व्यवस्था 24
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यदि कुनै मानिसले कुनैलाई विवाह गर्छ; अनि त्यसको बारेमा कमी कमजोरी थाहा पाएका कारण त्यस स्त्रीलाई मन नपराएर त्यागपत्र लेखी आफ्नो घरबाट त्यसलाई पठाइदियो भने,
2अनि यदि त्यो स्त्री त्यस मानिसको घर छाडेर अर्को मानिसको पत्नी भई भने,
3त्यसको दोस्रो पतिले पनि त्यसलाई मन नपराएर त्यागपत्र लेखेर दियो, र आफ्नो घरबाट पठाइदियो वा तिनको दोस्रो पति मर्यो भने,
4त्यो स्त्री अशुद्ध भइसकेको कारण त्यसलाई त्याग्ने पहिलो पतिले फेरि त्यसलाई विवाह गर्ने अनुमति पाउनेछैन। त्यो याहवेहको दृष्टिमा घिनलाग्दो कुरा हुन्छ। याहवेह तिमीहरूका परमेश्वरले उत्तराधिकारको रूपमा तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूले यो पाप नल्याओ।
5यदि कुनै मानिसले भर्खरै विवाह गरेको छ भने त्यसलाई युद्धमा नपठाइयोस्, र त्यसलाई अरू कुनै जिम्मेवारी नदिइयोस्। किनकि एक वर्षसम्म घरमा बस्न र आफूले विवाह गरेकी पत्नीलाई खुशी पार्नलाई त्यो स्वतन्त्र हुनुपर्छ।
6कसैले ऋणको धरौटीको रूपमा जाँतो वा त्यसको माथिल्लो भाग मात्र पनि नलिनू। किनकि त्यो कुनै मानिसको जीविका चलाउने उपाय नै धरौटीको रूपमा लिइएको हुनेछ।
7यदि कुनै मानिसले आफ्नो इस्राएली दाजुभाइलाई अपहरण गर्यो, र त्यसलाई दासझैँ व्यवहार गरेको अथवा बेचेको भेट्टाइयो भने त्यो अपहरणकर्तालाई मार्नैपर्छ। यसरी तिमीहरूको बीचबाट तिमीहरूले दुष्टता हटाउनुपर्छ।
8कुष्ठरोगको विषयमा लेवी पुजारीहरूले तिमीहरूलाई आदेश दिएजस्तै होसियारीसाथ पालन गर्नू। मैले तिनीहरूलाई आज्ञा दिएका कुराहरू तिमीहरूले होसियारीसाथ पालन गर्नू।
9तिमीहरू इजिप्टबाट निस्किआएपछि बाटोमा याहवेह तिमीहरूका परमेश्वरले मिरियमलाई के गर्नुभयो, सो सम्झना राख्नू।
10जब तिमीहरूले आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिन्छौ, तब त्यसले धरौटीको रूपमा दिन लागेका जुनसुकै कुरा पनि लिन त्यसको घरभित्र नपस्नू।
11तिमीहरू घर बाहिरै बस्नू। अनि तिमीहरूले ऋण दिएका मानिस आफैँले धरौटी लिएर तिमीहरूकहाँ बाहिर आओस्।
12यदि त्यो मानिस गरिब छ भने तिमीहरूसँग भएको त्यसको धरौटी, जुन त्यसको लुगा हो, त्यसलाई लिएर सुत्न नजाओ।
13त्यसको लुगा घाम अस्ताउनुभन्दा पहिले नै फर्काइदेओ। ताकि त्यसले त्यो ओढेर सुत्न सकोस्। तब त्यसले तिमीहरूलाई धन्यवाद दिनेछ। अनि त्योचाहिँ याहवेह तिमीहरूका परमेश्वरको दृष्टिमा एउटा धार्मिकताको काम ठहरिनेछ।
14तिमीहरूका इस्राएली दाजुभाइ होस् या तिमीहरूका कुनै सहरमा बसोबास गर्ने विदेशी; कुनै गरिब र अभावमा भएका ज्यालादारीबाट फाइदा नलेओ।
15तिनीहरूको ज्याला प्रत्येक दिन घाम अस्ताउनु अगि नै दिइहाल्नू। किनभने तिनीहरू गरिब हुन्, र तिनीहरूको मन ज्यालामाथि लगाएका हुन्छन्। नत्रता तिनीहरूले तिमीहरूका विरुद्धमा याहवेहलाई पुकार्नेछन् र तिमीहरूलाई पापको दोष लाग्नेछ।
16छोराछोरीहरूका पापको कारण आमाबुबाहरू र आमाबुबाहरूका पापको कारण छोराछोरीहरूलाई नमार्नू। हरेक मानिस आफ्नै पापको कारण मर्नैपर्छ।
17विदेशी अथवा अनाथलाई न्यायबाट बञ्चित नगर्नू; अथवा कुनै विधवाको लुगा बन्धकको रूपमा नलिनू।
18यो कुरा याद राख, तिमीहरू पनि इजिप्टमा दास थियौ। याहवेह तिमीहरूका परमेश्वरले नै तिमीहरूलाई त्यहाँबाट छुटाउनुभयो। यसैकारण मैले तिमीहरूलाई यो आज्ञा दिँदैछु।
19तिमीहरूले आफ्नो खेतमा कटनी गर्दा यदि एक बिटा छोडियो भने त्यो लिन फर्केर नजाओ। त्यो परदेशी, अनाथ र विधवाहरूका लागि छोडिदिनू। तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिनुहुनेछ।
20जब तिमीहरूले आफ्ना जैतुनका बोटहरूबाट फलहरू झार्छौ, तब फेरि दोस्रो पटक बोटबाट फलहरू झार्न नजानू। ती छोडिएका फलहरूचाहिँ परदेशी, अनाथ र विधवाहरूका निम्ति छोडिदिनू।
21जब तिमीहरू आफ्ना दाखबारीबाट अङ्गुर बटुल्छौ, तब फेरि दोहोर्याएर नबटुल्नू। बाँकी रहेका फलहरू जति परदेशी, अनाथ र विधवाहरूलाई छोडिदिनू।
22यो कुरा याद राख, तिमीहरू पनि इजिप्टमा दास थियौ। यसैकारण मैले तिमीहरूलाई यसो गर्नू भनी आज्ञा दिँदैछु।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath