दानिएल 8
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1राजा बेलसजरको शासनकालको तेस्रो वर्षमा, म, दानिएलकहाँ पहिले देखा परेको दर्शनजस्तै अर्को दर्शन पनि देखा पर्यो।
2मेरो दर्शनमा मैले आफैँलाई एलाम प्रान्तको राजधानी शूशनको किल्लामा देखेँ; मेरो दर्शनमा म ऊलै नहरको किनारमा थिएँ।
3जब मैले मेरा आँखाहरू माथि उठाएँ, तब मेरो सामु नहरको किनारमा दुई वटा सिङ भएको साँढभेडा उभिरहेको थियो, र ती सिङहरू लामा-लामा थिए। एउटा सिङचाहिँ अर्कोभन्दा लामो थियो, तर त्यो पछि उम्रेको थियो।
4मैले त्यस साँढभेडालाई पश्चिमतिर, उत्तरतिर र दक्षिणतिर सिङले हानिरहेको देखेँ। त्यसको विरुद्धमा कुनै पनि जनावर खडा रहन सकेन; अनि कसैले पनि त्यसको शक्तिबाट बचाउन सकेन। त्यसले आफूलाई इच्छा लागेअनुसार गर्यो, र त्यो महान् भयो।
5जब मैले यस दर्शनको बारेमा विचार गरिरहेको थिएँ, तब अचानक एउटा बोका पश्चिमबाट आयो; त्यस बोकाको आँखाहरूको बीचमा एउटा विशेष सिङ थियो, र त्यो भुइँलाई नछोइकन पूरा पृथ्वी पार गर्दै आयो।
6मैले दर्शनमा देखेको नहरको किनारमा उभिरहेको दुई सिङे साँढभेडातिर त्यो बोका आयो र प्रचण्ड क्रोधमा त्यसमाथि जाइलाग्यो।
7अनि त्यो रिसले चुर भयो, र त्यस साँढभेडालाई आक्रमण गरेर त्यसका दुई वटा सिङहरू भाँचिदिएको मैले देखेँ। त्यस बोकाको विरुद्धमा त्यो साँढभेडा सामु उभिने शक्ति रहेन; त्यो बोकाले त्यस साँढभेडालाई भुइँमा पछार्यो, र त्यसलाई कुल्चीमिल्ची पार्यो; अनि त्यस साँढभेडालाई त्यो बोकाको शक्तिबाट कसैले पनि बचाउन सकेन।
8त्यो बोका अत्यन्तै शक्तिशाली बन्यो, तर त्यसको शक्तिको चरमबिन्दुमा त्यसको ठूलो सिङ भाँचियो; अनि त्यो भाँचिएको सिङको सट्टामा आकाशका चारै दिशाका बतासतर्फ फर्केका चार विशेष सिङहरू उम्रेर आए।
9ती चार सिङहरूमध्ये एउटाबाट अर्को सिङ निस्क्यो, जुन सिङ सुरुमा सानो थियो, तर त्यो शक्तिशाली हुँदै दक्षिण, पूर्व र सुन्दर देशतिर बढेर गयो।
10त्यो सानो सिङ महान् भयो, र त्यो आकाशमण्डलसम्म पुग्यो; अनि त्यसले केही ताराहरू पृथ्वीमा झारिदियो, र तिनीहरूलाई कुल्चीमिल्ची पारिदियो।
11त्यसले आफूलाई सेनाहरूका सेनापति याहवेह जतिकै महान् ठान्यो; त्यसले याहवेहको निम्ति चढाइने दैनिक बलिदान रोकिदियो; अनि उहाँको पवित्रस्थानलाई तल फ्याँकिदियो।
12विद्रोहको कारण याहवेहका मानिसहरूको र दैनिक चढाइने बलि त्यस सिङलाई सुम्पियो। त्यस सिङले जे गरे तापनि त्यसको उन्नति भयो र सत्य व्यवस्थाचाहिँ भुइँमा फालियो।
13त्यसपछि मैले एक जना पवित्र जन बोलिरहेका सुनेँ; अनि अर्को एक जना पवित्र जनले उनलाई यसो भने, “यो दर्शन पूरा हुन कति समय लाग्ला—दैनिक बलिदान, उजाड पार्ने विद्रोह, पवित्रस्थान र याहवेहका मानिसहरूलाई खुट्टाले कुल्चीमिल्ची पार्ने सम्बन्धी दर्शन पूरा हुन कति समय लाग्ला?”
14उनले मलाई भने, “यसको निम्ति दुई हजार तीन सय साँझ र बिहान लाग्नेछ; त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछ।”
15जब म, दानिएलले दर्शनको बारेमा सोचिरहेको थिएँ, र त्यसलाई बुझ्ने कोसिस गरिरहेको थिएँ, तब मेरो सामु मानिसजस्तै देखिने एक जना उभिए।
16अनि मैले ऊलैबाट एक जना मानिसले बोलाइरहेको सुनेँ, “गाब्रिएल, यस मानिसलाई दर्शनको अर्थ बताइदेऊ।”
17त्यसपछि जब तिनी म उभिरहेको ठाउँनिर आए, तब म भयभीत भएँ, र भुइँमा लम्पसार परेँ। तिनले मलाई भने, “हे मानिसको छोरा, यो कुरा बुझ, कि यस दर्शनले अन्त्यको समयलाई बताउँछ।”
18जब तिनी मसित बोलिरहेका थिए, तब म मेरो अनुहार भुइँमा घोप्टिएको अवस्थामा घोर निद्रामा परेको थिएँ। तब तिनले मलाई छोए, र मलाई आफ्नो खुट्टामा उभिन लगाए।
19तिनले भने: “हेर, म तिमीलाई क्रोधको अन्त्यको समयमा के हुनेछ भनी बताउनेछु; किनकि यो दर्शन अन्त्यको तोकिएको समयको विषयमा हो।
20तिमीले देखेको दुई सिङे साँढभेडाले मादी र परसीया देशका राजाहरूको प्रतिनिधित्व गर्छ।
21त्यो रौँले भरेको झुस्ले बोकाचाहिँ ग्रीस राजा हो; अनि आँखाहरूका बीचमा भएको ठूलो सिङचाहिँ पहिलो राजा हो।
22त्यो भाँचिएको सिङको ठाउँमा अरू उम्रिएका चार वटा सिङहरूले उसको राज्यबाट आउने चार वटा राज्यहरूको प्रतिनिधित्व गर्छ, तर तिनीहरूसित त्यो भाँचिएको सिङको जस्तो शक्ति हुनेछैन।
23“तिनीहरूको शासनकालको पछिल्ला समयहरूमा, जब विद्रोहीहरू पूर्ण रूपले दुष्ट हुनेछन्, तब एक कठोर अनुहार देखिने राजा, षड्यन्त्रको राजा खडा हुनेछ।
24त्यो अति शक्तिशाली हुनेछ, तर आफ्नै सामर्थ्यद्वारा त होइन। त्यसले डरलाग्दो विध्वंस ल्याउनेछ, र आफूले गरेको जुनसुकै काममा पनि त्यो सफल हुनेछ। त्यसले पराक्रमी मानिसहरू र पवित्र मानिसहरूलाई नाश गर्नेछ।
25त्यसले छललाई उन्नति हुन दिनेछ, र त्यसले मनमा आफूलाई अति उच्च ठान्नेछ। अनि तिनीहरूले सुरक्षित ठानेको बेला त्यसले धेरैलाई नाश गर्नेछ; अनि त्यो राजकुमारहरूका राजकुमारको विरुद्धमा खडा हुनेछ; तापनि त्यो नष्ट हुनेछ, तर कुनै मानिसको शक्तिद्वारा चाहिँ होइन।
26“तिमीलाई दिइएको साँझहरू र बिहानहरूको दर्शन सत्य हो, तर यस दर्शनमा मोहर लाएर गुप्तमा राख; किनकि यो धेरै पछिको भविष्यसँग सम्बन्धित छ।”
27म, दानिएल अति नै थाकेँ, र धेरै दिनसम्म बिरामी भएँ। त्यसपछि म निको भएर उठेँ, र राजाको काममा गएँ। म दर्शनद्वारा अति भयभीत भएँ; यो मेरो समझशक्तिभन्दा बाहिरको कुरा थियो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath