ईसाई धर्म
पछाडि

व्यवस्था 15

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1प्रत्येक सात वर्षको अन्त्यमा तिमीहरूले ऋण माफी गरिदिनुपर्छ।

2त्यो यस प्रकारले गरिनुपर्छ: हरेक ऋणदाताले आफ्नो सङ्गी इस्राएलीलाई दिएको ऋण माफी गरोस्। तिनीहरूले आफ्नो सङ्गी इस्राएलीबाट ऋण चुक्ता गर्न नलगाओस्। किनकि याहवेहको ऋण माफी गर्ने समयको घोषणा भइसकेको छ।

3तिमीहरूले विदेशीबाट ऋण चुक्ता गरी माग्न सक्छौ, तर तिमीहरूका आफ्ना इस्राएली दाजुभाइले तिर्नुपर्ने ऋण माफी गरिदिनुपर्छ।

4तरै पनि तिमीहरूको बीचमा कोही पनि गरिब हुनुहुँदैन। किनकि तिमीहरूले अधिकार गर्नलाई याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशमा उहाँले तिमीहरूलाई प्रशस्त गरी आशिष् दिनुहुनेछ—

5यदि तिमीहरूले पूर्ण रूपले याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ र आज मैले तिमीहरूलाई दिइरहेका यी सबै आज्ञाहरू होसियारीसाथ पालन गर्‍यौ भने मात्र।

6उहाँले प्रतिज्ञा गर्नुभएझैँ याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ। अनि तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ। तिमीहरूले धेरै जातिहरूमाथि शासन गर्नेछौ, तर तिमीहरूमाथि कसैले पनि शासन गर्न सक्नेछैन।

7याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको कुनै पनि सहरमा यदि तिमीहरूका दाजुभाइहरूमध्ये कोही गरिब छ भने तिनीप्रति तिमीहरूका हृदय कठोर नबनाओ, न त मदत गर्न कन्जुस होओ।

8बरु उदार चित्तको भएर तिनलाई चाहिए जति ऋण देओ।

9होशियार होओ, र यस्तो दुष्‍ट विचार मनमा नलेओ: “ऋण माफी गर्ने सातौँ वर्ष नजिकै छ,” भनी तिमीहरूले अभावमा परेको तिमीहरूका दाजुभाइप्रति दुष्‍ट भावना राखेर कुनै पनि कुरा दिन इन्कार नगर; नत्रता तिनीहरूले याहवेहसँग तिमीहरूको विरुद्धमा आवाज उठाऊलान्, र तिमीहरू पापको दोषी ठहरिनेछौ।

10तिनीहरूलाई उदार चित्तले दिनू; तर दुःख मन गर्दै अथवा दुःखी हृदयले नगर्नू; तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा र तिमीहरूले हात लगाएका हरेक कुरामा तिमीहरूलाई आशिष् दिनुहुनेछ।

11देशमा गरिब मानिसहरू सधैँ भइरहनेछन्। यसकारण म तिमीहरूलाई आफ्ना इस्राएली दाजुभाइहरू र तिमीहरूका देशमा भएका गरिब र खाँचोमा परेकाहरूलाई उदार मनले दिनू भनेर आज्ञा दिन्छु।

12यदि तिमीहरूका सङ्गी हिब्रू पुरुष अथवा स्त्रीले आफूलाई तिमीहरूकहाँ दास वा दासी बन्‍न बेचिएको छ भने, र छ वर्षसम्म तिमीहरूको सेवा गरेको छ भन, सातौँ वर्षमा तिमीहरूले त्यसलाई स्वतन्त्र गरिदिनुपर्छ।

13अनि जब तिमीहरूले तिनीहरूलाई स्वतन्त्र तुल्याउँछौ, तब तिनीहरूलाई रित्तो हात नपठाउनू।

14तिमीहरूका बगाल, खला र दाखरसको कोलबाट तिनीहरूलाई उदार चित्तले दिनू। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएझैँ तिनीहरूलाई प्रशस्त दिईकन पठाउनू।

15यो कुरा याद राख, तिमीहरू पनि इजिप्टमा दास थियौ। अनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई छुटकारा दिनुभयो। यसैकारण म आज तिमीहरूलाई यो आज्ञा दिँदछु।

16तर यदि तिम्रो दासले तिमी र तिम्रो परिवारलाई प्रेम गर्छ; उसलाई तिमीहरूसँग बस्दा एकदमै खुशी मिलेको छ, र उसले यसरी भन्छ भने, “म तपाईंहरूलाई छोड्न चाहन्‍नँ,”

17तब एउटा सुतारी लिनू, र त्यसलाई घरको ढोकामा लगेर त्यसको कानको लोती छेडिदिनू। अनि त्यो जीवनभरि नै तिमीहरूका दास हुनेछ। तिमीहरूका दासीहरूसँग पनि यसरी नै गर्नू।

18तिमीहरूका दासलाई स्वतन्त्र भएर जान दिँदा गाह्रो नमान्‍नू; किनकि त्यसले तिमीहरूका निम्ति छ वर्ष सेवा गरेको छ, र त्यस ज्यालामा काम गर्ने कामदारहरूभन्दा दोबर ज्यालाको योग्यको हुन्छ। अनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूले गर्ने हरेक काममा आशिष् दिनुहुनेछ।

19तिमीहरूका बथान अथवा बगालका पहिला जन्मेका हरेक पाठालाई याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति छुट्याउनू। तिमीहरूका पहिलो जन्मेको गोरुलाई काममा नलगाउनू। अनि पहिले जन्मेको भेडाको ऊन नकत्रनू।

20प्रत्येक वर्ष तिमीहरू र आफ्ना परिवारले ती पशुहरूलाई याहवेह तिमीहरूका परमेश्‍वरको उपस्थितिमा उहाँले चुन्‍नुभएको ठाउँमा लगेर खानू।

21यदि कुनै पशुमा खोट छ, लङ्गडो वा अन्धो छ, अर्थात् त्यसका अरू कुनै खोट छ भने त्यसलाई याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति बलिदान नचढाउनू।

22त्यसलाई तिमीहरूको आफ्नै सहरहरूमा खाओ। विधिपूर्वक शुद्ध र अशुद्ध दुवै व्यक्तिले त्यसलाई हरिण र मृग खाएझैँ खान सक्छौ।

23तर तिमीहरूले रगतचाहिँ नखाओ। त्यसलाई पानीजस्तै भुइँमा खन्याइदिनू।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath