व्यवस्था 31
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तब मोशा बाहिर गए, र सारा इस्राएलीहरूलाई यी कुराहरू भने:
2“अहिले म एक सय बीस वर्ष पुगेँ; अब तिमीहरूलाई अगुवाइ गर्ने क्षमता मसँग छैनँ। याहवेहले मलाई भन्नुभएको छ, ‘तैँले यर्दन पार गर्नेछैनस्।’
3याहवेह तिमीहरूका परमेश्वर आफैँ तिमीहरूको अगि यर्दनपारि जानुहुनेछ। उहाँले तिमीहरूका सामु यी जातिहरूलाई नष्ट गर्नुहुनेछ र तिमीहरूले तिनीहरूका देशलाई कब्जा गर्नेछौ। याहवेहले भन्नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि यर्दनपारि जानेछ।
4अनि जसरी याहवेहले एमोरीहरूका राजाहरू सीहोन र ओगलाई तिनीहरूका राज्यसँगै नाश पार्नुभएको थियो, त्यसरी नै उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ।
5याहवेहले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुहुनेछ। अनि तिमीहरूलाई मैले दिएका सबै आज्ञाअनुसार तिनीहरूलाई गर्नुपर्छ।
6तिमीहरू बलिया र साहसी होओ। तिनीहरूका कारण नडराओ र भयभीत नहोओ; किनकि याहवेह तिमीहरूका परमेश्वर तिमीहरूसँग जानुहुनेछ। उहाँले तिमीहरूलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ।”
7तब मोशाले यहोशूलाई बोलाइपठाए, र सारा इस्राएलीहरूको उपस्थितिमा तिनलाई भने, “बलियो र साहसी होऊ; किनकि यी मानिसहरूसँग याहवेहले तिनीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा तिमी जानुपर्छ। अनि तिमीले त्यस देशलाई यिनीहरूका अधिकारको रूपमा यिनीहरूलाई बाँडिदिनुपर्छ।
8याहवेह आफैँ तिम्रो अगि जानुहुनेछ र तिमीसँग हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ। यसकारण तिमी नडराऊ; हतोत्साहित नहोऊ।”
9यसकारण मोशाले यो व्यवस्था लेखे, र त्यो लेवी पुजारीहरू, याहवेहको करारका सन्दुक बोक्ने पुजारीहरू र इस्राएलका सबै प्रधानहरूलाई सुम्पिदिए।
10तब मोशाले तिनीहरूलाई यसरी आज्ञा दिए: “प्रत्येक सात वर्षको अन्त्यमा, छाप्रोबास चाडको समय, ऋण माफ गरिदिने समयमा,
11जब सारा इस्राएलीहरू याहवेह आफ्ना परमेश्वरको उपस्थितिमा, उहाँले चुन्नुभएको ठाउँमा देखा पर्न आउँछन्, तब तिमीहरूले यो व्यवस्थालाई तिनीहरूले सुन्ने गरी पढ्नू।
12सबै मानिसहरूलाई भेला गर्नू; पुरुष, स्त्री, छोराछोरी र तिमीहरूका सहरहरूमा बसोबास गर्ने विदेशीहरू; ताकि तिनीहरूले पनि सुनून् र याहवेह तिमीहरूका परमेश्वरको डर मान्न र यस व्यवस्थाका सबै वचन होसियारीसाथ पालन गर्न सिकून्।
13यस व्यवस्थालाई नजान्ने तिनीहरूका छोराछोरीहरूले यसलाई सुन्नैपर्छ। अनि तिमीहरूले यर्दनपारि अधिकार गर्न जाँदैगरेको देशमा बाँचुन्जेल याहवेह तिमीहरूका परमेश्वरको डर मान्न सिकून्।”
14याहवेहले मोशालाई भन्नुभयो, “अब तेरो मृत्युको दिन नजिकै छ। यहोशूलाई बोला, र तँ आफैँ पनि भेट हुने पालमा उपस्थित हुनु। त्यहाँ म त्यसलाई जिम्मेवारी सुम्पनेछु।” यसकारण मोशा र यहोशूले आफूलाई भेट हुने पालमा उपस्थित गराए।
15तब याहवेह पालमा बादलको खम्बामा देखा पर्नुभयो; र त्यो बादल भेट हुने पालको प्रवेशद्वारमा खडा भयो।
16अनि याहवेहले मोशालाई भन्नुभयो: “सुन्, तँ अब आफ्ना पितापुर्खाहरूसँग विश्राम गर्न जाँदैछस्। अनि यी मानिसहरूले चाँडै नै तिनीहरू प्रवेश गर्न लागेको देशमा विदेशी देवी-देवताहरूसँग व्यभिचार गर्नेछन्। तिनीहरूले मलाई त्याग्नेछन् र मैले तिनीहरूसँग बाँधेको मेरो करार भङ्ग गर्नेछन्।
17त्यस दिन म तिनीहरूसँग रिसाउनेछु र तिनीहरूलाई त्याग्नेछु; म आफ्नो अनुहार तिनीहरूदेखि लुकाउनेछु। अनि तिनीहरू नाश हुनेछन्। तिनीहरूमाथि धेरै प्रकोपहरू र विपत्तिहरू आइपर्नेछन्; र त्यस दिन तिनीहरूले सोध्नेछन्, ‘के हाम्रा परमेश्वर हामीसँग नहुनुभएकोले नै यी प्रकोपहरू हामीमाथि आएका होइनन् र?’
18अनि तिनीहरूले अरू देवी-देवताहरूतिर लागेर गरेका सबै दुष्टताको कारण म त्यस दिन तिनीहरूदेखि निश्चय नै आफ्नो मुहार लुकाउनेछु।
19“अब यो गीत लेख्, र इस्राएलीहरूलाई सिका; अनि तिनीहरूलाई गाउन लगा; ताकि तिनीहरूको विरुद्धमा यो मेरो निम्ति एउटा साक्षी हुनेछ।
20जब मैले तिनीहरूलाई दूध र मह बग्ने देशमा, तिनीहरूका पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गरेको देशमा ल्याउँछु, तिनीहरूले अघाउन्जेल खाएर मोटाउनेछन्। अनि मलाई तिरस्कार गरेर मेरा करार भङ्ग गर्दै तिनीहरू अरू देवी-देवताहरूतिर लाग्नेछन्; र तिनीहरूलाई आराधना गर्नेछन्।
21अनि जब तिनीहरूमाथि धेरै प्रकोपहरू र विपत्तिहरू आइपर्नेछन्, तब यस गीतले तिनीहरूको विरुद्धमा साक्षी दिनेछ। किनकि तिनीहरूका सन्तानले यसलाई बिर्सेका हुनेछैनन्। मैले तिनीहरूलाई शपथ खाएर प्रतिज्ञा गरेको देशमा मैले तिनीहरूलाई ल्याउन अगि नै तिनीहरूले के गर्ने विचार गरेका छन् भनी म जान्दछु।”
22यसकारण मोशाले त्यही दिन यो गीत लेखे, र इस्राएलीहरूलाई त्यो सिकाए।
23याहवेहले नूनका छोरा यहोशूलाई यो आज्ञा दिनुभयो: “बलियो बन् र साहस गर्; किनकि मैले शपथ खाएर प्रतिज्ञा गरेको देशमा इस्राएलीहरूलाई तैँले ल्याउनेछस्, र म आफैँ तँसँग हुनेछु।”
24मोशाले एउटा पुस्तकमा व्यवस्थाका यी वचनहरू सुरुदेखि अन्त्यसम्म लेखिसके,
25तब मोशाले याहवेहका करारको सन्दुक बोक्ने लेवीहरूलाई यो आज्ञा दिए:
26“यो व्यवस्थाको पुस्तक लिएर याहवेह तिमीहरूका परमेश्वरको करारको सन्दुकको छेउमा राख। अनि त्यो तिमीहरूको विरुद्धमा साक्षीको रूपमा त्यहाँ रहनेछ।
27किनकि तिमीहरू कति विद्रोही र हठी छौ भनी म जान्दछु। म जीवित हुँदा-हुँदै र तिमीहरूसँगै हुँदासमेत तिमीहरू याहवेहको विरुद्धमा बागी भएका छौ भने म मरेपछि तिमीहरूले झन् कति विद्रोह गरौला!
28मेरो अगि तिमीहरूका कुलका सबै प्रधानहरू र तिमीहरूका सबै अधिकृतहरूलाई भेला गर; ताकि म तिनीहरूले सुन्ने गरी यी वचनहरू बोल्न सकूँ; अनि आकाश र पृथ्वीलाई तिनीहरूको विरुद्धमा साक्षी राख्न सकूँ।
29किनकि मेरो मृत्युपछि तिमीहरू निश्चय नै अति भ्रष्ट हुनेछौ; र मैले तिमीहरूलाई आज्ञा गरेको मार्गबाट तर्किजानेछौ भनी म जान्दछु। आउँदा दिनहरूमा तिमीहरूमाथि विपत्ति आइपर्नेछ; किनकि तिमीहरूले याहवेहको दृष्टिमा दुष्ट काम गरेर तिमीहरूका हातले बनाएका कुराहरूद्वारा उहाँलाई रिस उठाउनेछौ।”
30अनि मोशाले यस गीतका शब्दहरू इस्राएलका सारा समुदायले सुन्ने गरी सुरुदेखि अन्त्यसम्म सुनाइदिए:
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath