ईसाई धर्म
पछाडि

व्यवस्था 18

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1वास्तवमा लेवीको पुजारीहरू कुलले इस्राएलसँग कुनै अंश र उत्तराधिकारको भाग पाउनेछैनन्। तिनीहरू याहवेहलाई चढाइएको भेटीद्वारा नै जिउनेछन्। किनकि तिनीहरूले पाउने अंश त्यही हो।

2तिनीहरूका इस्राएली दाजुभाइहरूका बीचमा तिनीहरूको कुनै उत्तराधिकार हुनेछैन। याहवेहले प्रतिज्ञा गर्नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकारको भाग हुनुहुन्छ।

3गोरु अथवा भेडा बलिदान गर्दा मानिसहरूबाट पुजारीहरूले पाउने भाग यही हो: काँध, टाउकोको मासु र भित्री भागहरू।

4तिमीहरूले तिनीहरूलाई तिमीहरूका अन्‍न, नयाँ दाखमद्य, जैतुन तेलको पहिलो फल, र तिमीहरूका भेडाको कत्रेको ऊनको पहिलो भाग दिनुपर्छ।

5किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै कुलहरूबाट लेवीहरूलाई याहवेहको नाममा खडा भई सेवा गर्नलाई सधैँका निम्ति चुन्‍नुभएको छ।

6यदि लेवीहरू इस्राएलमा आफू बसेको कुनै पनि सहरबाट सरेर याहवेहले चुन्‍नुहुने ठाउँमा सेवाको भावना लिएर आउँछन् भने,

7तिनीहरूले याहवेहको उपस्थितिमा आफ्ना सङ्गी-लेवीहरूले सेवा गरेझैँ याहवेह तिनीहरूका परमेश्‍वरको नाममा सेवा गर्न सक्छन्।

8तिनीहरूले आफ्नो परिवारको सम्पत्तिको बिक्रीबाट रकम पाए तापनि तिनीहरूले पुजारीहरूका बराबर थप हिस्सा पाउनुपर्छ।

9जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू पुग्छौ, तब त्यहाँका जातिहरूका घृणित चालहरूको अनुसरण गर्न नसिक।

10तिमीहरूमध्ये कसैले पनि आफ्ना छोरा वा छोरीलाई आगोमा बलिदान गरेको, जोखना हेरेको वा तन्त्रमन्त्र गरेको, जोखना हेर्ने, तन्त्रमन्त्र गर्ने कार्यमा संलग्न रहेको नभेट्टाइयोस्,

11अथवा टुनामुना गर्ने, प्रेत-आत्मा जगाउने, तन्त्रमन्त्रको काम गर्ने वा प्रेत-आत्मासँग कुरा गर्ने कोही पनि नभेट्टाइयोस्।

12यी कुराहरू गर्ने जोसुकै होस्, याहवेहले घृणा गर्नुहुन्छ। यस्ता घिनलाग्दा कामहरूको कारण नै याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सामुबाट ती जातिहरूलाई धपाउँदैहुनुहुन्छ।

13तिमीहरूचाहिँ याहवेह तिमीहरूका परमेश्‍वरको सामु निर्दोष हुनुपर्छ।

14तिमीहरूले अधीनमा पार्ने जातिहरूले चाहिँ जोखना हेर्ने र तन्त्रमन्त्र गर्नेहरूका कुरा सुन्छन्। तर तिमीहरूलाई चाहिँ याहवेह तिमीहरूका परमेश्‍वरले यसो गर्न निषेध गर्नुभएको छ।

15याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्‍नुपर्छ।

16किनकि तिमीहरूले सभाको दिन होरेब पर्वतमा याहवेह तिमीहरूका परमेश्‍वरसँग यसो भनेर बिन्ती गरेका थियौ, “अब उसो याहवेह हाम्रा परमेश्‍वरको सोर हामीले सुन्‍न नपरोस्, न त यस्तो भयङ्ककर आगो नै देख्न परोस्; नत्रता हामी मर्नेछौँ।”

17याहवेहले मलाई भन्‍नुभयो: “तिनीहरूले ठिकै भनेका छन्।

18म तिनीहरूका निम्ति तिनीहरूकै इस्राएली दाजुभाइहरू बीचबाट तँजस्तै एउटा अगमवक्ता खडा गर्नेछु। अनि म मेरा वचनहरू त्यसका मुखमा हालिदिनेछु। मैले त्यसलाई आज्ञा गरेका हरेक कुरा त्यसले तिनीहरूलाई भन्‍नेछन्।

19यदि त्यस अगमवक्ताले मेरो नाममा भनेका मेरा वचनहरू कसैले सुन्दैन भने म आफैँले त्यसको लेखा लिनेछु।

20तर कुनै अगमवक्ताले मैले त्यसलाई नभनेका कुराहरू पनि मेरो नाममा बोल्ने साहस गर्छ, अथवा कुनै अगमवक्ताले अरू देवी-देवताहरूका नाममा बोल्छ भने त्यो अगमवक्तालाई मारिनुपर्छ।”

21तिमीहरूले यसरी सोचौला, “याहवेहबाट आएको सन्देश हो कि होइन भनी हामीले कसरी जान्‍ने?”

22यदि कुनै अगमवक्ताले याहवेहको नाममा घोषणा गरेको कुरा पूरा भएन अथवा सत्य ठहरिएन भने त्यो सन्देश याहवेहबाट आएको होइन। त्यस अगमवक्ताले मनगढन्ते कुरा भनेको हो। यसकारण त्यससँग नडराओ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath