व्यवस्था 23
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1गुप्त अङ्ग किच्याइएको अथवा काटिएर नपुंसक भएको कोही पनि व्यक्ति याहवेहको सभामा प्रवेश गर्न पाउनेछैन।
2निषेध गरिएको विवाहबाट जन्मेको मानिस याहवेहको सभामा प्रवेश गर्नुहुँदैन, अथवा तिनीहरूका सन्तानहरू दश पुस्तासम्म याहवेहको सभामा प्रवेश गर्न पाउनेछैन।
3कुनै अम्मोनी र मोआबी अथवा तिनीहरूका सन्तानहरू दश पुस्तासम्म याहवेहको सभामा प्रवेश गर्न पाउनेछैनन्।
4किनकि तिमीहरू इजिप्टबाट निस्केर आउँदा तिमीहरूलाई बाटोमा तिनीहरूले रोटी र पानी दिन इन्कार गरे। अनि तिनीहरूले अरामको पतोरमा बस्ने बओरको छोरा बालामलाई भाडामा बोलाएर तिमीहरूलाई सराप्न लगाएका थिए।
5तरै पनि याहवेह तिमीहरूका परमेश्वरले बालामको कुरा सुन्नुभएन। तर त्यस सरापलाई आशिष्मा परिणत गरिदिनुभयो; किनकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ।
6तिमीहरूले आजीवन अम्मोनी र मोआबीहरूसँग मित्रताको सन्धि नगर्नू।
7एदोमीहरूलाई घृणा नगर; किनकि तिनीहरू तिमीहरूका दाजुभाइहरू हुन्। इजिप्टियनहरूलाई घृणा नगर; किनकि तिमीहरू तिनीहरूको देशमा परदेशी भएर बास गरेका थियौ।
8एदोमी र इजिप्टियनहरूबाट जन्मेका तेस्रो पुस्ताका सन्तानहरू याहवेहको सभामा पस्न पाउनेछन्।
9जब तिमीहरू आफ्ना शत्रुहरूका विरुद्धमा छाउनी हालेर बस्छौ, तब हरेक अशुद्ध कुराबाट अलग रहनू।
10यदि तिमीहरूमध्ये कुनै मानिस स्वप्न-दोषको कारण अशुद्ध छ भने त्यो मानिस छाउनीबाहिर जाओस्, र त्यहीँ बसोस्।
11तर साँझपख त्यसले नुहाओस्; अनि घाम अस्ताएपछि त्यो मानिस छाउनीभित्र पस्न पाउनेछ।
12तिमीहरूले छाउनीबाहिर दिसा-पिसाब गर्ने एउटा ठाउँ बनाओ।
13तिमीहरूसँग खन्ने औजार पनि रहोस्। अनि दिसा गरिसकेपछि तिमीहरूले त्यस औजारले खाल्डो खनेर दिसालाई पुरिदिनू।
14किनकि याहवेह तिमीहरूका परमेश्वर तिमीहरूलाई रक्षा गर्न र तिमीहरूका शत्रुहरूलाई तिमीहरूका हातमा सुम्पिदिनका लागि तिमीहरूका छाउनीको चारैतिर हिँड्डुल गर्नुहुन्छ। तिमीहरूको छाउनी पवित्र हुनुपर्छ; ताकि उहाँले तिमीहरूमा कुनै घिनलाग्दो कुरा देख्न नपरोस् र तिमीहरूबाट टाढा जान नपरोस्।
15यदि कुनै दासले तिमीहरूसँग आश्रय लिएर बसेको छ भने त्यसलाई त्यसको मालिकको हातमा नसुम्पिनू।
16त्यसले रुचाएको जुनसुकै ठाउँ वा त्यसले छानेको जुनसुकै सहरमा त्यसलाई तिमीहरूसँग बस्न देओ। त्यसलाई शोषण नगर्नू।
17इस्राएलका कुनै पनि पुरुष अथवा स्त्री देवस्थानमा देवदास वा देवदासी नबनून्।
18तिमीहरूले कुनै भाकल पूरा गर्न देवदासी अथवा देवदासको कमाइलाई याहवेह तिमीहरूका परमेश्वरको भवनमा नल्याउनू; किनकि याहवेह तिमीहरूका परमेश्वरले ती दुवैलाई घृणा गर्नुहुन्छ।
19तिमीहरूले इस्राएली दाजुभाइबाट रकम अथवा भोजन, ब्याज वा कमाउन मिल्ने कुनै पनि कुराबाट ब्याज नलिनू।
20तिमीहरूले विदेशीबाट ब्याज लिन सक्छौ, तर आफ्नो इस्राएली दाजुभाइबाट नलिनू। तिमीहरूले अधिकार गर्न गइरहेको देशमा याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिनुहुनेछ।
21यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरसँग केही भाकल गर्यौ भने त्यो भाकल पूरा गर्न ढिलो नगर। किनकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूबाट निश्चय नै माग गर्नुहुनेछ; र तिमीहरू पापको दोषी हुनेछौ।
22तर भाकल गरेकै छैनौ भने तिमीहरूलाई पापको दोष लाग्नेछैन।
23तिमीहरूका मुखले जे कुरा भाकल गरेका छन्, ती तिमीहरूले अवश्य पूरा गर्नुपर्छ। किनकि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरका निम्ति यो राजीखुशीले गरेका हौ।
24यदि तिमीहरू आफ्ना दाजुभाइको दाखबारीमा पस्यौ भने तिमीहरूले चाहेजति पेटभरि अङ्गुर खान सक्छौ। तर तिमीहरूले आफ्नो डालोमा एउटै पनि नहाल्नू।
25यदि तिमीहरूको छिमेकीको अन्नको खेतमा तिमीहरू पस्यौ भने तिमीहरूले आफ्ना हातले बाला टिप्न सक्छौ। तर तिमीहरूले पाकेको बालीमा हँसिया लगाएर अन्न काट्नुहुँदैन।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath