ईसाई धर्म
पछाडि

व्यवस्था 28

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1यदि याहवेह तिमीहरूका परमेश्‍वरप्रति तिमीहरू पूर्ण आज्ञाकारी भयौ, र आज मैले तिमीहरूलाई दिइरहेका उहाँका सबै आज्ञाहरूलाई होसियारीसाथ पालन गर्‍यौ भने याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूभन्दा महान् तुल्याउनुहुनेछ।

2यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन गर्‍यौ भने यी सबै आशिष्‌हरू तिमीहरूले पाउनेछौ, र यी तिमीहरूसँग रहिरहनेछन्:

3याहवेहले तिमीहरूका सहर र खेतबारीमा आशिष् दिनुहुनेछ।

4याहवेहले तिमीहरूका गर्भ, तिमीहरूका देशका अन्‍नबाली, तिमीहरूका बथान र बगालका बच्‍चाहरूमा आशिष् दिनुहुनेछ।

5तिमीहरूका डालो र तिमीहरूका पिठो मुछ्ने भाँडोमा आशिष् दिनुहुनेछ।

6तिमीहरू भित्र आउँदा र बाहिर जाँदा आशिषित हुनेछौ।

7तिमीहरूको विरुद्धमा खडा हुने शत्रुहरूलाई याहवेहले तिमीहरूकै सामु परास्त गर्नुहुनेछ। तिनीहरू तिमीहरूमाथि एउटा बाटो आउनेछन्, तर तिमीहरूबाट सात बाटो भएर भाग्नेछन्।

8याहवेहले तिमीहरूका ढुकुटीहरूमा, र तिमीहरूका हातका हरेक काममा आशिष् दिनुहुनेछ। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूलाई आशिष् दिनुहुनेछ।

9याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू तिमीहरूले पालन गर्‍यौ, र उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले तिमीहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई उहाँका पवित्र जातिको रूपमा स्थापित गर्नुहुनेछ।

10तब तिमीहरू याहवेहको नामद्वारा बोलाइएका हौ भनी यस पृथ्वीका सबै मानिसहरूले देख्नेछन्, र तिमीहरूसँग डराउनेछन्।

11तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पितापुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा अर्थात् तिमीहरूका गर्भमा, गाईबस्तुका बाछा-बाछीमा र भूमिको उब्जनीमा याहवेहले प्रशस्त मात्रमा समृद्धि गराउनुहुनेछ।

12तिमीहरूका देशमा ठिक समयमा झरी पठाउन र तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिन याहवेहले आकाश र उहाँका प्रशस्तताको भण्डारलाई खोलिदिनुहुनेछ। तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ, तर तिमीहरूले चाहिँ कसैबाट पनि ऋण लिनेछैनौ।

13याहवेहले तिमीहरूलाई शिर बनाउनुहुनेछ, पुच्छर होइन। यदि तिमीहरूले आज मैले तिमीहरूलाई दिइरहेका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्यान दियौ, र ती होसियारीसाथ पालन गर्‍यौ भने तिमीहरू सधैँ उच्‍चमा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ।

14मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरूमध्ये कुनै एउटैबाट पनि दायाँ र बायाँतिर अन्य देवी-देवताहरूका पछि लागेर तिनीहरूको सेवा नगर।

15तर यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन गरेनौ, र मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरू र उर्दीहरू होसियारीसाथ पालन गरेनौ भने यी सबै श्रापहरू तिमीहरूमाथि आइपर्नेछन्:

16तिमीहरू सहरमा र खेतबारीमा श्रापित हुनेछौ।

17तिमीहरूको डालो र पिठो मुछ्ने भाँडोमा श्राप पर्नेछ।

18तिमीहरूका गर्भमा, तिमीहरूका जमिनको अन्‍नबालीमा, गाईबस्तुका बाछाबाछीमाथि र भेडाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ।

19तिमीहरू भित्र आउँदा र बाहिर जाँदा श्रापित हुनेछौ।

20तिमीहरूले याहवेहलाई त्यागेर दुष्‍ट काम गरेका हुनाले तिमीहरू नष्‍ट नभएसम्म; र चाँडै बरबाद नभएसम्म उहाँले तिमीहरूका हातका हरेक काममा श्राप, गोलमाल र निराशा पठाउनुहुनेछ।

21तिमीहरू अधिकार गर्न गइरहेको देशमा तिमीहरू नष्‍ट नभएसम्म याहवेहले तिमीहरूमाथि महामारी र रोगहरू फैलाउनुहुनेछ।

22तिमीहरू नष्‍ट नभएसम्म याहवेहले तिमीहरूमाथि यस्ता रोगहरूले प्रहार गर्नुहुनेछः जरो, सुनिने रोग, प्रचण्ड ताप, खडेरी, वृक्ष ओइल्याउने र ढुसी पर्ने रोग।

23तिमीहरूका टाउको माथिको आकाश काँसो र तिमीहरूमुनि भएको जमिन फलाम हुनेछन्।

24याहवेहले तिमीहरूको देशको झरीलाई धुलो र बालुवामा परिणत गरिदिनुहुनेछ। ती तिमीहरू नष्‍ट नभएसम्म आकाशबाट झर्नेछन्।

25याहवेहले तिमीहरूलाई आफ्ना शत्रुहरूका सामु हार्न दिनुहुनेछ। तिमीहरू तिनीहरूमाथि एक बाटोबाट आउनेछौ र सात बाटो भएर भाग्नेछौ। अनि तिमीहरूको अवस्था देखेर पृथ्वीका समस्त जातिहरू डराउनेछन्।

26तिमीहरूका मृत शरीरहरू आकाशका सबै चराहरू र पृथ्वीका जङ्गली जनावरहरूका निम्ति भोजन हुनेछन्; र तिनीहरूलाई धपाउने कोही पनि हुनेछैन।

27याहवेहले तिमीहरूलाई इजिप्टको पिलो, घाउखटिरा, दाद र लूतोले सताउनुहुनेछ, जसबाट तिमीहरू निको हुन सक्नेछैनौ।

28याहवेहले तिमीहरूलाई पागलपन, अन्धोपन र हृदयमा बेचैन पारिदिनुहुनेछ।

29तिमीहरू अन्धा मानिसले जस्तै मध्यदिनमै अँध्यारोमा जस्तै छामछाम-छुमछुम गर्नेछौ। तिमीहरू आफूले गरेका हरेक कुरामा असफल हुनेछौ। तिमीहरू प्रत्येक दिन सताइनेछौ, लुटिनेछौ र तिमीहरूलाई उद्धार गर्ने कोही हुनेछैन।

30जुन केटीसँग तिमीहरूको मगनी हुन्छ, त्यसलाई अर्को मानिसले लगेर बलात्कार गर्नेछ। तिमीहरूले घर बनाउनेछौ, तर त्यसमा बस्‍न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्यसको फल चाख्न पनि पाउनेछैनौ।

31तिमीहरूका गोरु तिमीहरूका आँखाकै अगि मारिनेछ; तर तिमीहरूले त्यसको मासु खान पाउनेछैनौ। तिमीहरूका गधा तिमीहरूबाट जबरजस्ती खोसेर लगिनेछ र त्यो फर्काइनेछैन। तिमीहरूका भेडाहरू तिमीहरूका शत्रुहरूलाई दिइनेछ, र ती भेडाहरूलाई छुटाउने कोही हुनेछैन।

32तिमीहरूका छोराछोरीहरू अर्कै जातिलाई दिइनेछन्; अनि दिनदिनै तिनीहरूको बाटो हेर्दा-हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्। तर तिमीहरू निरीह भएको कारण केही गर्न सक्नेछैनौ।

33तिमीहरूले नचिनेको जातिले तिमीहरूका जमिन र परिश्रमले उब्जाएका अन्‍नबाली खानेछन्। तर तिमीहरूसँग चाहिँ सधैँ कठोर थिचोमिचोमा पर्नबाहेक केही पनि हुनेछैन।

34तिमीहरूले देखेका ती डरलाग्दा दृष्यहरूले तिमीहरूलाई बौलाहा बनाइदिनेछन्।

35याहवेहले तिमीहरूका घुँडा र खुट्टाहरूमा पीडादायक निको नहुने पिलोले प्रहार गर्नुहुनेछ। ती तिमीहरूका पैतालादेखि शिरको टुप्पोसम्म फैलिएर जानेछन्।

36याहवेहले तिमीहरूले नियुक्त गरेका राजालाई तिमीहरूले र आफ्ना पितापुर्खाहरूले नचिनेको जातिकहाँ धपाउनुहुनेछ। त्यहाँ तिमीहरूले अरू देवी-देवताहरू, काठ र ढुङ्गाका देवताहरूलाई पूजा गर्नेछौ।

37तिमीहरू याहवेहले धपाउनुभएका सबै जातिको बीचमा त्रास, उखान र हाँसोका पात्रहरू बन्‍नेछौ।

38तिमीहरूले जमिनमा धेरै बिउ छर्नेछौ, तर कटनीचाहिँ थोरै गर्नेछौ; किनकि ती सलहहरूले खानेछन्।

39तिमीहरूले दाखबारी लगाएर त्यसको खेती गर्नेछौ, तर त्यसको रस पिउनेछैनौ वा अङ्‌गुर बटुल्नेछैनौ; किनकि किराहरूले ती खानेछन्।

40तिमीहरूका देशभरि जैतुनका रूखहरू त हुनेछन्, तर तिमीहरूले जैतुनको तेल प्रयोग गर्न पाउनेछैनौ; किनकि जैतुनहरू झरेर जानेछन्।

41तिमीहरूले छोराछोरीहरू त जन्माउनेछौ, तर ती तिमीहरूसँग रहनेछैनन्; किनकि तिनीहरूलाई कैदमा लगिनेछ।

42तिमीहरूका जमिनका रूखहरू र अन्‍नबालीहरूलाई सलहका हुलले नाश पार्नेछन्।

43तिमीहरूका बीचमा बसोबास गर्ने विदेशीहरू तिमीहरूभन्दा उच्‍च-उच्‍च स्थानमा पुग्नेछन्। तर तिमीहरूचाहिँ तल-तल झर्नेछौ।

44तिनीहरूले तिमीहरूलाई ऋण दिनेछन्, तर तिमीहरूले तिनीहरूलाई ऋण दिनेछैनौ। तिनीहरू शिर हुनेछन्, तर तिमीहरूचाहिँ पुच्छर हुनेछौ।

45तिमीहरूमाथि यी सबै श्रापहरू आउनेछन्। याहवेह तिमीहरूका परमेश्‍वरमा तिमीहरू आज्ञाकारी नभएका अनि उहाँले तिमीहरूलाई दिनुभएका आज्ञा र उर्दीहरू तिमीहरूले पालन नगरेको हुनाले, तिमीहरू नष्‍ट नभएसम्म यी श्रापले तिमीहरूलाई लखेट्नेछन् र हराउनेछन्।

46तिमीहरू र तिमीहरूका सन्तानमाथि तिनीहरू सधैँको निम्ति चिन्ह र चमत्कार हुनेछन्।

47किनभने तिमीहरूले आफ्नो प्रशस्तताको समयमा याहवेह आफ्ना परमेश्‍वरको सेवा खुशी र आनन्दसाथ गरेनौ।

48यसकारण तिमीहरू भोक, प्यास, नग्नता र गरिबीमा आफ्ना विरुद्धमा याहवेहले पठाउनुभएका शत्रुहरूको सेवा गर्नेछौ। तिमीहरूलाई नष्‍ट नगरेसम्म उहाँले तिमीहरूका काँधमा फलामको जुवा राखिदिनुहुनेछ।

49याहवेहले तिमीहरूका विरुद्धमा टाढाबाट, पृथ्वीको पल्‍लो छेउबाट बेगसँग उडेर तल झर्ने चीलजस्तै एउटा देशलाई ल्याउनुहुनेछ, जसको भाषा तिमीहरूले बुझ्नेछैनौ।

50त्यो निष्‍ठुर देखिने जाति, जसले वृद्धहरूको आदर गर्दैन, र बालकहरूमाथि दया देखाउँदैन।

51तिमीहरू नष्‍ट नभएसम्म तिनीहरूले तिमीहरूका गाईबस्तुका बगाल र तिमीहरूका जमिनका अन्‍नबालीहरू खानेछन्। तिमीहरू बरबाद नभएसम्म तिनीहरूले तिमीहरूका निम्ति कुनै अन्‍न, नयाँ दाखरस र जैतुनको तेल, न त तिमीहरूका बथानका बाछाबाछीहरू अथवा बगालका पाठापाठीहरू नै राख्नेछन्।

52तिमीहरूले भरोसा राखेका अग्ला र सुरक्षित पर्खालहरू नभत्किएसम्म तिनीहरूले तिमीहरूका देशभरि रहेका सबै सहरहरूलाई घेराबन्दी गर्नेछन्। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशभरिका सबै सहरहरूलाई तिनीहरूले घेरा हाल्नेछन्।

53घेरामा परेको समयमा तिमीहरूका शत्रुले तिमीहरूलाई दिएको कष्‍टको कारण तिमीहरूले आफ्ना गर्भका फल, याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका छोराछोरीहरूका मासु खानेछौ।

54तिमीहरूका बीचमा रहेका अति कोमल हृदय भएका र संवेदनशील मानिसले समेत आफ्नै दाजुभाइ अथवा त्यसले प्रेम गरेकी पत्नी र त्यसका बाँचेका छोराछोरीलाई टिठ्याउनेछैन।

55अनि त्यसले आफूले खाँदैगरेको आफ्ना छोरा वा छोरीको मासु कसैलाई पनि बाँड्नेछैन; किनकि तिमीहरूका शत्रुहरूले तिमीहरूका सबै सहरहरू घेरामा पारेका समयमा दिएका कष्‍टले गर्दा, तिमीहरूसँग खानेकुरा अरू केही पनि बाँकी रहेको हुनेछैन।

56तिमीहरूका माझमा रहेकी अति कोमल र संवेदनशील हृदय भएकी स्त्री, कोमलता र संवेदनशीलताको कारण आफ्नो खुट्टाले भुइँसम्म छुन नचाहने स्त्रीले समेत आफूले प्रेम गरेको पति र आफ्नै छोराछोरीहरूसँग बाँडेर खानेछैन।

57आफ्नै कोखबाट जन्माएका शिशु र सालनालसमेत त्यसले लुकाएर आफैँले खानेछे। किनकि तिमीहरूका शत्रुले तिमीहरूका सहरहरूलाई घेरा लगाएको बेलामा ल्याएका विपत्तिको कारणले गर्दा त्यसले तिनीहरूलाई गुप्‍तमा खाने इच्छा गर्नेछे।

58यदि तिमीहरूले यस पुस्तकमा लेखिएका यस व्यवस्थाका वचनहरू होसियारीसाथ पालन गरेनौ, र याहवेह आफ्ना परमेश्‍वरको महिमित र भययोग्य नामको आदर गरेनौ भने,

59याहवेहले तिमीहरू र तिमीहरूका सन्तानमाथि भयानक र डरलाग्दा विपत्तिहरू, गम्भीर र लामो समयसम्म रहने रोगहरू पठाउनुहुनेछ।

60तिमीहरूलाई डर लाग्ने इजिप्टियनका सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछ। अनि ती रोगहरू तिमीहरूमा रहिरहनेछन्।

61याहवेहले तिमीहरूमाथि यस व्यवस्थाको पुस्तकमा नलेखिएका हरेक किसिमका रोग र विपत्ति पनि तिमीहरू नष्‍ट नभएसम्म ल्याउनुहुनेछ।

62तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरको आज्ञापालन नगरेका हुनाले आकाशका ताराहरूझैँ असंख्य भएका तिमीहरू घटेर संख्यामा थोरै हुनेछौ।

63जसरी तिमीहरूलाई वृद्धि गराउन र संख्यामा बढाउन परमेश्‍वरलाई आनन्द लागेको थियो, त्यसरी नै तिमीहरूलाई ध्वस्त पार्न र नाश गर्न उहाँलाई आनन्द लाग्नेछ। तिमीहरूले अधिकार गर्नलाई प्रवेश गरिरहेको देशबाट तिमीहरू जरैसमेत उखेलिनेछौ।

64त्यसपछि याहवेहले तिमीहरूलाई पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म सबै जातिहरूको बीचमा छरपस्ट पार्नुहुनेछ। त्यहाँ तिमीहरूले आफैँले र आफ्ना पुर्खाहरूले नजानेका अरू देवी-देवताहरू, काठ र ढुङ्गाका देवी-देवताहरूलाई पूजा गर्नेछौ।

65ती देशहरूमा तिमीहरूले आफ्ना खुट्टाको पैतालाको निम्ति शान्ति र विश्राम लिने ठाउँ पाउनेछैनौ। त्यहाँ याहवेहले तिमीहरूका मनमा फिक्री, आँखामा प्रतीक्षाको कारण थकाइ र हृदयमा निराशा दिनुहुनेछ।

66तिमीहरू जीवनको अनिश्‍चितताको कारण दिनरात डरले भरिएर हर समय मृत्युको डरमा जिउनेछौ।

67तिमीहरूको हृदय डरले भरिएको र तिमीहरूका आँखाले देखेका दृश्यहरूको कारण बिहान तिमीहरूले भन्‍नेछौ, “यदि साँझ भइदिएको भए हुनेथियो!” र साँझमा भन्‍नेछौ, “यदि बिहान भइदिएको भए हुनेथियो।”

68याहवेहले तिमीहरूलाई इजिप्ट, जहाँ फेरि कहिल्यै फर्केर नजानू भनी मैले भनेको थिएँ, जहाजबाट फर्काएर पठाउनुहुनेछ। त्यहाँ तिमीहरूले आफूलाई आफ्ना शत्रुहरूका हातमा कमरा-कमारीहरूझैँ दिनलाई राजी हुनेछौ। तर तिमीहरूलाई कसैले पनि किन्‍नेछैन।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath