ईसाई धर्म
पछाडि

व्यवस्था 26

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशमा जब तिमीहरू पसेर अधिकार गर्नेछौ र त्यहाँ बसोबास गर्नेछौ,

2तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको माटोबाट तिमीहरूले उब्जाएका सबै पहिलो फलहरूबाट केही भाग लिएर डालोमा राख्नू। त्यसपछि याहवेह तिमीहरूका परमेश्‍वरले आफ्नो नामको खातिर वासस्थानको रूपमा चुन्‍नुहुने ठाउँमा तिमीहरूले लगेर जानू।

3अनि त्यस बेला सेवामा रहेका पुजारीलाई यसो भन्‍नू, “याहवेहले हाम्रा पितापुर्खाहरूसँग हामीलाई दिन्छु भनी शपथ खानुभएको देशमा म आइपुगेँ भनी आज म याहवेह तपाईंका परमेश्‍वरकहाँ स्वीकार गर्छु।”

4पुजारीले तिमीहरूका हातबाट त्यो डालो लिएर याहवेह तिमीहरूका परमेश्‍वरको वेदीको अगि राख्नेछन्।

5तब तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको सामु यसो भनेर घोषणा गर्नू: “मेरा पितापुर्खा फिरन्ते अरामी निबासी थिए। तिनी केही मानिसहरूसँग इजिप्टमा गए, र त्यहाँ बसोबास गरे। अनि शक्तिशाली, ठूलो र धेरै संख्या भएका एउटा जाति भए।

6तर इजिप्टियनहरूले हामीसँग दुर्व्यवहार गरे। हामीलाई दुःख दिए, र कठोर परिश्रम गर्न लगाए।

7त्यसपछि हामीले हाम्रा पितापुर्खाहरूका परमेश्‍वरलाई पुकार गर्‍यौँ, तब याहवेहले हाम्रो सोर सुन्‍नुभयो। अनि हाम्रो दुर्दशा, परिश्रम र थिचोमिचो देख्नुभयो।

8यसकारण याहवेहको महान् शक्तिशाली हात र फैलिएका पाखुरा, र भयङ्कर आतङ्क, अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरूद्वारा हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।

9उहाँले हामीलाई यस ठाउँमा ल्याउनुभयो। अनि दूध र मह बग्ने यो देश दिनुभयो।

10यसकारण हे याहवेह, तपाईंले दिनुभएको जमिनबाट पहिलो फलहरू मैले ल्याएको छु।” याहवेह तिमीहरूका परमेश्‍वरको अगि त्यो डालो राख र उहाँलाई दण्डवत् गर।

11तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरू र तिमीहरूका घरानालाई दिनुभएका सबै असल कुराहरूमा तिमीहरू, लेवीहरू र तिमीहरूका बीचमा बसोबास गर्ने विदेशीहरूले आनन्द मनाऊन्।

12जब तिमीहरूले आफ्ना उब्जनीका दशांश तेस्रो वर्ष, अर्थात् दशांशको वर्षमा अलग गर्छौ, तब तिमीहरूले त्यो लेवी, परदेशी, अनाथ, विधवालाई दिनुपर्नेछ; ताकि तिनीहरूले तिमीहरूका सहरहरूमा खाऊन् र सन्तुष्‍ट होऊन्।

13तब याहवेह तिमीहरूका परमेश्‍वरलाई यसो भन्‍नू: “मैले मेरो घरबाट पवित्र अंश छुटाएर त्यो लेवी, विदेशी, अनाथ र विधवालाई तपाईंका सबै आज्ञाहरूअनुसार दिएको छु। म तपाईंका आज्ञाहरूबाट तर्किगएको छैनँ, न त मैले बिर्सेको नै छु।

14मेरो शोकको समयमा मैले पवित्र अंशबाट केही पनि खाएको छैनँ; न म अशुद्ध हुँदा त्यसबाट केही हटाएको छु; न त मैले मरेकालाई त्यसबाट केही चढाएको छु। मैले याहवेह मेरा परमेश्‍वरको आज्ञापालन गरेको छु। तपाईंले मलाई आज्ञा गर्नुभएको हरेक कुरा मैले पालन गरेको छु।

15तपाईंको पवित्र वासस्थान स्वर्गबाट तल हेर्नुहोस्। तपाईंले हाम्रा पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ, तपाईंको जाति इस्राएललाई र तपाईंले हामीलाई दिनुभएको दूध र मह बग्ने प्रतिज्ञाको देशलाई आशिष् दिनुहोस्।”

16याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज यी उर्दीहरू र नियमहरू पालन गर्नू भनी आज्ञा दिनुहुन्छ; यी तिमीहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले होसियारीसाथ पालन गर।

17तिमीहरूले आजको दिन याहवेह तिमीहरूका परमेश्‍वर हुनुहुन्छ भनी घोषणा गरेका छौ। अनि तिमीहरू उहाँका मार्गहरूमा हिँड्नेछौ। उहाँका उर्दीहरू, आज्ञाहरू र नियमहरू मान्‍नेछौ। अनि उहाँमा आज्ञाकारी हुनेछौ।

18अनि याहवेहले आजको दिन घोषणा गर्नुभएको छ: तिमीहरू उहाँका मानिसहरू हौ। उहाँले प्रतिज्ञा गर्नुभएझैँ तिमीहरू उहाँका निजी धन हौ। उहाँका सबै आज्ञाहरू तिमीहरूले पालन गर्नुपर्छ।

19उहाँले तिमीहरूलाई आफैँले बनाउनुभएका सबै जातिहरूभन्दा बढी प्रशंसा, ख्याति र उच्‍च सम्मान दिएर राख्नेछु भनी घोषणा गर्नुभएको छ। अनि उहाँले प्रतिज्ञा गर्नुभएझैँ, याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति तिमीहरू पवित्र जाति हुनेछौ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath