व्यवस्था 3
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यसपछि हामी फर्केर बाशान जाने बाटोतिर उक्ल्यौँ। अनि बाशानका राजा ओग आफ्नो सारा फौज लिएर हामीलाई एद्रईमा युद्ध गर्न निस्किआए।
2याहवेहले मलाई भन्नुभयो, “त्यससँग नडरा; किनकि मैले त्यसलाई, त्यसका सबै सेनालाई र त्यसको देशसमेत तेरो हातमा सुम्पिदिएको छु। तैँले त्यसलाई हेश्बोनमा शासन गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै गर्नू।”
3यसरी याहवेह हाम्रा परमेश्वरले बाशानका राजा ओग र तिनका सारा सेनालाई हाम्रा हातमा सुम्पिदिनुभयो। हामीले तिनीहरूलाई एउटै पनि मानिस जीवित नरहुन्जेल मार्यौँ।
4त्यसै बेला हामीले त्यसका सबै सहरहरू कब्जा गर्यौँ। हामीले एउटै पनि सहर नछोडी त्यसका सबै साठी वटा सहरहरू कब्जा गर्यौँ। बाशानमा ओगको राज्य अर्गोबको सम्पूर्ण इलाकासमेत कब्जा गर्यौँ।
5ती सबै सहरहरू अग्ला-अग्ला पर्खालहरूले घेरिएका, आग्ला सहितका ढोकाहरू र मूलढोकाहरूले बनाइएका थिए। त्यहाँ पर्खाल नभएका धेरै गाउँहरू पनि थिए।
6अनि हामीले हेश्बोनका राजा सीहोनलाई गरेझैँ उनीहरूका सबै सहरहरू, पुरुषहरू, स्त्रीहरू र बालबालिकाहरूलाई सम्पूर्ण रूपले नाश गर्यौँ।
7तर सहरका सबै गाईबस्तु र लुटका मालसामानचाहिँ हामीले आफ्नै निम्ति लियौँ।
8यसरी त्यस बेला हामीले यी दुई एमोरी राजाहरूबाट यर्दनका पूर्वपट्टि भएको प्रान्त, अर्नोन बेँसीबाट हेर्मोन पर्वतसम्मै अधीनमा पार्यौँ।
9(सीदोनीहरूले हेर्मोन पर्वतलाई सिरिओन र एमोरीहरूले सेनीर भन्दछन्)।
10हामीले तराईका सबै सहरहरू, सम्पूर्ण गिलाद, सलेका र एद्रईसम्मका सम्पूर्ण बाशानमा भएका ओगको राज्य अधीनमा लियौँ।
11(रपाईहरूमा बाशानका राजा ओग मात्र जीवित रहेका थिए। तिनको चिहान फलामबाट बनिएको थियो। त्यो नौ क्यूबिट लामो, चार क्यूबिट चौडा थियो। यो अझसम्म अम्मोनीहरूको रब्बामा छ।)
12त्यस बेला हामीले अधिकार लिएको देशबाट मैले रूबेन र गादका घरानाहरूलाई गिलादको पहाडी मुलुकको आधा भागसँगै त्यसका सहरहरूसमेत गरी अर्नोन बेँसीको छेउमा भएका अरोएरका उत्तरको प्रान्त दिएँ।
13गिलादको बाँकी रहेको भाग र ओगको राज्य बाशान पनि मैले मनश्शेको कुललाई दिएँ। (बाशानमा अर्गोबका सम्पूर्ण इलाकालाई रपाईहरूको देश भनिन्थ्यो।
14मनश्शेको सन्तान याईरले अर्गोबको समस्त इलाका, गेशूरी र माकातीहरूका सिमानासम्मै कब्जा गरे। बाशान प्रान्तलाई आफ्नै नाम दिए। आजसम्मै बाशानलाई हब्बोत-याईर भनिन्छ)।
15अनि मैले गिलादचाहिँ माकीरलाई दिएँ।
16तर रूबेनी र गादीहरूलाई मैले गिलाददेखि फैलिएर अर्नोन बेँसीसम्म गएको प्रान्त दिएँ (बेँसीको मध्य भागचाहिँ सिमाना थियो) र अम्मोनीहरूको सिमाना यब्बोक नदीसम्मै तिनीहरूलाई दिएँ।
17त्यसको पश्चिमी सिमानाचाहिँ अराबा थियो, जहाँ यर्दन नदी बग्दथ्यो। किन्नरेतदेखि पिसगाको भिरको तल अराबाको समुद्र (अराबा समुद्रको अर्को नाम मृत सागर पनि हो) सम्म थियो।
18त्यस समयमा मैले तिमीहरूलाई यसरी आज्ञा दिएँ: “याहवेह तिमीहरूका परमेश्वरले यो देश तिमीहरूले अधिकार गर्नु भनी दिनुभएको छ। तर तिमीहरूका सबै बलिया मानिसहरू युद्धका निम्ति हतियार भिरेर तिमीहरूका इस्राएली दाजुभाइहरूको अगि यर्दन नदी पार गरेर जानुपर्छ।
19तरै पनि तिमीहरूका पत्नीहरू, तिमीहरूका छोराछोरीहरू र तिमीहरूका गाईबस्तु (तिमीहरूसँग धेरै गाईबस्तु छन् भनी म जान्दछु) चाहिँ मैले दिएको सहरमा बस्न सक्छन्।
20जबसम्म याहवेहले तिमीहरूलाई दिनुभएजस्तै तिमीहरूका दाजुभाइहरूलाई विश्राम दिनुहुन्न, र तिनीहरूले याहवेह तिनीहरूका परमेश्वरले तिनीहरूलाई यर्दनपारि दिनुहुने देश प्राप्त गर्दैनन्, तिमीहरूले तिनीहरूलाई मदत गर्नुपर्नेछ। त्यसपछि तिमीहरू हरेक मैले तिमीहरूलाई अधिकार गर्न दिएको देशमा फर्केर जान सक्छौ।”
21त्यस बेला मैले यहोशूलाई आज्ञा गरेँ: “याहवेह तिमीहरूका परमेश्वरले ती दुई राजाहरूलाई के गर्नुभयो, सो तिमीहरू सबैले आफ्नै आँखाले देखेका छौ। तिमीहरू जहाँ गइरहेका छौ, त्यहाँका सबै राज्यहरूलाई पनि याहवेहले त्यसै गर्नुहुनेछ।
22तिनीहरूसँग नडराओ; याहवेह तिमीहरूका परमेश्वर आफैँ तिमीहरूका निम्ति लड्नुहुनेछ।”
23अनि मैले त्यस बेला याहवेहसँग यसरी बिन्ती गरे:
24“हे प्रभु याहवेह, आफ्नो सेवकलाई आफ्नो महानता र आफ्नो शक्ति तपाईंले देखाउन थाल्नुभएको छ। किनकि स्वर्ग वा पृथ्वीमा कुनचाहिँ देव छ, जसले तपाईंले गर्नुभएका शक्तिशाली कार्यहरू र कामहरू गर्न सक्छन्?
25मलाई यर्दन नदी पारिको त्यो उत्तम देशमा जान, त्यो सुन्दर पहाडी मुलुक र लेबनानलाई हेर्न दिनुहोस्।”
26तर तिमीहरूको कारण याहवेह मसँग रिसाउनुभएको थियो, र उहाँले मेरो कुरा सुन्नुभएन। याहवेहले भन्नुभयो, “अब भयो, मसँग यस बारेमा फेरि कुरा नगर्।
27पिसगाको चुचुरोमा चढ्, र पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर हेर्। तैँले त्यस देशलाई आफ्नै आँखाले हेर्। किनकि तैँले यर्दन नदी पार गरेर जान पाउनेछैनस्।
28तर यहोशूलाई नियुक्त गर्, र त्यसलाई उत्साह दिएर बलियो बना। किनकि यस जातिलाई त्यसले पारि लैजानेछ र तैँले देख्न लागेको त्यो देश अधिकार गर्न लगाउनेछ।”
29यसकारण हामी बेथ-पोरको बेँसीको छेउमा नै बस्यौँ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath