ईसाई धर्म
पछाडि

व्यवस्था 19

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशका जातिहरूलाई नाश गरी सक्नुहुन्छ, र जब तिमीहरूले तिनीहरूलाई धपाएर तिनीहरूका सहरहरू र घरहरूमा बसोबास गर्छौ,

2तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिनुहुने देशमा तिमीहरूले आफ्ना लागि तीन वटा सहरहरू अलग गर्नू।

3याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशलाई तीन भागमा विभाजन गर्नू। ती सहरहरूमा पुग्नलाई बाटोहरू बनाउनू, ताकि कुनै पनि ज्यानमारा शरण-नगरमा भागेर जान सकोस्।

4यो नियम कुनै व्यक्तिलाई मार्ने कुनै पनि हत्यारा सम्बन्धी हो: जो आफ्नो प्राण बचाउनलाई त्यहाँ भागेर जान्छ; जसले आफ्नो छिमेकीलाई कुनै दुश्मनीको कारणविना अनजानमा मार्दछ।

5मानौँ कुनै मानिस आफ्नो छिमेकीसँग दाउरा काट्न वनमा जान्छ, र त्यसले रूख ढाल्नलाई आफ्नो बन्चरो चलाउँदा त्यसको बिँडबाट बन्चरो खुस्केर त्यस छिमेकीलाई लागेर मर्‍यो भने त्यो मानिस यी शरण-नगरहरूमध्ये एउटामा भागेर आफ्नो प्राण बचाउन सक्छ।

6नत्रता शरणस्थानको बाटो लामो भएको कारण बदला लिनेले आफ्नो क्रोधमा उसलाई खेदेर भेट्टाउन सक्छ र मार्न सक्छ; जबकि ऊ मृत्युदण्डको योग्य नै थिएन। किनकि उसको मनमा मृतक छिमेकीप्रति कुनै रिस-राग नै थिएन।

7यसैकारण मैले तिमीहरूलाई आफ्ना निम्ति तीन वटा सहरहरू अलग गर्नू भन्‍ने आज्ञा दिँदैछु।

8यदि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ, तिमीहरूका इलाका बढाइदिनुभयो, र उहाँले तिनीहरूसँग प्रतिज्ञा गर्नुभएको सम्पूर्ण देश तिमीहरूलाई दिनुभयो भने,

9आज मैले तिमीहरूलाई आज्ञा दिएका सबै नियमहरू होसियारीसाथ पालन गर्‍यौ, अर्थात् याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्‍यौ र उहाँका मार्गमा सधैँ आज्ञाकारी भयौ भने तिमीहरूले अझ तीन वटा सहरहरू थप्नू।

10याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने तिमीहरूको देशमा निर्दोषको रगत नबगोस् भनेर तिमीहरूले यसो गर्नू; ताकि तिमीहरू रगतको दोषी हुन नपरोस्।

11तर यदि कुनै मानिसले आफ्नो छिमेकीलाई घृणाको भावनाले ढुकेर कुटपिट गरेर मार्‍यो; अनि यी कुनै सहरहरूमा भागेर गयो भने,

12त्यस सहरका प्रधानहरूले हत्यारालाई त्यस सहरबाट फर्काएर ल्याउनेछन् र त्यस दोषीलाई रगतको बदला लिनेको हातमा मार्नको लागि सुम्पिदिनेछन्।

13त्यस हत्यारालाई दया नदेखाउनू। तिमीहरूले इस्राएलबाट निर्दोषको रगत बगाउनेको दोष हटाउनुपर्छ, ताकि तिमीहरूको भलो होस्।

14याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्नू भनी दिनुहुने देशमा तिमीहरूले पाएको अधिकारको भागमा तिमीहरूका पुर्खाहरूले लगाएका तिमीहरूका छिमेकीका साँधसिमानाको ढुङ्गा नहटाउनू।

15कुनै अपराध वा अभियोग लगाइएको व्यक्तिलाई दोषी ठहराउन एक जना साक्षी मात्र पर्याप्‍त हुँदैन। दुई वा तीन जना व्यक्तिहरूको साक्षीद्वारा मात्र अपराधीलाई दोषी प्रमाणित गर्न सकिन्छ।

16यदि कसैलाई अपराधको अभियोग लगाउन कोही झूटो साक्षी खडा भयो भने,

17त्यस झगडामा संलग्न रहने ती दुई मानिसहरूलाई त्यस बेलाका पुजारीहरू र न्यायकर्ताहरूको सामु याहवेहको उपस्थितिमा खडा गराउनुपर्छ।

18ती न्यायकर्ताहरूले पूरा रूपले जाँच गर्नुपर्छ। यदि त्यस साक्षीले आफ्नो इस्राएली दाजुभाइको विरुद्धमा झूटो साक्षी दिएर दोष लगाएको कुरा प्रमाणित भयो भने,

19त्यसलाई दोष लगाएको व्यक्तिले पाउनुपर्ने सजायजस्तै सजाय दिनू। यसरी तिमीहरूका बीचबाट तिमीहरूले दुष्‍टता हटाउनुपर्छ।

20बाँकी रहेका मानिसहरूले यस कुरालाई सुन्‍नेछन् र डराउनेछन्। अनि तिमीहरूको बीचमा यस्तो दुष्‍ट कुरा कहिल्यै हुनेछैन।

21तिमीहरूले अपराधीलाई दया नदेखाओ: प्राणको सट्टा प्राण, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा हुनुपर्छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath