ईसाई धर्म
पछाडि

व्यवस्था 11

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर, र उहाँका नियमहरू, उहाँका उर्दीहरू, उहाँका व्यवस्थाहरू र उहाँका आज्ञाहरू सधैँ पालन गर।

2आज यो कुरा याद राख कि तिमीहरूका छोराछोरीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको अनुशासन अनुभव गरेका छैनन्, न त देखेका छन्। उहाँको महानता, उहाँको पराक्रमी वा शक्तिशाली हात, उहाँका फैलिएको पाखुरा;

3इजिप्टमा त्यसका राजा फारो र त्यसका सम्पूर्ण देशको माझमा उहाँले देखाउनुभएको अलौकिक चिन्हहरू र गर्नुभएका कामहरू,

4उहाँले इजिप्टको सेनाहरूलाई, त्यसका घोडाहरू र रथहरूलाई के गर्नुभयो, र तिनीहरूले तिमीहरूलाई खेदेर आउँदा उहाँले कसरी तिनीहरूलाई लाल समुद्रको पानीको बीचमा डुबाइदिनुभयो। अनि कसरी याहवेहले तिनीहरूलाई सधैँका निम्ति नाश गरिदिनुभयो।

5तिमीहरू यहाँ नआएसम्म तिमीहरूका निम्ति उहाँले उजाडस्थानमा के गर्नुभयो, त्यो तिमीहरूका छोराछोरीहरूले देखेका छैनन्।

6अनि उहाँले रूबेनी एलिआबका छोराहरू दातान र अबीरामलाई के गर्नुभयो, जब इस्राएलको बीचमा धर्ती फाटेर तिनीहरूका परिवार, तिनीहरूका पालहरू र तिनीहरूका हरेक चीजसहित निलिदिएको कुराहरू देखेकै छैनन्।

7तर तिमीहरूले याहवेहले गर्नुभएका यी सबै महान् कामहरू आफ्नै आँखाले देखेका छौ।

8यसकारण मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरू सबै पालन गर, ताकि तिमीहरूले यर्दन पार गरेर जाने बल प्राप्‍त गर्न सक। अनि देशभित्र गएर अधिकार प्राप्‍त गर्न सक।

9अनि याहवेहले तिमीहरूका पितापुर्खाहरू र तिनीहरूका सन्तानलाई दिनेछु भनी शपथ खानुभएको त्यो दूध र मह बग्ने देशमा तिमीहरू दीर्घायु भई बाँच्न सक।

10तिमीहरूले गएर अधिकार गर्न लागेको देश तिमीहरूले छोडेर आएको इजिप्टजस्तो छैन, जहाँ तिमीहरूले बिउ छरेर करेसाबारीमा खुट्टाको प्रयोगले सिँचाइ गर्नुपर्थ्यो।

11तर तिमीहरू यर्दन पार गरेर अधिकार गर्न गइरहेको देशका डाँडा र बेँसीहरूलाई आकाशबाट परेको झरीले भिजाउँछ।

12त्यो देश याहवेह तिमीहरूका परमेश्‍वरले रेखदेख गर्नुहुन्छ; त्यस देशमा याहवेह तिमीहरूका परमेश्‍वरका आँखा वर्षको सुरुदेखि अन्त्यसम्मै निरन्तर रहिरहन्छ।

13यसकारण यदि आज मैले तिमीहरूलाई दिइरहेका आज्ञाहरू तिमीहरूले इमानदारीतासाथ पालन गर्‍यौ भने याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्‍यौ र आफ्ना सारा हृदय र सारा प्राणले उहाँको सेवा गर्‍यौ भने,

14म तिमीहरूको देशमा शरद र बसन्त दुवै ऋतुमा वर्षा पठाउनेछु, ताकि तिमीहरूले आफ्ना अन्‍न, नयाँ दाखमद्य र जैतुनको तेल बटुल्न सक।

15म तिमीहरूका गाईबस्तुका निम्ति जमिनमा घाँस जुटाइदिनेछु। अनि तिमीहरू खानेछौ र तृप्‍त हुनेछौ।

16होशियार रहो, नत्रता तिमीहरू तर्केर अरू देवी-देवताहरूको सेवा गरौला र आराधना गरौला।

17यसो गर्‍यौ भने याहवेहको रिस तिमीहरूको विरुद्धमा दन्कनेछ; अनि उहाँले पानी नपरोस् भनेर आकाश बन्द गरिदिनुहुनेछ। तब जमिनले उब्जनी दिनेछैन र याहवेहले तिमीहरूलाई दिनुहुने उत्तम देशबाट तिमीहरू चाँडै नष्‍ट हुनेछौ।

18मेरा यी वचनहरू तिमीहरूका हृदय र मनमा राख; यिनलाई तिमीहरूका आफ्ना हातमा र आफ्ना निधारमा चिन्हको रूपमा बाँधिराख।

19आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यिनको विषयमा चर्चा गर्दै आफ्ना छोराछोरीहरूलाई सिकाओ।

20यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख;

21ताकि याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा तिमीहरू र तिमीहरूका छोराछोरीहरू पृथ्वीमाथि आकाश रहुन्जेल बाँचिरहून्।

22यदि मैले तिमीहरूलाई दिइरहेका सबै आज्ञाहरू तिमीहरूले होसियारीसाथ पालन गर्‍यौ, याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गहरूमा आज्ञाकारी भई हिँड्न र उहाँमा लागिरहनका निम्ति सबै आज्ञाहरू पालन गर्‍यौ भने,

23याहवेहले यी सबै जातिहरूलाई तिमीहरूका सामुबाट धपाउनुहुनेछ; अनि तिमीहरूभन्दा ठूला र शक्तिशाली जातिहरूलाई तिमीहरूले अधीनमा लिनेछौ।

24तिमीहरूले आफ्ना खुट्टाले टेकेका हरेक ठाउँ तिमीहरूको हुनेछ: तिमीहरूको प्रान्त उजाडस्थानदेखि लेबनानसम्म र यूफ्रेटिस नदीदेखि भूमध्य सागरसम्म फैलिनेछ।

25कुनै पनि मानिस तिमीहरूको विरुद्धमा खडा हुन सक्नेछैन। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरू जहाँ गए तापनि सारा देशभरि तिमीहरूको डर र आतङ्क हालिदिनुहुनेछ।

26हेर, मैले आज तिमीहरूका सामु आशिष् र श्राप राखिदिएको छु।

27मैले आज तिमीहरूलाई दिइरहेका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू यदि तिमीहरूले पालन गर्‍यौ भने आशिष् पाउनेछौ।

28तर यदि तिमीहरूले नजानेका अरू देवी-देवताहरूलाई पछ्याएर आज मैले तिमीहरूलाई दिएका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू तिमीहरूले पालन गरेनौ भने श्राप पाउनेछौ।

29जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूले अधिकार गर्न पस्‍न लागेको देशमा तिमीहरूलाई ल्याउनुहुनेछ, तब तिमीहरूले गीरीज्जीम डाँडामा आशिष् र एबाल डाँडामा श्राप घोषणा गर्नू।

30तिमीहरूलाई थाहै छ, यी पर्वतहरू गिलगालको छेउका अराबामा बस्‍ने कनानीहरूको प्रान्तमा मोरेको फलाँटहरूका छेउमा घाम अस्ताउने दिशापट्टि, बाटोको पश्‍चिम भागमा यर्दनको पारि छन्।

31याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू प्रवेश गर्न र त्यस देशमा अधिकार गर्नलाई यर्दन पार गर्न लागेका छौ। जब तिमीहरूले त्यस देशलाई अधीनमा लिएर त्यसमा बस्‍नेछौ,

32तब मैले आज तिमीहरूका अगि राखिदिएका सबै उर्दीहरू र व्यवस्थाहरू होसियारीसाथ पालन गर्नू।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath