प्रस्थान 29
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1“तिनीहरूले पुजारी भई मेरो सेवा गरून् भनेर तिनीहरूलाई यसरी अर्पण गर्नू: एउटा बहर र दुई वटा निष्खोट भेडाहरू ल्याउनू।
2अनि गहुँको मसिनो पिठोबाट खमिर नमिसाइएको रोटी र जैतुन तेल मिसाइएको अखमिरी बाबर र तेल छर्केको पातलो अखमिरी रोटी बनाउनू।
3तिनीहरूलाई एउटा टोकरीमा हाल्नू, र त्यो बहर र दुई वटा भेडाहरूसहित ल्याउनू।
4त्यसपछि हारून र तिनका छोराहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउनु र तिनीहरूलाई पानीले नुहाइदिनू।
5पोशाकहरू लिएर हारूनलाई लबेदा, एपोदको पोशाक, एपोद र छाती-पाता लगाइदिनू। निपूर्णतासित बुट्टा काढेको पटुकाले त्यसको शरीरमा एपोद बाँधिदिनू।
6त्यसको शिरमा फेटा लगाएर त्यसमा पवित्र मुकुट लगाइदिनू।
7त्यसपछि अभिषेक गर्ने तेल लिएर त्यसको शिरमा त्यो खन्याएर त्यसलाई अभिषेक गर्नू।
8अनि त्यसका छोराहरूलाई ल्याएर तिनीहरूलाई लबेदा पहिर्याइदिनू,
9र तिनीहरूलाई शिरमा फेटा लगाइदिनू। त्यसपछि हारून र त्यसका छोराहरूलाई पटुका बाँधिदिनू। सदाको धार्मिक विधिद्वारा पुजारी पद तिनीहरूकै हुनेछ। “यसरी तैँले हारून र त्यसका छोराहरूलाई अभिषेक गर्नू।
10“त्यस बहरलाई भेट हुने पालको सामु ल्याउनू; अनि हारून र त्यसका छोराहरूले त्यसमाथि आफ्ना हात राख्नेछन्।
11बहरलाई याहवेहको उपस्थितिमा भेट हुने पालको प्रवेशद्वारमा बलि चढाउनू।
12त्यस बहरको रगतबाट केही लिएर त्यसलाई तेरो औँलाले वेदीका सिङहरूमाथि लगाउनू, र बाँकी रहेको रगत वेदीको जगमा खन्याउनू।
13त्यसपछि भित्री अङ्गहरूका वरिपरि भएका सबै बोसो, कलेजोलाई छोप्ने जालो, र दुवै मिर्गौलाहरू र त्यसमाथि भएका बोसोसमेत लिएर वेदीमाथि जलाउनू।
14तर बहरको मासु, त्यसको छाला र त्यसको गोबर छाउनी बाहिर जलाउनू। यो पाप शुद्धीकरण बलि हो।
15“ती दुई बोकाहरूमध्ये एउटा बोका लिनू, र हारून र त्यसका छोराहरूले त्यसको शिरमाथि हात राख्नेछन्।
16भेडालाई मार्नू र त्यसको रगत लिएर त्यसलाई वेदीको चारैतिर भित्तामा छर्कनू।
17त्यस भेडालाई टुक्रा-टुक्रा गरी काटेर त्यसका भित्री भागहरू र खुट्टाहरू धुनू, र तिनीहरूलाई टाउको र अरू टुक्राहरूसित राख्नू।
18त्यसपछि सम्पूर्ण भेडालाई वेदीमा जलाउनू। योचाहिँ याहवेहलाई मनपर्दो मिठो बास्ना भएको आगोद्वारा चढाइएको होमबलि हो।
19“तैँले अर्को भेडा लिनू, हारून र त्यसका छोराहरूले त्यसको शिरमा हात राख्नेछन्।
20त्यस भेडालाई मार्नू, त्यसबाट केही रगत लिएर हारून र त्यसका छोराहरूका दाहिने कानका लोतीमा, तिनीहरूका दाहिने हातका बूढी औँलामा, र दाहिने खुट्टाका बूढी औँलामा लगाउनू। त्यसपछि वेदीका चारै भित्तामा रगत छर्कनू।
21त्यसपछि वेदीको केही रगत र केही अभिषेक गर्ने तेल लिएर त्यसलाई हारून र त्यसका पोशाकहरूमा, त्यसका छोराहरू र तिनीहरूका पोशाकहरूमा छर्कनू। त्यसपछि त्यो, त्यसका छोराहरू र तिनीहरू सबैका पोशाकहरूसमेत पवित्र हुनेछन्।
22“त्यस भेडाबाट बोसो, बोसे पुच्छर, भित्री भागहरूलाई छोप्ने बोसो, कलेजो बाहिरको जाली, दुवै मिर्गौलाहरू र तिनीहरूमाथिका बोसोसमेत र दाहिने फिला लिनू। (यो भेडा अर्पणका लागि हो।)
23याहवेहको सामु राखिएको टोकरीको खमिर नमिसाइएको रोटीबाट एउटा, र तेलमा पोलेको एउटा बाबर अनि एउटा फुलौरो लिनू।
24यी सबैलाई हारून र त्यसका छोराहरूका हातमा विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहको सामु ल्याउनू।
25त्यसपछि ती सबैलाई उनीहरूका हातबाट लिएर होमबलिका निम्ति याहवेहका लागि मनपर्दो बास्नाका निम्ति आगोद्वारा चढाइएको भेटीका साथमा वेदीमाथि जलाइदिनू।
26अनि तैँले हारूनको निम्ति हुने अर्पणका निम्ति भेडाको ह्याकुला लिनू, र त्यसलाई विशेष भेटीको रूपमा उचालिनका निम्ति याहवेहको सामु ल्याउनू, र त्यो तेरो भाग हुनेछ।
27“अर्पण गर्ने भेडाका ती भागहरू, जुन हारून र त्यसका छोराहरूका भाग हुन्, ती अर्पण गर्नू: डोलाएको ह्याकुला र उचालिएको फिला।
28त्यो इस्राएलीहरूका तर्फबाट हारून र त्यसका छोराहरूका निम्ति नियमित भाग हो। यो इस्राएलीहरूले आफ्ना मेलबलिबाट याहवेहलाई चढाउनुपर्ने भाग हो।
29“हारूनका पवित्र पोशाकहरू त्यसका सन्ततिहरूका निम्ति हुनेछन्; ताकि तिनीहरू तिनै पोशाकहरूमा अभिषेक र अर्पण होऊन्।
30त्यसको पछि पुजारीको उत्तराधिकारी हुने छोराले पवित्रस्थानमा सेवा गर्न समागम पालमा आउँदा ती लुगाहरू सात दिनसम्म लगाओस्।
31“अर्पणको बोका लिएर त्यसको मासु एउटा पवित्र ठाउँमा पकाउनू।
32समागम पालको प्रवेशद्वारमा हारून र त्यसका छोराहरूले त्यस भेडाको मासु र टोकरीमा भएको रोटी खाऊन्।
33तिनीहरूले आफ्ना अभिषेक र अर्पणका लागि प्रायश्चित गरिएका ती भेटीहरू खाऊन्, तर अरू कसैले पनि ती नखाओस्; किनकि ती पवित्र हुन्।
34यदि अर्पणको बोकाको मासुको केही भाग अथवा केही रोटी बिहानसम्म उब्रियो भने त्यसलाई जलाइदिनू। त्यो खान हुँदैन; किनकि त्यो पवित्र छ।
35“तँलाई मैले दिएको आज्ञाबमोजिम हारून र त्यसका छोराहरूलाई सात दिन लगाएर नियुक्त गर्नू।
36प्रायश्चित गर्नका लागि प्रत्येक दिन पाप शुद्धीकरण बलिको रूपमा एउटा बहर बलिदान गर्नू। प्रायश्चित गरेर वेदीलाई शुद्ध गर्नू; त्यसलाई पवित्र गर्नका लागि अभिषेक गर्नू।
37सात दिनसम्म वेदीको लागि प्रायश्चित गर्नू र त्यसलाई पवित्र पार्नू, तब वेदी महा-पवित्र हुनेछ; अनि त्यसलाई छुने जेसुकै पनि पवित्र हुनेछ।
38“तैँले वेदीमा प्रत्येक दिन नियमित रूपले चढाउनुपर्ने कुराहरू यिनै हुन्: एकवर्षे दुई वटा थुमाहरू।
39एउटा थुमा बिहान र अर्को थुमा साँझमा चढाउनू।
40पहिलो थुमाको साथमा एपाको दशौँ भाग मसिनो पिठोसित पेलिएको जैतुनको चौथाइ हिन तेल मिसाएर अनि अर्घबलिको रूपमा चौथाइ हिन दाखमद्य चढाउनू।
41अर्को थुमालाई पनि साँझमा बिहानजस्तै अन्नबलि र अर्घबलिका साथमा चढाउनू—जुन याहवेहलाई मनपर्दो बास्नाको रूपमा आगोद्वारा चढाइएको बलि होस्।
42“आउने पुस्ताका लागि यो होमबलि भेट हुने समागम पालको प्रवेशद्वारमा याहवेहका निम्ति नियमित रूपले चढाइयोस्। त्यहाँ म तँलाई भेट्नेछु, र तँसित बोल्नेछु;
43त्यहाँ म इस्राएलीहरूसित पनि भेट गर्नेछु, र त्यो ठाउँ मेरो महिमाले पवित्र हुनेछ।
44“यसरी म समागम पाललाई र वेदीलाई पवित्र पार्नेछु; अनि मेरो निम्ति पुजारी भई सेवा गर्नलाई हारून र त्यसका छोराहरूलाई पवित्र गर्नेछु।
45तब म इस्राएलीहरूका बीचमा बास गर्नेछु र तिनीहरूका परमेश्वर हुनेछु।
46म तिनीहरूबीच बास गरूँ भनेर तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म याहवेह नै तिनीहरूका परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन्। म याहवेह नै तिनीहरूका परमेश्वर हुँ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath