ईसाई धर्म
पछाडि

उपदेशक 5

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1परमेश्‍वरका भवनमा जाँदा आफ्ना कदमहरूमा होसियारी होऊ। मूर्खले आफू भूल गर्दैछु भनी नजानिकनै बलिदान चढाउनलाई गएजस्तो होइन, तर उहाँको आवाज सुन्‍नलाई नजिक जाऊ।

2परमेश्‍वरको अगाडि बोल्नलाई हडबड नगर, र कुनै कुरा बोल्न तिम्रो हृदयले हतार नगरोस्; अनि उहाँको सामु प्रतिज्ञा गर्न हतार नगर। किनकि परमेश्‍वर स्वर्गमा हुनुहुन्छ, अनि तिमीचाहिँ पृथ्वीमा छौ; यसकारण तिम्रा शब्दहरू थोरै होऊन्!

3जसरी धेरै चिन्ता हुँदा सपना आउँदछ; त्यसरी नै धेरै शब्दहरू मूर्खका बोली हुन्छन्।

4जब परमेश्‍वरलाई प्रतिज्ञा गर्दछौ, त्यो पूरा गर्नमा ढिलो नगर। उहाँ मूर्खसित खुशी हुनुहुन्‍न; आफ्नो प्रतिज्ञा पूरा गर।

5प्रतिज्ञा गरेर त्यो पूरा नगर्नुभन्दा प्रतिज्ञा गर्दै नगर्नु असल हो।

6तिम्रो बोलीले पापमा नडोर्‍याओस्। अनि मन्दिरका दूतलाई, “मेरो प्रतिज्ञामा भूल भएछ,” भनेर विरोध नगर। तिम्रा वचनले किन परमेश्‍वरलाई रिस उठाउँछौ, र आफ्नै हातका काम नष्‍ट गर्न लगाउँछौ?

7धेरै सपना देख्नु र धेरै कुरा गर्नु अर्थहीन छन्। त्यसकारण परमेश्‍वरको भय मान।

8यदि तिमीले कुनै प्रान्तमा गरिबमाथि अत्याचार भएको, त्यसको अधिकार र न्याय इन्कार गरिएको देख्यौ भने अचम्म नमान; किनकि एक अधिकारीमाथि रेखदेख गर्न अर्को ठूलो अधिकारी खटाइएको हुन्छ, र ती सबैमाथि नजर राख्न अझ ठूलो अधिकारी खटाइएको हुन्छ।

9जमिनबाट उब्जेका अन्‍न सबैले खान्छन्; राजा आफूले पनि जमिनबाट लाभ प्राप्‍त गर्दछन्।

10जसले रुपैयाँपैसालाई प्रेम गर्छ, त्यसलाई कहिल्यै प्रशस्त हुँदैन। जसले धनसम्पत्तिलाई प्रेम गर्छ, त्यो आफ्नो आम्दानीमा कहिल्यै सन्तुष्‍ट हुँदैन; यो पनि अर्थहीन छ।

11जब धनसम्पत्ति बढ्छ, तब खाने मुखहरू पनि धेरै बढ्छन्। अनि ती आँखाले हेर्नुबाहेक मालिकलाई धनसम्पत्तिको अरू के लाभ हुन्छ र?

12परिश्रम गर्नेको निद्रा मिठो हुन्छ; चाहे त्यसले थोरै खाओस् वा धेरै खाओस्, तर धनीको प्रचुर धनले गर्दा त्यसलाई निद्रै लाग्दैन।

13मैले सूर्यमुनि एउटा गम्भीर खराबी देखेको छु: मानिसले थुपारेको धनले त्यसैलाई क्षति गरेको,

14अथवा दुर्भाग्यवश त्यो धनसम्पत्ति गुमाएको; त्यसका सन्तान भए तापनि त्यसको उत्तराधिकारको निम्ति केही बाँकी नरहेको।

15आफ्नी आमाको गर्भबाट मानिस नाङ्गै आउँछ, र जस्तो आयो, त्यस्तै फर्किजान्छ। आफ्नो परिश्रमको कमाइबाट केही पनि हातमा लिएर जान सक्दैन।

16यो पनि एक गम्भीर खराबी हो: मानिसजस्तो प्रकारले आयो, त्यस्तै फर्किजानेछ; तब त्यसलाई के लाभ भयो र, के त्यसको परिश्रम हावामा नै खेर गएन र?

17त्यसले आफ्नो सारा जीवनकाल अन्धकारमा, ठूलो नैराश्य, कष्‍ट र रिस-रागमा जान्छ।

18तब मैले यो थाहा पाएँ, मानिसको निम्ति खानु, पिउनु र परमेश्‍वरले सूर्यमुनि त्यसलाई दिनुभएको छोटो जीवनमा आफूले गरेको कठोर मेहनतमा सन्तुष्‍ट रहनु नै असल र उचित हुन्छ। यही त्यसको भाग हो।

19त्यसबाहेक जब परमेश्‍वरले कुनै मानिसलाई धनसम्पत्ति दिनुहुन्छ, र ती उपभोग गर्ने मौका दिनुहुन्छ; तब त्यसले आफ्नो भागलाई स्वीकार गरी आफ्ना परिश्रममा प्रसन्‍न हुनुपर्दछ—यो परमेश्‍वरको वरदान हो।

20आफ्नो जीवनका दिनहरूमा त्यसले विचारै गर्दैन; किनकि परमेश्‍वरले त्यसलाई हृदयको आनन्दमा व्यस्त गराउनुहुन्छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath