ईसाई धर्म
पछाडि

उपदेशक 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1मैले मनमनमै भनेँ, “आइज, म तँलाई असल के रहेछ भनी थाहा गर्न सुख-विलासद्वारा जाँच गर्नेछु।” तर त्यो पनि अर्थहीन रहेछ भनी प्रमाणित भयो।

2मैले भनेँ, “हाँसो पागलपन हो; अनि सुख-विलासले के लाभ हुन्छ र?”

3आफूलाई मनोरञ्जन गर्न मैले मद्यपान गरेँ, र मूर्खतालाई अँगालेँ—मेरो मनले अझै मलाई बुद्धिद्वारा डोर्‍याउँदैथियो। आफ्नो छोटो जीवनमा मानिसले स्वर्गमुनि के असल काम गर्नुपर्ने रहेछ भनी म जान्‍न चाहन्थेँ।

4मैले ठूला-ठूला कामहरू सुरु गरेँ। मैले आफ्ना निम्ति घरहरू बनाएँ; र दाखबारी लगाएँ।

5मैले बगैँचाहरू र उद्यानहरू बनाएँ, र त्यहाँ सबै किसिमका फलफूलका रूखहरू रोपेँ।

6बढ्दै गरेका रूखहरूको सिँचाइ गर्नलाई मैले पानीका दहहरू बनाएँ।

7मैले दास-दासीहरू किनेँ; अनि मेरा घरमा जन्मेका अन्य दासहरू पनि मसित थिए। यरूशलेममा मभन्दा अगिका सबै मानिसहरूका भन्दा पनि धेरै गाईबस्तु र भेडाबाख्राहरू मसँग थिए।

8मैले आफ्ना निम्ति सुन र चाँदी, र विभिन्‍न राजाहरू र प्रान्तहरूबाट धनसम्पत्ति थुपारेँ; मैले मानिसको हृदयको आनन्दको निम्ति, गायक-गायिकाहरू र स्त्री-निवास समेत राखेँ।

9म यरूशलेममा मेरो अगिका सबैभन्दा धेरै महान् भएँ। यी सबैमा मेरो बुद्धि मसँगै रहिरह्‍यो।

10मेरा आँखाहरूले चाहेका कुनै पनि अभिलाषा प्राप्‍त गर्न मैले आफैँलाई इन्कार गरिनँ; मेरो हृदयलाई मोजमस्ती गर्न मैले कुनै पनि कसर बाँकी राखिनँ। मेरा सबै मेहनतमा मेरो हृदय प्रसन्‍न थियो; अनि मेरो सारा परिश्रमको फल यही थियो।

11जब मैले मेरा हातहरूद्वारा गरिएका सबै कामहरू र मैले गरेका सबै परिश्रमका उपलब्धीहरूलाई विचार गरेँ; ती सबै कुराहरू अर्थहीन थिए। ती सबै कुराहरू बतासलाई खेदेको जस्तो मात्र रहेछ; सूर्यमुनि केही कुरो फाइदाको रहेनछ।

12तब बुद्धि के रहेछ भनी जाँच्न मेरो सोचलाई लगाएँ; अनि यसै गरी पागलपन र मूर्खता पनि, जे जति गरिसकेका छन्; त्योभन्दा बढी राजाका उत्तराधिकारीले के गर्न सक्लान् र?

13मैले देखेँ, मूर्खताभन्दा बुद्धि उत्तम हुँदोरहेछ, जसरी अन्धकारभन्दा उज्यालो उत्तम हुन्छ!

14बुद्धिमान्‌को आँखा उसको शिरमा हुन्छ, तर मूर्खचाहिँ अँध्यारोमा हिँड्‍डुल गर्छ; तर मैले यो थाहा गरेँ कि, यी दुवैको अन्त्य एउटै हुँदोरहेछ।

15तब मैले आफ्नो मनमनै विचार गरेँ, “मूर्खमाथि जे आइपर्छ, त्यस्तै ममाथि पनि हुन्छ। तब म बुद्धिमान् भएर मलाई के लाभ भयो र?” तब मैले आफ्नो मनमनै यसो भनेँ, “यो पनि अर्थहीन रहेछ!”

16किनकि मूर्खको जस्तै, बुद्धिमान्‌को पनि सधैँभरि सम्झना गरिनेछैन; ती दिनहरू आइसकेका छन्, ती दुवै बिर्सिएका हुनेछन्; मूर्खजस्तै बुद्धिमान् मानिस पनि मर्नैपर्छ!

17यसैले मैले आफ्नो जीवनलाई घृणा गरेँ; किनकि सूर्यमुनि गरिएको काम मेरो निम्ति दुःखमय थियो। यी सबै अर्थहीन हुन्; बतासलाई खेदेको जस्तो मात्र हो।

18सूर्यमुनि मैले गरेका हरेक कामलाई मैले घृणा गर्न थालेँ; किनकि हरेक कामको फल मेरो उत्तराधिकारीको निम्ति मैले छोड्नैपर्छ।

19अनि कसले जान्दछ, त्यो मूर्ख हुनेछ कि बुद्धिमान्? तापनि सूर्यमुनि मैले गरेको मेरो परिश्रमको हरेक फलमाथि त्यसले नै अधिकार जमाउने रहेछ, जसमा मैले सिप र प्रयत्न लगाएको थिएँ। यो पनि अर्थहीन रहेछ।

20यसैले मैले सूर्यमुनि गरेका सबै कठिन परिश्रममा म निराश हुनथालेँ।

21किनकि मानिसले आफ्ना बुद्धि, ज्ञान र सिप लगाएर काम गर्छ, र ती सबै अरू कोही, जसले यसको निम्ति मेहनत नै गरेको हुँदैन; उसैको निम्ति छोडेर जानुपर्दो रहेछ। यो पनि एक अर्थहीन र ठूलो दुर्भाग्य हो।

22सूर्यमुनि गरेका आफ्ना सारा परिश्रम, चिन्ता र प्रयासको निम्ति मानिसले के नै पो पाउँछ र?

23जीवनभरि त्यसको मेहनत दुःख र कष्‍ट मात्र हो; राति पनि त्यसको मनले विश्राम पाउँदैन। यो पनि अर्थहीन हो।

24मानिसले खानु, पिउनु र आफ्ना परिश्रममा सन्तुष्‍ट रहनुभन्दा अरू कुनै कुरो असल छैन। म देख्दछु, यो पनि परमेश्‍वरका हातबाट प्राप्‍त हुँदछ;

25किनकि उहाँविना कसले खान र आनन्द लिन सक्छ र?

26जुन मानिसले परमेश्‍वरलाई खुशी पार्दछ, त्यसलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ; तर पापीलाई चाहिँ उहाँले धनसम्पत्ति जम्मा गर्ने र बटुल्ने काम दिनुहुन्छ; यसरी ती कुराहरू पनि उहाँलाई खुशी पार्नेले नै प्राप्‍त गर्दछ। यो पनि अर्थहीन र बतासलाई खेदेजस्तो मात्र हो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath