ईसाई धर्म
पछाडि

व्यवस्था 16

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1आबीब महिनालाई पालन गर्नू, र याहवेह तिमीहरूका परमेश्‍वरको निस्तार चाड उत्सव मान्‍नू। किनकि उहाँले आबीब महिनामा तिमीहरूलाई इजिप्टबाट राति नै निकालेर ल्याउनुभएको थियो।

2अनि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरका निम्ति बथान अथवा बगालबाट एउटा पशु निस्तार चाडको रूपमा त्यस ठाउँमा बलिदान चढाउनू; जुन याहवेहले त्यहाँ आफ्नो नाम राख्नका निम्ति चुन्‍नुहुनेछ।

3त्यसलाई खमिर हालेको रोटीसँग नखानू, तर सात दिनसम्म अखमिरी रोटी, अर्थात् कष्‍टको रोटी खानू। किनकि तिमीहरूले इजिप्ट देशलाई हतार-हतारमा छाडेर आएका थियौ; ताकि तिमीहरूका जीवनभरि इजिप्टबाट निस्केको समयलाई तिमीहरूले स्मरण गर्न सक।

4तिमीहरूका सारा देशभरि सात दिनसम्म तिमीहरूसँग खमिर नभेट्टाइयोस्। तिमीहरूले पहिलो दिनको साँझमा बलिदान चढाएको मासुको कुनै पनि भाग बिहानसम्म नरहोस्।

5याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा तिमीहरूले निस्तार चाडको बलिदान चढाउनुहुँदैन।

6उहाँले आफ्नो नामको खातिर वासस्थानको रूपमा चुन्‍नुहुने त्यस ठाउँमा मात्र चढाउनुपर्छ। त्यहाँ तिमीहरू इजिप्टबाट निस्केर आएको दिनको सम्झनामा वार्षिक उत्सवको निस्तार चाड साँझपख, घाम अस्ताउन लागेको बेला बलिदान चढाउनू।

7याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने त्यही ठाउँमा तिमीहरूले त्यसलाई पोलेर खाओ। त्यसपछि तिमीहरू बिहानपख आफ्ना पालहरूमा फर्कनू।

8छ दिनसम्म अखमिरी रोटी खानू; अनि सातौँ दिनमा चाहिँ याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति एउटा पवित्र भेला राख्नू; र त्यस दिन केही काम नगर्नू।

9तिमीहरूले खेतको अन्‍नबाली काट्न थालेको दिनदेखि सात हप्‍ता गन्‍नू।

10त्यसपछि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष् अनुसारको स्वेच्छा-भेटी चढाएर याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति साताहरूका चाड मनाउनू।

11अनि तिमीहरू आफ्ना छोराछोरीहरू, आफ्ना सेवक वा सेविकाहरू, तिमीहरूका सहरहरूमा भएका लेवीहरू, विदेशीहरू, अनाथहरू र तिमीहरूसँग बस्‍ने विधवाहरूले आफ्नो नामको खातिर याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने वासस्थानको ठाउँमा उहाँको सामु आनन्द मनाउनू।

12तिमीहरू पनि इजिप्टमा दास थियौ भन्‍ने कुरा याद राख्नू। अनि यी उर्दीहरू होसियारीसाथ पालन गर्नू।

13तिमीहरूले आफ्ना खला र आफ्ना दाखरसको कोलका उब्जनी बाली बटुलिसकेपछि सात दिनसम्म छाप्रोबासको चाड मनाउनू।

14तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका सेवक र सेविकाहरू, लेवीहरू, विदेशीहरू, अनाथहरू र तिमीहरूका सहरहरूमा बस्‍ने विधवाहरू तिमीहरू सबैले छाप्रोबासको चाडमा आनन्द मनाऊन्।

15याहवेहले चुन्‍नुहुने ठाउँमा सात दिनसम्म याहवेह तिमीहरूका परमेश्‍वरको निम्ति यो चाड मनाउनू। किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै खेतीबाली र तिमीहरूका हातका सबै कामहरूमा तिमीहरूलाई आशिष् दिनुहुनेछ। अनि तिमीहरूको आनन्द पूरा हुनेछ।

16तिमीहरूका सबै पुरुषहरू वर्षमा तीनपल्ट याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने ठाउँमा उहाँको सामु देखा पर्नुपर्छ: अर्थात् अखमिरी रोटीको चाडमा, साताहरूका चाडमा र छाप्रोबासको चाडमा तिमीहरूका सबै पुरुषहरू देखा परून्। याहवेहको सामु कोही पनि रित्तो हात देखा नपरोस्।

17याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएअनुसार हरेकले भेटी ल्याउनुपर्छ।

18याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने हरेक सहरमा तिमीहरूले प्रत्येक कुलका निम्ति न्यायकर्ताहरू र अधिकृतहरू नियुक्त गर्नू। अनि तिनीहरूले मानिसहरूलाई ठिकसँग न्याय गर्नेछन्।

19न्यायमा भ्रष्‍टता नगर्नू, अर्थात् पक्षपात नगर्नू; न त घूस नै लिनू। किनकि घूसले बुद्धिमान्‌को आँखा अन्धा तुल्याइदिन्छ र निर्दोषका कुरालाई बङ्ग्याइदिन्छ।

20न्याय, केवल न्यायलाई मात्र पालन गर; ताकि तिमीहरू जीवित रहन सक। अनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूले अधिकार गर्न सक्नेछौ।

21याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति तिमीहरूले बनाएको वेदीको छेउमा काठको अशेरा देवीको कुनै खम्बा खडा नगर्नू।

22अनि कुनै चोखो ढुङ्गा खडा नगर्नू; किनकि याहवेह तिमीहरूका परमेश्‍वरले यी कुराहरूलाई घृणा गर्नुहुन्छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath