेकै बेला ती सरसामानहरू तेरो काँधमा राख्, र साँझपख बोकेर लैजा। तैँले आफ्नो अनुहार छोप्, ताकि तैँले भूमि नदेखोस्; किनकि मैले तँलाई इस्राएलीहरूका निम्ति एउटा चिन्ह बनाएको छु।”
7यसकारण मलाई आज्ञा दिइएअनुसार मैले गरेँ। दिउँसो मैले निर्वासनको निम्ति पोको पारेको आफ्ना सरसामानहरू निकालेँ। त्यसपछि बेलुकी मैले आफ्ना हातले भित्ता फोरेँ। मैले आफ्ना सामानहरू तिनीहरूले हेरिरहेकै बेला आफ्ना काँधमा बोकेर साँझपखमा निकालेँ।
8बिहान याहवेहको वचन मकहाँ आयो:
9“हे मानिसको छोरा, के इस्राएलका ती विद्रोही मानिसहरूले, ‘के गरेको?’ ” भनेर तँलाई सोधेनन् र?
10“ती सोध्नेहरूलाई भन्, प्रभु याहवेह यसो भन्नुहुन्छ: यो अगमवाणी यरूशलेमका राजकुमार र त्यहाँ भएका सबै इस्राएलीहरूसँग सम्बन्धित छ।
11तिनीहरूलाई भन्, ‘म तिमीहरूका निम्ति एउटा चिन्ह हुँ।’ “जस्तो मैले गरेको छु, तिनीहरूलाई त्यस्तै गरिनेछ। तिनीहरू देशबाट कैदीहरूजस्तै निर्वासनमा जानेछन्।
12“तिनीहरूमध्ये राजकुमारले साँझमा आफ्ना सामानहरू आफ्नो काँधमा बोकेर निस्कनेछ, र छिर्नलाई भित्तामा प्वाल बनाउनेछ। उसले आफ्नो अनुहार छोप्नेछ, ताकि जमिन नदेखोस्।
13म त्यसको निम्ति मेरो जाल फिँजाउनेछु, र त्यो मेरो पासोमा पर्नेछ; म त्यसलाई कल्दीहरूको देश, बेबिलोनमा ल्याउनेछु; अनि त्यसको मृत्यु त्यहीँ हुनेछ; तर त्यसले त्यो देश देख्नेछैन।
14म त्यसका चारैतिर हुनेहरूलाई हावामा तितरबितर पार्नेछु—त्यसका कर्मचारीहरू र त्यसका सबै सेनाहरूलाई—तिनीहरूलाई म नाङ्गो तरवारले खेद्नेछु।
15“जब म तिनीहरूलाई जातिहरूको बीचमा छरपस्ट पारिदिनेछु, र तिनीहरूलाई देश विदेशतिर तितरबितर पारिदिनेछु, तब म नै याहवेह हुँ भनी तिनीहरूले जान्नेछन्।
16तर तिनीहरूमध्ये थोरैलाई म तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि आफू गएको ठाउँमा आफ्ना सबै घिनलाग्दा कामहरू तिनीहरूले स्वीकार गरून्। तब म नै याहवेह हुँ भनी तिनीहरूले जान्नेछन्।”
17याहवेहको वचन मकहाँ आयो:
18“हे मानिसको छोरा, तैँले आफ्नो भोजन काम्दै खानू, र डरले थरथराउँदै पानी पिऊनू।
19देशका मानिसहरूलाई भन्: यरूशलेममा र इस्राएलमा बसोबास गर्ने मानिसहरूलाई प्रभु याहवेह यसो भन्नुहुन्छ: तिनीहरूले तिनीहरूका भोजन चिन्तासहित खानेछन् र तिनीहरूका पानी निराशामा पिउनेछन्; किनकि त्यहाँ बसोबास गर्नेहरू सबै मानिसहरूको हिंसाको कारण तिनीहरूको देशमा भएका सबै कुराहरू उजाड पारिनेछन्।
20आबाद भएका सहरहरू नष्ट पारिनेछन् र देश उजाड हुनेछ। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्नेछौ।”
21याहवेहको वचन मकहाँ आयो:
22“हे मानिसको छोरा, इस्राएलको देशमा तिमीहरूको यो उखान के हो: ‘दिनहरू बितेर जान्छन्, तर दर्शनहरू पूरा हुँदैनन्’?
23तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: म यस उखानको अन्त्य गरिदिनेछु, र तिनीहरूले अब उसो इस्राएलमा यो उखान भन्नेछैनन्।’ तिनीहरूलाई भन्, ‘ती दिनहरू नजिकै छन्, र सबै दर्शन पूरा हुनेछन्।
24किनकि तब इस्राएलका मानिसहरूका बीचमा झूटा दर्शनहरू र बढाइचढाइपूर्ण जोखनाहरू हुनेछैनन्।
25किनकि म याहवेहले नै बोल्नेछु। म जे भन्छु, त्यो पूरा हुनेछ, र मेरो वचन ढिलो नभई पूरा हुनेछ। किनकि हे विद्रोही मानिसहरू हो, तिमीहरूकै दिनहरूमा मैले जे भनेको छु, त्यो पूरा गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
26याहवेहको वचन मकहाँ आयो:
27“हे मानिसको छोरा, इस्राएलीहरूले भनिरहेका छन्, ‘त्यसले देखेको दर्शन धेरै वर्षपछि मात्र पूरा हुनेछ, र धेरै समयपछिको विषयमा त्यसले अगमवाणी गर्छ।’
28“यसकारण तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: मेरो कुनै पनि वचन अब ढिलो हुनेछैन; मैले जे भनेको छु, त्यो पूरा हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath