व्यवस्था 2
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यसपछि हामी फेरि फर्क्यौँ, र याहवेहले मलाई आज्ञा गर्नुभएअनुसार लाल समुद्र जाने बाटो भएर उजाडस्थानतिर लाग्यौँ। धेरै लामो समयसम्म हामी सेइरको पहाडी देशको वरपर भौँतारी हिँड्यौँ।
2तब याहवेहले मलाई भन्नुभयो,
3“तिमीहरू यस पहाडी देशको वरपर घुमिरहेको धेरै भयो। अब तिमीहरू उत्तरतर्फ लाग।
4मानिसहरूलाई यो आज्ञा दे: ‘तिमीहरू आफ्ना आफन्त एसावका सन्तानका इलाकाबाट भएर जान लागेका छौ, जो सेइरमा बस्छ। तिनीहरू तिमीहरूसँग डराउनेछन्, तर तिमीहरू होशियार रहनू।
5तिनीहरूलाई लडाइँ गर्न नउक्साउनू। किनकि म तिमीहरूलाई तिनीहरूका कुनै पनि जमिनको खुट्टा टेक्ने भागधरि दिनेछैनँ। मैले सेइरको पहाडी देश एसावलाई त्यसको आफ्नो अधीनमा हुनलाई दिएको छु।
6तिमीहरूले खाएका भोजन र पिएका पानीको लागि तिमीहरूले तिनीहरूलाई मूल्यको रूपमा चाँदी तिर्नुपर्छ।’ ”
7याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिनुभएको छ। यस विशाल उजाडस्थानबाट भएर जाने तिमीहरूका यात्रामा उहाँले तिमीहरूलाई हेरचाह गर्नुभएको छ। यी चालीस वर्षहरूमा याहवेह तिमीहरूका परमेश्वर तिमीहरूसँग रहनुभएको छ। अनि तिमीहरूलाई कुनै पनि कुराको अभाव भएको छैन।
8यसरी हामीले एसावका सन्तानहरू हाम्रा आफन्तहरूलाई पार गर्यौँ, जो सेइरमा बस्दछन्। एलात र एस्योन-गेबेरबाट माथि पर्ने अराबाको बाटोबाट हामी फर्केर मोआबको उजाडस्थानको बाटोतिर यात्रा गर्यौँ।
9तब याहवेहले मलाई भन्नुभयो, “मोआबलाई दुःख-कष्ट नदिनू, अथवा तिनीहरूलाई लडाइँका निम्ति नउक्साउनू। किनकि म तिमीहरूलाई तिनीहरूका जमिनको कुनै भागसमेत दिनेछैनँ। मैले लोतका सन्ततिलाई आर जमिन अधिकारको रूपमा दिएको छु।”
10(पहिले त्यहाँ एमी भनिने जातिहरू बस्दथे—अनाकीजस्तै अग्ला, बलिया र असंख्य।
11अनाकीहरूजस्तै, तिनीहरूलाई पनि रपाईहरू भनिन्थ्यो। तर मोआबीहरूले तिनीहरूलाई एमीहरू भन्ने गर्थे।
12होरीहरू सेइरमा बस्ने गर्दथे। तर एसावका सन्ततिले तिनीहरूलाई धपाए। याहवेहले अधिकार गर्न दिनुभएको देशका मानिसहरूलाई इस्राएलीहरूले नाश पारेझैँ, तिनीहरूले पनि होरवंशीहरूलाई नाश पारे। अनि तिनीहरूका ठाउँमा बसोबास गरेका थिए।)
13अनि याहवेहले भन्नुभयो, “अब उठ र जेरेदको बेँसी पार गर।” यसकारण हामीले जेरेद बेँसीलाई पार गर्यौँ।
14हामीले कादेश-बर्ने छोडेको समयदेखि जेरेद बेँसी पार गर्दासम्म अठतीस वर्ष बितिसकेको थियो। त्यस बेलासम्म याहवेहले तिनीहरूसँग शपथ खानुभएझैँ लडाइँ गर्न सक्ने सबै मानिसहरू छाउनीमा नाश भइसकेका थिए।
15तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नाश नहोउन्जेल याहवेहको हात तिनीहरूको विरुद्धमा थियो।
16जब लडाइँ गर्न सक्ने ती मानिसहरूबाट अन्तिम मानिस मरे,
17तब याहवेहले मलाई भन्नुभयो,
18“आज तिमीहरूले मोआबको इलाका भएर आरको जमिन पार गर्नुपर्छ।
19जब तिमीहरू अम्मोनीकहाँ आउँछौ, तब तिनीहरूलाई दुःख नदिनू, अथवा लडाइँका लागि नउक्साउनू। किनकि म तिमीहरूलाई अम्मोनीहरूको देशको कुनै पनि भाग अधिकार गर्न दिनेछैनँ। मैले अम्मोन देश लोतका सन्ततिलाई अधिकार गर्न दिएको छु।”
20(त्यो देश पनि रपाईहरूको देश थियो। तिनीहरू त्यहाँ बस्दथे। तर अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्ने गर्थे।
21तिनीहरू बलिया, असंख्य र अनाकीहरूजस्तै अग्ला थिए। याहवेहले तिनीहरूलाई अम्मोनीहरूको सामुबाट नष्ट गरिदिनुभयो। अम्मोनीहरूले तिनीहरूलाई धपाए। अनि तिनीहरूको ठाउँमा बसोबास गर्न थाले।
22याहवेहले एसावका सन्ततिलाई पनि त्यसै गर्नुभयो, जो सेइरमा बस्दथे। उहाँले होरीहरूलाई तिनीहरूको सामुबाट नष्ट गरिदिनुभयो। एदोमीहरूले तिनीहरूलाई धपाइदिए। तिनीहरू आजसम्म त्यहाँ बसेका छन्।
23अनि गाजा सहरसम्म रहेका टाढाका गाउँहरूमा बस्ने अव्वीहरूलाई चाहिँ कप्तोरबाट आएका कप्तोरीहरूले नाश गरे, र तिनीहरूका ठाउँमा बसोबास गरे।)
24“अब यात्रा सुरु गर, र अर्नोन बेँसी पार गर। हेर, मैले हेश्बोनको राजा एमोरी सीहोन र त्यसको देशलाई तिमीहरूका हातमा दिएको छु। त्यसलाई अधिकार गर्न सुरु गर, र त्यससँग युद्ध गर।
25आजको दिनबाट म आकाशमुनि भएका सबै जातिहरूमाथि तिमीहरूको डर र भय हालिदिनेछु। जब तिनीहरूले तिमीहरूको बारेमा सुन्नेछन्, तब तिनीहरू डर, भय र तनावले काम्नेछन्।”
26कदेमोतको उजाडस्थानबाट मैले हेश्बोनको राजा सीहोनकहाँ शान्ति प्रस्तावसहित राजदूतहरूद्वारा यो सन्देश पठाएँ,
27“हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी राजमार्गबाट भएर जानेछौँ। हामी दाहिने अथवा देब्रेतिर फर्कनेछैनौँ।
28तपाईंले हामीलाई चाँदीको मूल्यमा खानेकुरा र पिउने पानी बेच्नुहोस्। हामीलाई यस देशबाट पैदल जान अनुमति दिनुहोस्,
29जसरी सेइरवासी एसावका सन्तान र आरको जमिनमा बस्ने मोआबीहरूले हामीलाई जान दिए; ताकि हामी यर्दन पार गरेर याहवेह हाम्रा परमेश्वरले हामीलाई दिनुभएको देशमा पुग्न सकौँ।”
30तर हेश्बोनका राजा सीहोनले हामीलाई त्यस देशबाट भएर जान दिएनन्। किनकि याहवेह तिमीहरूका परमेश्वरले तिनलाई तिमीहरूको हातमा सुम्पिदिनका लागि तिनको मन कठोर र हृदय अटेरी बनाउनुभएको थियो; जस्तो आज पनि छ।
31याहवेहले मलाई भन्नुभयो, “हेर्, मैले सीहोन र त्यसको देशलाई तेरो हातमा सुम्पिदिन थालेको छु। अब त्यसलाई आक्रमण गर्न र अधिकार गर्न सुरु गर्।”
32जब सीहोन र तिनका सबै सेना यहसाको जमिनमा हामीसँग युद्ध गर्न आए,
33तब याहवेह हाम्रा परमेश्वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो। अनि हामीले तिनलाई, तिनका छोराहरू र सारा सेनाहरूसमेत मार्यौँ।
34त्यस बेला हामीले तिनका सबै सहरहरू लियौँ। तिनीहरूका मानिसहरू, स्त्रीहरू र छोराछोरीहरू सबैलाई सम्पूर्ण रूपले नष्ट गर्यौँ। हामीले कसैलाई पनि जीवित छोडेनौँ।
35तर हामीले कब्जा गरेका सहरहरूका गाईबस्तु र लुटको मालसामानचाहिँ आफ्नै लागि लिएर गयौँ।
36अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलाद प्रान्तसम्मै भएका कुनै पनि सहर हाम्रा लागि शक्तिशाली थिएनन्। याहवेह हाम्रा परमेश्वरले ती सबै देशहरू हामीलाई दिनुभयो।
37तर याहवेह हाम्रा परमेश्वरको आज्ञाअनुसार तिमीहरूले अम्मोनीहरूका कुनै पनि ठाउँ मिचेनौ, न त यब्बोक नदीका किनारका देश वा पहाडका वरपरका सहरहरूलाई मिच्यौ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath