ईसाई धर्म
पछाडि

प्रस्थान 3

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1मोशाले आफ्ना ससुरा मिद्यानका पुजारी यित्रोका भेडाबाख्रा चराउँथे। अनि आफ्नो बगाललाई उजाडस्थानको पल्‍लो छेउतिर लगे; अनि तिनी परमेश्‍वरको पर्वत होरेबमा आए।

2त्यहाँ याहवेहका दूत पोथ्राको माझमा जलिरहेको ज्वालाको रूपमा तिनीकहाँ देखा पर्नुभयो। मोशाले देखे, कि त्यो पोथ्रा जलिरहेको थियो; तापनि भस्म भएको थिएन।

3अनि मोशाले मनमनै सोचे, “यो अनौठो दृश्य म त्यहीँ गएर हेर्नेछु—त्यो पोथ्रा किन भस्म भएको छैन।”

4जब याहवेहले तिनले हेर्न गएको देख्नुभयो, तब परमेश्‍वरले त्यस पोथ्राभित्रबाट तिनलाई बोलाएर भन्‍नुभयो, “मोशा! ए मोशा!” अनि मोशाले भने, “हजुर, म यहाँ छु।”

5परमेश्‍वरले भन्‍नुभयो, “यता नजिक नआइज! तेरो जुत्ता फुकाल; किनकि तँ उभिएको ठाउँ पवित्र भूमि हो।”

6तब उहाँले भन्‍नुभयो, “म तेरा पितापुर्खाका परमेश्‍वर हुँ; अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर।” यो सुनेर मोशाले आफ्नो अनुहार छोपे; किनकि तिनी परमेश्‍वरलाई हेर्न डराए।

7याहवेहले भन्‍नुभयो, “मैले इजिप्टमा भएका मेरा प्रजाका कष्‍ट साँच्‍चै देखेको छु। परिश्रममा जोतिएकाहरूलाई यातना दिने ठेकेदारहरूका कारण मैले तिनीहरूको चीत्कार सुनेको छु; र तिनीहरूका दुःखप्रति मेरो वास्ता छ।

8यसकारण म तिनीहरूलाई इजिप्टियनहरूका हातबाट छुटाउन, र त्यस देशबाट निकालेर एउटा असल र ठूलो देश, दूध र मह बग्ने, जो कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश हो, त्यहाँ ल्याउनलाई म ओर्लिएको छु।

9अब इस्राएलीहरूको चीत्कार मेरो सामु आइपुगेको छ; अनि इजिप्टियनहरूले कसरी तिनीहरूलाई सताइरहेका छन्, त्यो मैले देखेको छु।

10यसकारण अब जा। म मेरा मानिसहरू अर्थात् इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याउन तँलाई फारोकहाँ पठाउँदैछु।”

11तर मोशाले परमेश्‍वरलाई भने, “फारोकहाँ गएर इस्राएलीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने म को हुँ र?”

12तब परमेश्‍वरले भन्‍नुभयो, “म तेरो साथमा हुनेछु। तँलाई पठाउने म नै हुँ भनी देखाउने अद्‌भुत चिन्ह यो हुनेछ: जब तैँले ती मानिसहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउनेछस्, तब तिमीहरूले यस पर्वतमा परमेश्‍वरको आराधना गर्नेछौ।”

13मोशाले परमेश्‍वरलाई भने, “यदि मैले गएर इस्राएलीहरूलाई ‘तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो’ भनुँला, र तिनीहरूले मलाई ‘उहाँको नाम के हो?’ भनी सोध्लान्, तब म तिनीहरूलाई त्यस बेला के भनूँ?”

14परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म हुँ, जो म हुँ। तैँले इस्राएलीहरूलाई भन्‍नू: ‘म हुँ भन्‍नेले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ ”

15परमेश्‍वरले मोशालाई यसो पनि भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्‍नू, ‘तिमीहरूका पितापुर्खाहरूका याहवेह परमेश्‍वर—अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वरले—मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ “मेरो नाम सदा यही रहन्छ, र सबै पुस्तासम्म मेरो नामको सम्झना यही हुनेछ।

16“जा, इस्राएलका प्रधानहरूलाई जम्मा गरेर तिनीहरूलाई भन्, ‘याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वर—अब्राहाम, इसहाक र याकोबका परमेश्‍वर—मकहाँ देखा परेर भन्‍नुभयो: मैले तिमीहरूमाथि दृष्‍टि लगाएको छु र तिनीहरूले तिमीहरूलाई इजिप्टमा के-के गरे, सो देखेको छु।

17मैले तिमीहरूलाई इजिप्टको दुःखबाट बाहिर निकालेर कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देशमा ल्याउनलाई प्रतिज्ञा गरेको छु—जुन दूध र मह बग्ने देश हो।’

18“इस्राएलका प्रधानहरूले तेरो कुरा सुन्‍नेछन्। तब तँ र प्रधानहरू इजिप्टका राजाकहाँ गएर यसो भन्‍नू: ‘याहवेह, हिब्रूहरूका परमेश्‍वरले हामीसित भेट गर्नुभयो। हामीलाई तीन दिनको बाटो उजाडस्थानमा गएर याहवेह हाम्रा परमेश्‍वरकहाँ बलिदान चढाउन जान दिनुहोस्।’

19तर म जान्दछु, शक्तिशाली हातले त्यसलाई बाध्य नगराएसम्म इजिप्टको राजाले तिमीहरूलाई जान दिनेछैन।

20यसकारण म आफ्नो हात पसारेर इजिप्टियनहरूका बीचमा सबै अद्‌भुत कार्यहरू गरेर तिनीहरूलाई प्रहार गर्नेछु। त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ।

21“म इजिप्टियनहरूलाई यस जातिप्रति कृपा राख्ने बनाउनेछु, र तिमीहरू निस्कँदा खाली हात निस्कनेछैनौ।

22हरेक स्त्रीले आफ्ना छिमेकीसित र उसको घरमा बसेकी कुनै पनि स्त्रीसित सुन र चाँदीका चीजहरू, र लुगाफाटाहरू मागेर ती तिमीहरूका छोराछोरीहरूलाई लगाइदिनेछौ। यसरी तिमीहरूले इजिप्टियनहरूलाई लुट्नेछौ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath