ईसाई धर्म
पछाडि

प्रस्थान 18

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1मिद्यानका पुजारी, मोशाका ससुरा यित्रोले मोशा र आफ्नो प्रजा इस्राएलका निम्ति परमेश्‍वरले गर्नुभएका सबै कुरा, र याहवेहले इस्राएलीहरूलाई इजिप्टबाट कसरी बाहिर निकालेर ल्याउनुभएको कुरा सुने।

2मोशाले आफ्नी पत्नी सिप्पोरालाई माइत पठाएपछि यित्रोले आफ्नी छोरी सिप्पोरा,

3र तिनका दुई जना छोरालाई लिए। मोशाले एउटा छोराको नाम गेर्शोम राखेका थिए; किनकि तिनले “म परदेशमा प्रवासी भएको छु” भनेका थिए;

4अनि अर्कोचाहिँको नाम एलीएजर राखिएको थियो; किनकि तिनले भने, “मेरा पिताका परमेश्‍वर मेरो सहायक हुनुहुन्छ; उहाँले मलाई फारोको तरवारबाट बचाउनुभयो।”

5मोशाका ससुरा यित्रो तिनका दुई जना छोरा र तिनकी पत्नीसँग उजाडस्थानमा मोशाकहाँ आए, जहाँ तिनले परमेश्‍वरको पर्वत नजिक पाल टाँगेर बसेका थिए।

6यित्रोले मोशाकहाँ “म, तिम्रो ससुरा यित्रो, तिम्री पत्नी र तिम्रा दुई छोरासित तिमीकहाँ आउँदैछौँ” भनेर खबर पठाएका थिए।

7यसकारण मोशा आफ्ना ससुरालाई भेट्न बाहिर निस्के, र तिनलाई भेटेर दण्डवत् गरे; अनि म्वाइँ खाए। तिनीहरू एक-अर्कालाई हालखबर सोधेर पालभित्र गए।

8इस्राएलीहरूका निम्ति याहवेहले फारो र इजिप्टियनहरूलाई जे-जे गर्नुभएको थियो, ती सबै कुराहरू, साथै बाटोमा तिनीहरूमाथि के कस्ता कष्‍टहरू आइपरेका थिए, र याहवेहले तिनीहरूलाई कसरी छुटाउनुभएको थियो, ती सबै मोशाले आफ्ना ससुरोलाई बताए।

9याहवेहले इस्राएलीहरूलाई इजिप्टियनहरूका हातबाट छुटाउन तिनीहरूका निम्ति कस्ता-कस्ता असल कुराहरू गर्नुभएको थियो, ती सुनेर यित्रो खुशी भए।

10अनि यित्रोले भने, “याहवेहको प्रशंसा होस्, जसले तिमीहरूलाई इजिप्टियनहरू र फारोका हातबाट छुटाउनुभयो, जसले मानिसहरूलाई इजिप्टियनहरूका हातबाट छुटाउनुभयो।

11अब मलाई थाहा भयो कि याहवेह अरू सबै देवी-देवताहरूभन्दा महान् हुनुहुन्छ; किनकि उहाँले इस्राएलीहरूसित अभिमानी व्यवहार गर्नेलाई यस्तो व्यवहार गर्नुभयो।”

12तब मोशाका ससुरा यित्रोले याहवेहका निम्ति होमबलि र अरू बलिदानहरू ल्याए; अनि हारून र इस्राएलका सबै प्रधानहरू परमेश्‍वरको सामु मोशाका ससुरासित रोटी खान आए।

13भोलिपल्ट मोशा मानिसहरूको न्याय गर्नलाई बसे; अनि बिहानदेखि बेलुकासम्म मानिसहरू मोशाको वरिपरि उभिरहे।

14मोशाले मानिसहरूका लागि गरिरहेका सबै काम देखेपछि तिनका ससुराले भने, “तिमीले मानिसहरूका लागि यो के गरिरहेका छौ? यी मानिसहरू बिहानदेखि बेलुकीसम्म तिम्रो वरिपरि उभिरहन्छन्, तिमी एकलै मात्र किन न्यायकर्ता भएर बसिरहन्छौ?”

15मोशाले आफ्ना ससुरालाई भने, “किनकि मानिसहरू परमेश्‍वरको इच्छा खोज्न मकहाँ आउँछन्।

16जब तिनीहरूको बीचमा विवाद हुन्छ, तब त्यसलाई मकहाँ ल्याउँछन्, र मैले दुवै पक्षका बीचमा निर्णय गरेर तिनीहरूलाई परमेश्‍वरको उर्दी र उहाँका व्यवस्थाहरू बताइदिन्छु।”

17मोशाका ससुराले तिनलाई भने, “तिमीले जे गर्दैछौ, त्यो ठिक छैन।

18पक्‍कै पनि तिमी र तिमीसित हुने यी मानिसहरू एकदम थाक्नेछौ; यो काम तिम्रो निम्ति अति गाह्रो छ; र तिमी एकलैले यो गर्न सक्दैनौ।

19अब मेरो कुरा सुन, र म तिमीलाई केही सल्‍लाह दिनेछु, र परमेश्‍वर तिमीसित रहून्। तिमी परमेश्‍वरको सामु मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका विवादहरू उहाँकहाँ लैजाऊ।

20तिनीहरूलाई उर्दी र व्यवस्थाहरू सिकाऊ, र तिनीहरूलाई जिउने तरिका र पालना गर्नुपर्ने कर्तव्य देखाइदेऊ।

21यसकासाथै यस्ता मानिसहरूलाई चुन, जो सबै मानिसहरूमध्येबाट सक्षम अर्थात् परमेश्‍वरको डर मान्‍ने विश्‍वासयोग्य मानिसहरू जसले बेइमानीसित लाभ लिन घृणा गर्छन्। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दश जनामाथि अगुवा नियुक्त गर।

22हरेक समय मानिसहरूमाथि तिनीहरूले न्यायकर्ता भएर सेवा गरून्; तर तिनीहरूले हरेक गाह्रो मुद्दाचाहिँ तिम्रो सामु ल्याऊन्; साना-साना मुद्दाहरूको निर्णयचाहिँ तिनीहरूले नै गरून्। यसो गर्दा तिम्रो भार हलुका हुनेछ, र तिनीहरूले तिमीसित भार उठाउनेछन्।

23तिमीले यसो गर्‍यौ भने, र परमेश्‍वरले यस्तै आज्ञा दिनुभयो भने तिम्रो भार हलुका हुनेछ, र यी मानिसहरू शान्तिसाथ आफ्नो घरमा फर्कनेछन्।”

24मोशाले आफ्ना ससुराको कुरा सुने, र तिनले भनेका हरेक कुरा गरे।

25तब मोशाले इस्राएलबाट सक्षम मानिसहरूलाई चुने, र तिनीहरूलाई मानिसहरूमाथि अगुवा अर्थात् हजार-हजार, सय-सय, दश-दश जनामाथि अधिकारीहरू तुल्याइदिए।

26तिनीहरूले हर समय मानिसहरूमाथि न्यायकर्ताको रूपमा सेवा गर्थे। कठिन मुद्दाहरू तिनीहरूले मोशाकहाँ ल्याउँथे, तर हरेक स-साना मुद्दाहरूको फैसला तिनीहरू आफूले नै गर्थे।

27तब मोशाले आफ्ना ससुरालाई बिदा गरे; अनि यित्रो आफ्नो देशको बाटो लागे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath